टकटाईम विथ केशव
यस क्षेत्रको एकमात्र सार्वजनिक शैक्षिक गुठीले कोहलपुर ११, एनटिभीरोडमा कोहलपुर अँग्रेजी मावि संचालन गरेको छ । यस विद्यालयका भावि योजना र विद्यालयको पृष्ठभूमिका बारेमा गुठी सञ्चालक समिति अध्यक्ष नारायण लम्सालसँग गरिएको कुराकानी ।
१. कार्यक्रम स्वागत छ ।
– धन्यवाद ।
२. कोहलपुर अंग्रेजी माविको पृष्ठभूमि के हो ?
– तपाईले यो प्रश्न सोध्नु भयो, मलाई धेरै खुशि लागेको छ । अहिले सम्म कोहलपुर अंग्रेजी माविका बारेमा कसैले पनि सोधेका थिएनन् । यसको पृष्ठभूमि लामो छ । म २०३९ सालमा कोहलपुर प्रवेश गरेको हुँ । आफ्नै व्यवसायीमा व्यस्त थिएँ । २०६१ सालको कुरो हो । कोहलपुरको न्यूरोड तिर गइरहेको थिएँ । त्यहाँ तीन जना बच्चाहरु खेलिरहेका
थिए । ती बच्चाहरु मध्ये एउटा बच्चाले ‘तिमी त बोर्डिङ्ग स्कुल
पढ्छौ । तिम्रो बुवा आमा त धनी छन् । हामी त गरिब छौं, कहिले बोर्डिङ्ग पढिएला र ? अंग्रेजीमा पढ्नका लागि धेरै पैसा लाग्छ । हाम्रो बुवासँग त्यति धेरै पैसा छैन ।’ भन्ने त्यही संवादले मलाई केही सोच्न बाध्य बनायो । त्यसपछि सामाजिक काममा अग्रसर मान्छेको खोजीमा लागे । एक जना मान्छे सामाजिक काम गर्नु हुने भानुभक्त भट्टराईसँग सम्पर्क भयो । अनि उहाँसँग न्यूनतम, सस्तो शूल्कमा अंग्रेजीमा पठनपाठन हुने विद्यालय संचालनमा ल्याउन सकिन्छ की भनेर छलफल भयो । दुवै जनाको निकै ठूलो प्रयासबाट सबै क्षेत्रबाट सहयोग पाइयो । त्यतिखेर घडेरी उपभोक्ता समिति भन्ने थियो । त्यसको भेला बोलायौं । सबै कुरा उहाँहरुसँग राख्यौं । हामी दुबै जनाले एक–एक लाख रकमको व्यवस्थापन ग¥यौं । हामीसँग पूर्वाधार थिएन, जग्गा पनि थिएन, पैसा पनि थिएन । विद्यालयको अनुमतिका लागि जिल्ला शिक्षा कार्यालयमा गयौं । जिल्ला शिक्षा अधिकारीले सार्वजनिक शैक्षिक गुठीका नामबाट विद्यालय खोल्न सुझाव दिनुभयो । जिल्ला शिक्षा कार्यालयबाट पनि स्वीकृत भयो । विभिन्न शिर्षकमा रकम जुटाउने काम गरि सुरुमा आठ कोठे भवन निर्माण गर्ने लक्ष्य लिइयो । कोहलपुरमा विद्यालयको स्थापना देखि विकासका लागि जुन घरमा गए पनि राम्रो स्थान पायौं । विद्यालय निर्माण गरिसके पछि शिक्षकको आवश्यकता प¥यो । त्यतिबेला शिक्षक रामप्रसाद चापागाई र सरद रावलले निकै सहयोग गर्नुभयो । सबैको सहयोग र साथका बीच अहिले यहाँ सम्म आइपुगेका छौं ।
२. कति सालमा स्थापना भएको हो ?
– यो विद्यालय २०६१ सालमा स्थापना भएको हो । २०६२ सालबाट पठनपाठन सुरु भयो ।
३. सुरुका वर्षका विद्यालयले कति सम्म पढाउन पाउने अनुमति पाएको थियो ?
