19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बारबर्दियामा लकडाउन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज १०, २०७७  

बिहीबार रातीदेखि सुरु भएको लकडाउन असोज १४ गते राती १२ बजेसम्म जारी रहनेछ । नगरमा पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढेकाले पुनः लकडाउन गर्नुपरेको बारबर्दिया नगरपालिकाले जनाएको छ ।


सुदीप अधिकारी । बर्दिया ।

बर्दियाको बारबर्दिया नगरपालिकाले आफ्नो नगरमा ५ दिन लकडाउन घोषणा गरेको छ । बारबर्दिया नगरपालिकाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो । पछिल्लो समय नगरमा कोरोना संक्रमण दर बढ्दै गएपछि लकडाउनको घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

बिहीबार राती १२ बजेपछि सुरु भएको लकडाउन असोज १४ गते राती १२ बजेसम्म जारी रहनेछ । लकडाउन अवधीभर सरकारी तथा गैरसरकारी कार्यालय, पसल व्यवसाय, बैंक तथा वित्तिय संस्था, शैक्षिक संस्थाहरु र यातायात लगायतका क्षेत्र पुर्ण रुपमा बन्द हुनेछन् । अत्यावश्यक सेवा प्रवाह गर्ने दैनिक उपभोग्य पसलहरु, दुध, हरीयो तरकारी, पानी, फलफुल र ग्याँस लगायतका पसलहरु हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला गर्ने निर्णय भएको नगर प्रमुख दुर्गाबहादुर थारुले जानकारी दिए ।

लकडाउनलाई प्रभावकारी बनाउनका लागि नगरपालिकाले वडाध्यक्ष र वडाबासीलाई समेत जानकारी गराई प्रचारप्रसार गर्ने उनले बताए । कोरोनाको जोखिम बढेको कारणले पुनः नगरभित्र लकडाउन गर्नुपरेको उनले दाबी गरे । बैठकले लक्षण नदेखिएका कोरोना संक्रमितहरुलाई अंशुवर्मा मावि जयनगरमा राख्ने र भारत लगायत तेस्रो मुलुकबाट आउनेलाई नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड प्रयोग गरी होम क्वारेन्टिनमा बस्न लगाउने लगायतका निर्णय समेत गरेको थियो । यसैबीच जिल्ला प्रशासन कार्यालय बर्दियाले बारबर्दिया नगरपालिकामा असोज १० गते बिहान ५ बजेदेखि असोज १४ गते मध्यरातसम्म निषेधाज्ञा जारी गरेको छ ।

नगरस्तरीय कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बारबर्दियाको अनुरोधमा निषेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए । बारबर्दिया नगरपालिकामा हालसम्म ६५ जना कोरोना संक्रमित फेला परेका छन् । उनीहरुमध्ये ३१ जना कोरोना जितेर घर फर्किएका छन् भने एक जनाको कोरोनाका कारण मृत्यु भएको बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले बताए । गत मंगलबार बारबर्दिया नगरपालिका वडा नं ३ का वडाध्यक्ष ३९ वर्षीय सुर्यबहादुर थारुको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

प्रकाशित मितिः शनिबार, अशोज १०, २०७७     1:15:27 PM  |