20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बलात्कार आरोप लगाउने युवतीलाई कैद फैसला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७  

सुर्खेत ।

बलात्कारको आरोप लगाउने एक युवतीलाई जिल्ला अदालत सुर्खेतले कैद र जरिवाना सुनाएको छ । अदालतले आफुलाई बलात्कार गरेको आरोप लगाउने युवतीलाई एक महिना कैद र एक हजार पाँच सय रुपैयाँ जरिवाना सुनाएको हो ।

तत्कालिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड सुर्खेतका प्रमुख रामप्रसाद गुप्तालाई युवतीले बलात्कारको आरोप लगाएकी थिइन् । भदौ १४ गते अदालतले कैद र जरिवाना दुवै सजाय हुनेगरी फैसला गरेको सुर्खेत जिल्ला अदालतका श्रेस्तेदार यमप्रसाद बाँस्कोटाले जानकारी दिए ।

जबरजस्ती करणी जस्तो गम्भीर आरोप लगाएर कसैको जीवनमाथि खेलवाड गरेकाले अदालतले कैद र जरिवानाको फैसला गरेको उनले बताए । ‘पीडित भनिएकी ती युवतीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ (क) अनुसार फैसला भएको हो’ श्रेस्तेदार बाँस्कोटाले भने ।

अदालतले कैद सजाय फैसला गरेकी १८ वर्षीय युवती भने सुर्खेतको बराहताल गाउँपालिकाकी हुन् । साल्ट ट्रेडिङ्ग प्रमुखले कार्यालयमै गत असोज २८ र ३० गते बोलाएर बलात्कार गरेको भन्दै ती युवतीले गत मंसिरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी थिइन् । युवतीले जागिर लगाइदिने भन्दै गुप्ताले यौन शोषण गरेको वकपत्रमा उल्लेख गरेको र उक्त वकपत्र नै झुठो भएको ठहर गर्दै अदालतले कैद र जरिवानाको फैसला गरेको हो । अदालतले कैद सजाय र जरिवाना तोकिएकी युवती अहिले फरार छिन् ।

फैसला भएदेखि पीडित भनेएकी युवती सम्पर्कमा नआएका कैद भुक्तान तथा जरिवाना असुल गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्राचार गरिएको श्रेस्तेदार बाँस्कोटाले जानकारी दिए । उनका अनुसार प्रतिदिन तीन सयका दरले कैद बराबरको रकम जम्मा गरेमा युवतीले जेल बस्नुपर्ने छैन ।

प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७     9:49:45 AM  |