– हामीले पाँच कक्षा सम्मको अनुमति लिएका थियौं । त्यसको केहीवर्षमै कक्षा आठ हुँदै कक्षा १० सम्मको अुनमति पायौं ।
४. विद्यालयलाई जग्गा चाँही कसले उपलब्ध गरायो ?
– जग्गाको बारेमा सुरुमा धेरै अध्ययन गरियो । योजनाबद्ध तरीकाले प्रस्तुत भयौं । एउटा गुरु योजनामा कोहलपुर प्राइमेरी स्कुल भनेर भेटाएको थिएँ । त्यही जग्गामा हामीले विद्यालय बनाउनुपर्छ भन्दै हामी नगरविकास समितिमा गएर कुरो ग¥यौं । त्यहाँका सदस्य सचिवले त्यही बेला विभागमा पत्र पठाउनु भयो । स्वीकृत भयो । दुई कठ्ठा भित्र विद्यालय पर्दछ । सात कठ्ठाभित्र खेल मैदानमा पर्छ ।
५. सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित यो विद्यालय न संस्थागत हो न सरकारी, सञ्चालन चाँही कसरी हुन्छ ?
– राज्यले बनाएको शिक्षा नीति अनुसार नै हामी चलेका छौं । हाम्रो विद्यालय राज्य पक्षकै सामुदायिक विद्यालय हो भन्ने हाम्रो बुझाई छ र वास्तविक पनि त्यही हो । यो सार्वजनिक विद्यालय हो । कसैको नाफामुखी विद्यालय होइन । यहाँ आएको आयस्रोतले यहीँको भौतिक पूर्वधार तयार हुन्छ । शुल्कबाटै शिक्षकहरुले तलब पाउने गरेका छन् ।
६. विद्यालय व्यवस्थापन समिति र गुठी संचालक समितिमा फरक के छ ?
– गुठी समिति भनेको एउटा गुठीमा दर्ता भएर संचालनमा ल्याएका कारण लागि गुठी समिति गठन भयो । विद्यालयको स्रोत, भौतिक संरचना निर्माण देखि सबै काम गुठीले नै गर्दै आएको छ । शिक्षा नियावली अनुसार विद्यालयमा विद्यालय व्यवस्थापन समिति आवश्यक पर्ने भएकाले विद्यालय व्यवस्थापन समितिको गठन भएको हो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भानुभक्त भट्टराई नै हुनुुहुन्छ ।
७. कहिलैकाहीँ विद्यालय व्यवस्थापन समिति र गुठी समितिबीच विद्यालय व्यवस्थापनका सवालमा कुनै विवाद उत्पन्न हुन्छ की हुँदैन ?
– त्यस्तै छैन । बाहिरबाट हेर्दा त्यस्तो देखिन्छ होला । तर त्यस्तो छैन ।
८. विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भानुभक्त भट्टराई गुठी समितिको अध्यक्ष तपाई । आजीवन यस्तै हुने हो ?
– यसको विकल्पमा छौं । विद्यालय स्थापना गर्नका लागि अभिभावकसँग जुन प्रतिज्ञा गरेका थियौं । त्यो पूरा गर्दैछौं । अब विद्यालय संचालनमा आइसकेको छ । भानुभक्त भट्टराई र म नभए पनि विद्यालय चल्छ । अब शिक्षक परिवारले नै चलाउनु हुन्छ । भौतिक संरचना तयार हुन्जेल सम्म हामीले हर्नु पर्छ है भनेर लागिपरेका छौं । हामीले अहिले नै छोड्ने अवस्था आइसकेको छैन ।
९. राज्यका तर्फबाट केही सहयोग भएको छ की छैन ?
