19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

चितवनबाट बर्दियामा गैँडा ल्याउने तयारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ३, २०७२  

बर्दिया, फागुन ३
चितवन राष्ट्रिय निकुञ्जका गैँडा बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिने भएको छ । गैँडा ल्याइने भएपछि बर्दिया निकुञ्जमा गैँडाको बासस्थान व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको छ । यस वर्ष चितवनबाट १५ वटा गैँडा बर्दिया ल्याइने तय भएता पनि पहिलो चरणमा भने ५ वटा गैँडा ल्याइने निकुञ्ज स्रोतले जनाएको छ ।
बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले मार्च महिनाको पहिलो साताभित्र चितवन निकुञ्जबाट यहाँ ५ वटा गैँडा ल्याउन लागिएको बताए । यसका लागि आवश्यक तयारी लगभग पुरा भएको थापाले बताए । चितवनबाट ल्याइने गैँडा बर्दिया निकुञ्जको बबई भ्यालीमा छाडिने छ ।
बबई भ्यालीमा यतीखेर गैँडाको बासस्थान व्यवस्थापनको कार्य भइरहेको छ । बबई भ्यालीमा गैँडाका लागि आवश्यक घोल (आहाल बस्ने र पानी पिउने स्थान) र घाँसे मैदान व्यवस्थापन गर्ने कार्य अन्तिम चरणमा पुगेको निकुञ्जले जनाएको छ ।
गैँडाको लागि पानी र आहाल बस्नका लागि बबई भ्यालीमा ठूलासाना गरी १५ वटा घोल निर्माण गरिएको छ । जसमध्ये ७ वटा घोल यसै वर्ष निमार्ण गरिएको हो ।
गैँडाको बासस्थान व्यवस्थापन गर्न घाँसे मैदान निमार्ण गर्नुका साथै पुराना घाँसे मैदानलाई पनि थप व्यवस्थित गरिएको छ । निकुञ्ज भित्र रहेको बबई भ्याली गैँडाका लागि उचित बासस्थान मानिन्छ । निकुञ्जको ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रमध्ये बबई भ्यालीको क्षेत्रफल करिव ४ सय ५० वर्ग किलोमिटर रहेको मानिन्छ ।
बबई भ्यालीमा पूर्णपुर, चित्तले, गुठी, सानोश्री, ठूलोश्री, शिवपुरलगाएतका दर्जन बढी सानाठूला फाँटाहरु छन् । यस्ता फाँटा बाघ, गैँडा र हात्तीलगाएतका वन्यजन्तुका लागि राम्रो बासस्थान मानिन्छ । बबई भ्यालीमा गैँडा स्थानान्तरण गर्न लागिएको यो पहिलो पटक भने होइन । यसअघि सन् १९८६ देखी २००२ सम्मको अवधीमा चितवनबाट ८३ वटा गैंडा निकुञ्जको बबई भ्यालीमा स्थानान्तरण गरिएको थियो ।
तत्कालिन समयमामा मुलुकमा सशस्त्र द्वन्द्व चर्केको मौका छोपेर चोरी सिकारीले बबई भ्यालीका सबै गैँडा मारेका थिए । पछिल्लो समयमा निकुञ्जको कर्णाली तटिय क्षेत्र र खाता करिडोरमा २९ वटा गैँडा रहेपनि बबई भ्यालीमा भने एउटा पनि गैँडा छैन । ्
यसपटक बबई भ्यालीमा छाडिने गैँडा रेडियोकलर जडित हुने छन् । यी गैँडाहरुको सुरक्षाका आइ डी बेस मोनटरिङ्ग
(पहिचानमा अधारित अनुगमन) गरिने छ । यसै वर्षदेखि निकुञ्जले गैँडा अनुगमनको जिम्मा सेनालाई सुम्पेको छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ३, २०७२     12:03:27 PM  |