बर्दिया, १७ बैशाख / गत माघ महिनामा कैलालीको टिकापुरबाट बर्दिया आउँदै गर्दा टिकापुर–९ का विष्णुभक्त रावतको बर्दिया निकुञ्जमा जरायोसँग ठोक्कीएर घटनास्थलमै ज्यान गयो । रातको समयमा मोटरसाइकलमा बर्दिया आउँदै गरेका रावत निकुञ्ज क्षेत्रमा पर्ने कर्णाली चिसापानी–आम्बासा सडकखण्डमा जरायोसँग ठोक्किएका थिए । मोटरसाइकलमा ठोक्किएको जरायो पनि मर्यो ।
यो घटनाको एक महिना अघि यसै क्षेत्रमा धनगढीबाट काठमाण्डौ जाँदै गरेको बसले एउटा वयस्क पाटेबाघलाई ठक्कर दियो । बस दुर्घटनाबाट जोगिए पनि बाघ भने घटनास्थल मै मर्यो । घटना भएको ४ घण्टा पछि निकुञ्ज प्रशासनले बाघलाई ठक्कर दिने बसलाई बाँके निकुञ्जको ओभरी पोष्टबाट नियन्त्रणमा लियो ।
यसैगरी शुक्रबार राती पनि निकुञ्जको कर्णाली चिसापानी आम्बासा सडकखण्डमा रा २ प ४२३४ नम्बरको मोटरसाइकलमा जरायो ठोक्कियो ।
मोटरसाइलमा सवार दाङ्गका संजय बगाले र किरण केसी घाइते भए । जरायो घटनास्थलमै मर्यो । निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा महिनै पिच्छे यस्ता दुर्घटनाहरु हुने गर्छन् ।
दुर्घटनाका कारण मानव र वन्यजन्तु दुबैको क्षति हुने गरेको छ । दिउँसो भन्दा रातीको समय यो क्षेत्रमा दुर्घटना हुने गरेको पाइएको छ । रातीको समयमा निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा आवगमन गर्नु झनै खतरा मानिन्छ ।
कुनैपनि बेला वन्यजन्तुले बाटो काट्न सक्ने भएकाले बढी खतरा हुने गरेको हो । सजगकताका लागि ठाउँठाउँमा सन्देशमुलक सुचना राखीएपनि चालकहरुले वेवास्ता गर्दा दुर्घटना हुने गरेको निकुञ्जको भनाई छ । निकुञ्ज क्षेत्रभित्र राजमार्गमा सवारी साधनको गति बढी हुनाले यस्ता दुर्घटना हुने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए । रम्मापुरदेखि सैनवार पोष्ट र आम्बासादेखि कर्णाली चिसापानी पोष्टसम्मको निकुञ्ज क्षेत्रमा पर्ने राजमार्ग आवागमनका दृष्टिले अत्यन्त संवेदनशिल मानिन्छ । यस क्षेत्रमा बढी मात्रामा बाघ, हात्ती, जरायोलगाएतका वन्यजन्तु देखिने गर्छन । चालकले सावधानी नअपनाउँदा दुर्घटना हुने गरेको निकुञ्ज प्रशासनको भनाई छ । ‘राजमार्ग भित्र पर्ने निकुञ्जको संवेदनशिल क्षत्रमा सावधानी अपनाएर सवारी हाक्न अनुरोध गर्छै । तर चालकको लापरवाहीले गर्दा मानव र वन्यजन्तु दुबैको क्षति हुने गरेको छ,’ निकुञ्जका निमित्त प्रमुख रमेशकुमार थापाले भने । रातीको समयमा वन्यजन्तु वाहिर सडकमा निस्कने भएकाले रातीको समयमा आवागमन गर्दा जोखिम हुने गरेको निमित्त प्रमुख थापाले बताए ।
वन्यजन्तुलाई टाढैबाट देखियोस् भनेर राजमार्गको छेउछाउँको झाडी सफा गर्ने गरिएपनि वन्यजन्तुले एक्कासी बाटो काट्ने भएकाले दुर्घटना हुने गरेको बताइन्छ । रातीको समयमा मोटरसाइकलमा आवागमन गर्ने यात्रुलाई राजमार्गको पोष्टमा खटिएका सेनाले रातीमा जोखिम हुने भन्दै यात्रा नर्गन अनुरोध गरेपनि मोटरसाइलवालाहरुले अटेर गर्ने गरेको निकुञ्जको भनाई छ । रातीमा हिड्नै पर्ने भए गती सिमित गरेर ठूला सवारीसाधनको पछिपछि लागेर गए दुर्घटनाको सम्भावना कम हुने सुरक्षा पोष्टका सेनाहरु बताउँछन् । सावरीसाधनको गती सिमित गरी दुर्घटना कम गर्न निकुञ्ज क्षेत्रमा जीप, टक र बस जस्ता ठूला सवारीसाधनलाई टाइमकार्डको व्यवस्था गरिएपनि यो प्रभावकारी हुन सकेको छैन ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख १७, २०७४