20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

अधिकारकर्मीद्वारा  कारागारको अनुगमन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २१, २०७३  

कोहलपुर, भदौ २१
अधिकारकर्मीद्वारा बाँके कारागारको अनुगमन गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक, एडभोकेसी फोरमले कारागारको अध्ययन गरेको हो । अनुगमनका क्रममा १ सय ९९ जना पुर्पक्षमा रहेको र त्यस मध्ये ९ जना दुई वर्ष देखि पुर्पक्षमा रहेको पाइएको छ ।
३ सय जना क्षमता रहेको कारगारमा ६ सय १६ जना र २ जना आश्रित बालक गरि ६ सय १८ जना रहेका छन् । भदौ १ गतेको तथ्याङ्क अनुसार ५ सय ९५ पुरुष र ५९ जना महिला रहेका गरी ६ सय ६४ जना रहेका थिए ।
मध्य तथा सुदुरपश्चिमको रेफर सेन्टरका रुपमा रहेको बाँके कारागार क्षमता कम र पुर्पक्षमा रहेका थुनुवाहरुको फैसला ढिलाइले थप चाप बढने गरेको कारगार सहायक प्रमुख श्याम लामिछोले बताए । १ सय ९९ जना थुनुवा मध्ये १ सय ८९ पुरुष र २० जना महिला रहेका छन् ।
जिल्ला कारागारका लागि आएको गाडी २०७० साल देखि जिल्ला प्रशासन कार्यालयले प्रयोग गरी रहेको र साधन अभावका कारणले कैदी बन्दीहरुलाई अदालत र अस्पताल पु¥याउन समेत कारागार प्रशासनलाई कठिनाइ भइरहेको छ । बाँके कारागारमा २०५० साल देखि सञ्चालित श्री कारागार प्राथमिक विद्यालयमा कक्षा कोठा नभएका कारण पठन पाठन प्रभावित बनेको छ । हाल उक्त विद्यालयमा १ सय ३४ जना विद्यार्थी र तीन जना शिक्षक शिक्षिका रहेका छन् । विद्यालयको नाममा जमिन नभएको र कारागारले विद्यालयको नाममा पास गर्न नसकेका कारण जिल्ला शिक्षा कार्यालयले दिने सहयोग पनि पाउन नसकेको प्रधानाध्यापक विनोद कुमार कार्कीले बताए । उनले जिविस, नगरपालिका लगायत गैर सरकारी संघ संस्थाले कक्षा कोठा निर्माणमा सहयोग गरे पठन पाठनको वतावरण सहज हुने धारणा राखेका थिए ।  अनुगमन टोलीमा राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल, मानवअधिकार अधिकृत रमेश थापा, टंक खनाल, एडभोकेसी फोरमका बसन्त गौतम र इन्सेक प्रतिनिधि विनोद पाण्डे रहेका
थिए ।

प्रकाशित मितिः मङ्लबार, भदौ २१, २०७३     1:54:37 PM  |