25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

वर्षाले ढल्यो धान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज १०, २०७७  

शिवु खनाल । दाङ ।

दाङको लमही नगरपालिका वडा नम्बर ३ मजगाउँ निवासी भरतमणी चौधरीले दश कठ्ठा खेतमा तिन सय यु.यास.बाह्र बाइब्रेट जातको धान लगाएका छन् । परम्परागत रुपमा धान खेती गर्दै आएका उनले गतवर्ष भन्दा यसवर्ष बढी धान उत्पादनमा वृद्धि आउने विश्वास गरेका थिए । चौधरीलाई प्रत्येक वर्ष धान स्यार्ने चटारो हुन्थ्यो । यसवर्ष तिहार ढिलो भएकाले तिहारअघि धान काट्ने चटारो सुरु गर्ने योजना बनाएका चौधरीले काटेर खेतमा राखेको धान पानीले भिजेपछि धान स्यार्न नपाउदाँ चिन्तीत छन् ।

‘हरेक वर्षझै यतीबेला धान स्यार्ने चटारो हुन्थ्यो । तर यसवर्ष लगातार वर्षातको कारण काटेर खेतमा राखेको धान स्यार्न पाएको छैन । लगाएको धान वर्षातका कारण सबै खेतमा भिजेको छ ।’ उनले भने, ‘अधिकांश ठाउँमा धान काटेर खेतमा राखिएको छ । अहिले खलो (धान झार्न र पराल दाईं गर्न खेतलाई सफा गरेर बनाइएको स्थल) मा भेला गरेर झार्ने, दाईं गर्ने बेलाामा लगातार वर्षातका कारण काटेर राखेको धान पानीले भिजेपछि अहिलेसम्म धान स्यार्न पाइएको छैन ।’ लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी डण्डीराम चौधरीले आठ कट्ठा खेतमा लगाएको चौसट चौवालिस हाइब्रेट जातको धान मध्य चारकट्ठा खेतको धान लगातार वर्षातका कारण ढलेको बताए ।

‘आठकट्ठा खेतमा लगाएको धान मध्ये चारकट्ठा खेतको धान ढलेको छ । वर्षातका कारण चारकट्ठा खेत पोखरीमा परिणत भयो’ उनले, ‘वर्षात नभएको भए यतिबेला धान स्यारेर भ्याइन्थ्यो । हावाहुरी र भारी वर्षाका कारण धानबालीमा क्षति पुगेको छ ।’ पाक्ने बेलाको धान ढलेपछि कृषकहरु चिन्तित बनेका छन् । धान स्यार्ने बेला काटेर खेतमा राखेको धान पानीले भिजेपछि दाङका अधिकांश कृषकहरु चिन्तीत बनेका हुन् । केहि दिनदेखि पटक–पटक हावाहुरी सहित भारी वर्षा हुँदा अधिकाँश धान ढलेको छ । पाक्ने बेलामा धान ढलेपछि गेडा पुष्टिन नपाउने हुँदा उत्पादनमा समेत गिरावट आउने लमही नगरपालिका वडा नम्बर ३ निवासी कृषक छविलाल चौधरीले बताए । अझै थप पानी परेमा धानको उत्पादनमा ठुलो असर पुग्ने उनी बताउँछन् ।

काटेर राखेको धान पानीले भिजेमा धानको गुणस्तरमा कमी आउने लमही नगरपालिका कृषि शाखा प्रमुख अमर चौधरीले जानकारी दिए । ‘अहिलेसम्म लमही नगरपालिकामा कृषकहरुबाट कुनै गुनासो आएको छैन । तर लगातार वर्षातको कारण गर्दा काटेर राखेको धान पानीले भिज्यो भने धानको गुणस्तरमा कमी आउने, नकाटेको धान वर्षातका कारण ढल्यो भने उत्पादनमा कमी हुने, विउ उत्पादनका लागी लगाइएको धानबालीमा क्षती हुन्छ ।’ उनले भने, ‘त्यती मात्रै नभए अतत्याधि वर्षातको कारण तरकारी उत्पादनमा कम हुने, ढुसीका कारण तरकारीका बालीहरुले विभिन्न रोगको समस्या देखिन्छ ।’

यता कृषी ज्ञान केन्द्र दाङले धानबालीको क्षती सम्बन्धी कुनै तथ्याङ्क नरहेको कृषी ज्ञान केन्द्रका प्रमुख सन्देश घितालले जानकारी दिए । ‘तथ्यांक संकलनको लागी स्थानिय तहहरुमा खबर पु¥याएका छाँै’ उनले भने, ‘अहिलेसम्म तथ्यांक हामीले पाएका छैनौं । स्थानिय तहरुबाट आएपछि बल्ल तथ्यांक हामीसँग हुन्छ ।’

प्रकाशित मितिः शनिबार, अशोज १०, २०७७     1:25:23 PM  |