20 September 2020  |   आइतवार, अशोज ४, २०७७

कोहलपुर नगरपालिकाको विकास : अगाडि बनाउँदै पछाडि भत्किदै

यानबी साहु
प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७  

यानबी साहु । कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा निर्माण गरिएका अधिकांश सडकहरु कालोपत्रे गरेको छोटो समयमै भत्किने गरेका छन् । कम मुल्यमा ठेक्का सम्झौता गर्दा कमसल तथा गुणस्तरहिन निर्माण सामग्रीको प्रयोग र प्रभावकारी अनुगमनको कमीका कारण सडकहरु कालोपत्रे गरेको छोटो समयमा नै भत्कने तथा जीर्ण बन्ने गरेका हुन् ।

त्यसका साथै आर्थिक वर्षको अन्त्यमा निर्माण हुने असारे विकासका कारणले पनि सडक लगायत अन्य भौतिक संरचनाहरु दिगो हुन नसकेको स्थानीयको गुनासो छ । यो समस्या नगरपालिकाका प्रायः सबै वडाहरुमा देखिने गरेको छ । धेरैजसो ठाउँहरुमा गुणस्तहिन सामग्रीको प्रयोग, गलत स्टमेट लगायतका कारणले संरचनाहरु छिटो कमजोर हुने समस्या देखिएको छ भने केहि ठाउँमा भौगोलिक समस्या पनि देखिने गरेको छ । कयौँ ठाउँमा त सम्वन्धित जनप्रतिनिधि, कर्मचारी र निर्माण कम्पनीको असक्षमता, ज्ञानको अभाव र लापरवाहीका कारण गुणस्तरिय संरचना नबन्दा छोटो समयमै कमजोर हुने, भत्कने, उप्किने जस्ता समस्याहरु देखिने गरेका छन् । यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ५ मा पनि सडक कालोपत्रे गर्दा चरम लापरवाही भएको छ ।

निर्माण कम्पनीले दिएको सुझावलाई समेत बेवास्ता गर्दै माटो पटान गरेको केहि समयमा नै कालोपत्रे गरेपछि अहिले सडकको केहि भाग उप्किएर काम नै नलाग्ने भएको छ । निर्माण कम्पनीले मोटो पटान गरेको केहि समयमा नै कालोपत्रे गर्दा दिगो नहुने भने पनि त्यहाँका जनप्रतिनिधि तथा सरोकारवाला निकायले रकम फ्रिज हुने डरले सडक निर्माण गर्न लगाएका थिए । उक्त सडक आर्थिक वर्ष २०७४÷०७५ र ०७५÷०७६ मा गरेर दुई चरणमा गरी करिब २८ लाख लागतमा निर्माण गरिएको थियो । पहिले चरणमा मुख्य हाईवेदेखि वडा नं.५ को कार्यालय जाने करिब १ सय २० मिटर सडक पूर्ण निर्माण सेवाले निर्माण सम्पन्न गरेको थियो भने बाँकी रुपा कन्ट्रक्सनले निर्माण सम्पन्न गरेको हो । करिब २८ लाख लागतमा २ सय ८० मिटर सडक दुई चरणमा गरेर कालोपत्रे गरिएको थियो ।

पहिलो चरणमा निर्माण गरिएको भाग बढी जीर्ण बनेको छ । पूर्व–पश्चिम राजमार्गको दक्षिण कोहलपुर वडा नं.५ जोड्ने चोकदेखि अगाडीको भाग अहिले जीर्ण बन्दै गएपछि आवतजावतमा सास्ती हुने गरेको छ । अहिले उक्त सडकका केहि ठाउँमा कालोपत्रे उप्किएर खाडल बनेका छन् । अन्य ठाउँमा पनि पुरै चर्र्किएर चिरा परेको छ । यस्तै दोस्रो चरणमा निर्माण गरिएको भाग पनि केहि ठाउँमा चर्किनुका साथै स–साना खाडल बनेका छन् । अहिले ठूला सवारीको आवागमन बढी हुने भएकोले झनै जीर्ण बन्ने जोखिम बढेको छ । रुपा कन्ट्रक्सनका सञ्चालक सन्दिप बानियाँले आफूले दोस्रो चरणको सडक निर्माण गरेको बताउँदै नगरपालिकाको मापदण्डअनुसार नै गुणस्तरिय काम गरेको बताए । ‘नगरपालिकाको मापदण्डमै रहेर काम गरिएको हो’ उनले भने, ‘प्राविधिकहरुले पनि पटक पटक अनुगमन तथा निगरानी गर्नु भएको थियो ।’ अहिले ठूला सवारीहरु पनि सोही बाटो भएर चल्ने भएकाले केहि समस्या देखिन सक्ने उनको भनाई थियो ।

पूर्ण निर्माण सेवाका प्रतिनिधिसँग सम्पर्क गर्न खोज्दा फोन अफ गरिएको थियो । मुख्य सडकसँगै जोडिएको सडक छेवैमा वडा कार्यालय छ । तर सेवाग्राहीहरुको भिडहरु कार्यालय अगाडीको सडक नै जीर्ण बन्दा समेत सरोकारवाला निकाय भने मौन छन् । वडा कार्यालय नजिकै बिच सडकमा नै कालोपत्रे उप्किएर खाल्डा परेका छ । पानी पर्दा हिलो तथा घाम लाग्दा धुलो हुने गरेको स्थानीय बताउँछन् । सम्वन्धित निकायको बेवास्ताका कारण दैनिक आवतजावतमा समेत समस्या हुने गरेकाले छिटो मर्मत गर्नुपर्ने त्यहाँका स्थानीयको माग छ । पछिल्लो समय सो ठूला सवारी साधनहरु पनि गुड्ने भएकाले झनै जीर्ण बन्दै गएको स्थानीय ईन्द्र श्रेष्ठ बताउँछन् । पहिले पहिले आफूहरुले बढी लोड भएका गाडीहरु फर्काइ दिने गरेको भएपनि लकडाउनको समयमा आवतजावत गर्ने ठूला गाडीहरुका कारण सडक भकित्दै गएको उनले बताए ।