– राज्यबाट सहयोग भएको छैन भनु भनेँ संसद विकास कोषबाट दुई तीन पटक रकम ल्याएर भवन बनाइसक्यौं । सहयोग त भएको छ तर विद्यालयलाई राज्यले जति सहयोग गर्नु पर्ने हो त्यति मात्रमा हुन सकेको छैन । हामीले भनि पनि सकेको छौं अब आउनुहोस् राज्यले चलाउनु होस् । विद्यालयको भौतिक पूर्वधार निर्माण गरिदिएका छौं । विद्यालय संचालनमा राज्य ल्याउन चाहान्छ भने ल्याउनुपर्छ । तर राज्यले विद्यालयलाई तत्काल स्वीकार गरी संचालनमा ल्याउने कुनै संकेत देखिदैन । राज्यले अब केही विद्यालयका लागि सोच्नु पर्छ भने हाम्रो माग रहेको छ ।
१०. त्यसो भए विद्यालयलाई सरकारीकरण गर्न तयार हुनुहुन्छ ?
– हो हामी तयार छौं । तर, यहाँ सरकारीकरण गर्ने भन्ने बितिकै के कुरा आउँछ भने सरकारी विद्यालय अनुसार चल्छ र गुणस्तरीय शिक्षामा कमि आउँछ भन्ने जनआवाज दरिलो छ । यस विषयमा पनि हामी सचेत छौं ।
११. विद्यालयको पाठ्यक्रम निजी विद्यालय अनुसार छ की सरकारी विद्यालय अनुसार नै छ ?
– हाम्रो विद्यालयको पाठ्यक्रम निजी विद्यालयकै सरह छ ।
१२. विद्यालयको शैक्षिक स्तरोन्नतिका लागि केही कदमहरु चाल्नु भएको छ की ?
– तत्कालका लागि हामीमा धेरै कमि कमजोरी छन् । भौतिक पूर्वधारको निर्माणका लागि विभिन्न निकायमा गइरहेका छौं । स्वच्छ खानेपानीका लागि एउटा संस्थासँग सहकार्य गरिरहेका छौं । त्यो स्वीकृत भएर आएको छ । अरु व्यवस्थापनमा धेरै पछाडि रहेका छौं । बच्चाहरुको लागि पौष्टिक आहारको व्यवस्थापनका लागि केही सोच बनाएका छौं ।
१३. शिक्षामा गुणस्तर छ भन्नुभयो, शिक्षामा गुणस्तर छ भन्ने आधार के ?
– शिक्षामा गुणस्तर छ भन्ने आधार त अहिले सम्मको नतिजाले प्रष्ट पारेको छ । हाम्रो विद्यालयबाट उत्पादित विद्यार्थीहरुले जहाँ निवेदन दिनु भएको छ त्यहाँबाट फकेर आएका छैनन् । त्यही छनोट हुनु भएको छ । यसमा हाम्रो दावी छ ।
१४. विद्यालयमा प्रविधियुक्त शिक्षा दिइरहनु भएको छ की छैन ?
– अहिलेको वैज्ञानिक युगमा विज्ञानलाई नै प्राथमिकता दिनुपर्छ भन्ने मान्यताका साथ हामी लागि परेका छौं । पठन पाठन पनि प्राविधियुक्त नै दिने प्रयास गरिरहेका छौं ।
१५. विद्यालयप्रति आमसर्वसाधारणको धारणा कस्तो पाउनु भएको छ ?
– एकदमै राम्रो पाएका छौं ।
१६. अहिले कति विद्यार्थी रहेका छन् ?
– अहिले छ सय विद्यार्थी रहेका छन् ।
१७. विद्यालयका भावि योजनाहरु के छन् ?
– विद्यालयलाई उच्च मावि पहिलो लक्ष्य रहेको छ । यो विद्यालय जस्तै अरु चारवटा विद्यालयको आवश्यक छ भन्ने मान्यता हो । टाढाबाट विद्यालय आउन नसक्ने विद्यार्थीका लागि त्यहीँ ठाउँमा यसैको शाखाका रुपमा विस्तार गर्ने लक्ष्य रहेको छ । विद्यालयको शाखा विस्तारका लागि केही सोच बनाएका छौं । साथै शिक्षकहरुलाई प्रशिक्षण पनि दिने गरेका छौं । यसलाई अझैं विस्तार गर्दै लैजाने सोच बनाएका छौं ।
प्रतिक्रिया दिनुहोस्