‘पानी परेको समयमा सडक चिसो भएको हुन्छ’ उनले भने, ‘त्यसमा टिप्पर, ट्रक, ट्याक्टर जस्ता ठूला सवारी चल्दा केहि भागमा कालोपत्रे उप्किएर खाडल भएका छन्, अन्य भाग पनि चर्किएको छ ।’ सडक जीर्ण बन्दा दुर्घटनाको जोखिम समेत बढेकोले छिटो भन्दा छिटो मर्मत गर्नुपर्ने उनको भनाई छ । यस बारेमा वडा नं.५ अध्यक्ष विष्णु प्रसाद तिवारीसँग बुझ्दा आफूहरु त्यतिबेला भर्खर भर्खर आएकोले खासै अनुभव नहुँदा माटो पटान गरेको केहि समयपछि नै कालोपत्रे गरेका कारण समस्या आएको बताए । निर्माण कम्पनीले पनि माटो पटान गरे लगत्तै कालोपत्रे गर्दा दिगो नहुने सुझाव दिएपनि बजेट फ्रिज भएर जाने भएकाले आफूहरुले निर्माण गर्न लगाएको उनले स्वीकार गरे । ‘हामी त्यतिबेला भर्खर भर्खर आएका थियौँ, त्यो सम्वन्धि ज्ञान पनि थिएन’ उनले भने, ‘निर्माण कम्पनीले पनि माटो पटान गरेको केहि समयमा नै कालोपत्रे गर्दा दिगो हुँदैन भनेको थियो ।

तर बजेट फ्रिज जाने भएपछि हामीले नै निर्माण गर्न लगाएका थियौँ ।’ अर्को कारण पछिल्लो समय सडकको क्षमता बढी लोड भएका गाडीहरु गुड्न थालेपछि सडक जीर्ण बन्दै गएको उनको भनाई छ । वडा सदस्य बालकुमारी सापकोटाले यस्तो समस्या आफ्नो वडामा मात्र नभएर नगरका सबै वडाहरुमा रहेको बताइन् । उनले दोष कुनै एक व्यक्तिको मात्र नभएर जनप्रतिनिधि, ठेकेदार, प्राविधिक, इन्जिनियर, अनुगमन समित सबैको रहेको जवाफ दिइन् । वडा नं.५ मा मात्र नभई नगरपालिका क्षेत्रभरिनै अगाडी बनाउँदै पछाडि भत्किदै गरेका उदाहरण रहेको उनको भनाई थियो । उनले भनिन्, ‘यसमा गल्ति सबैको छ, हामी जनप्रतिनिधिको पनि होला, अझ बढी इन्जिनियर, प्रविधि, अनुगमन समितिको छ ।

यस्तै कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य डिल बहादुर परियारले सार्वजनिक खरिद ऐनमा रहेको व्यवस्थाका कारण नै समस्या आउने गरेको बताए । कुनै पनि आयोजनाको ठेक्का प्रक्रिया गर्दाखेरी नै सबैभन्दा सस्तो मुल्य दिने व्यक्ति वा कम्पनीलाई दिइने परम्पराले काममा गुणस्तरियता नहुने गरेको उनले बताए । ‘सार्वजनिक खरिद ऐनमा नै जुन निर्माण कम्पनीले सबैभन्दा कम मुल्य हाल्यो । उसलाई नै छनौट गरिन्छ’ उनले भने, ‘त्यसले गर्दा विकास निर्माणका कामहरु गुणस्तरियता आउन सक्दैन ।’ साथै सम्बन्धित कामप्रति योग्यता, क्षमता, अनुभव र उनीहरुसँग निर्माण गर्दा आवश्यक पर्ने सामग्रीहरुको प्रर्याप्तता भएका व्यक्ति तथा कम्पनी छनौट गर्न नसक्दा यस्तो समस्या आउने गरेको कार्यपालिका सदस्य परियारले बताए ।

सस्तो मुल्यमा निर्माण व्यवसायी छनोट गर्दा कमसल सामग्रीको प्रयोग, गलत प्राविधिक डिजाइन, प्रभावकारी अनुगमन लगायतको अभावमा निर्माण गरिएका भौतिक संरचनाहरु कमजोर हुने गरेको उनको भनाई छ । कम मुल्यका निर्माण व्यवसायीको छनोट, कमसल सामग्रीको प्रयोग, गलत प्राविधिक स्टमेट र प्रभावकारी अनुगमन नहुँनु नै भौतिक संरचना कमजोर हुने मुख्य कारण रहेको पाइएको छ । यसबारे नगरपालिका स्तरीय अनुगमन समिति संयोजक सन्जु कमारी थारुसँग पटक–पटक फोन सम्पर्क गर्दा आफू मिटिङ्मा ब्यस्त रहेको भन्ने जवाफ दिइन्, त कहिले फोन नै उठेन ।

प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७     9:37:50 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *