25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

देउखुरीकै आकर्षक बजार बन्दै गढवा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ २८, २०७७  

शिवु खनाल । दाङ ।

तीनबर्ष अगाडिदेखि सुरु भएको दाङको लमही–कोइलाबास सडक कालोपत्रेको काम करिब अन्तिम चरणमा पुगेको छ । कोइलाबास बजार क्षेत्र र जंगलका केही भागहरुमा कालोपत्रे सम्पन्न भएपछि अहिले गढवा बजार क्षेत्रमा काम सुरु भएको छ । गढवा बजारका भौतिक संरचनाहरु समयमै नभत्काइएका कारण कालोपत्रे गर्न बाँकी रहेको थियो । गाउँपालिका र वडा नम्बर ६ को पहलमा गढवा बजार क्षेत्रमा सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना हटेपछि गढवा देउखुरी क्षेत्रकै आकर्षक र सुन्दर बजार बन्ने भएको हो ।

गढवा गाउँपालिका र वडा नम्बर ६ को कार्यालयको पहलमा गढवा बजारलाई आकर्षक बनाउन थालिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । हुलाकी सडक आयोजनाको कार्यालय मार्फत सडक निर्माण कम्पनीले ७ मिटर चौडाई मात्र कालोपत्रे गर्दै आएको छ । जसमा गढवा बजारको दक्षिणतर्फ रहेको कल्भर्टदेखि इलाका प्रहरी कार्यालयको पुर्वउत्तर तर्फको कल्भर्टसम्मको मुख्य बजार क्षेत्रमा ११ मिटर बढी चौडाईमा कालोपत्रे गरिदै छ । जसका लागि गढवा गाउँपालिकाले १० लाख र ६ नम्बर वडा कार्यालयले २ लाख गरि १० लाख बजेट लगानी गर्ने भएको वडा अध्यक्ष बालचन्द्र हमालले बताए ।

११ देखि १२ मिटर चौडाईमा सडक पुरै कालोपत्रे हुदै छ भने सडकको दुबैतर्फ रेलिङ लगाइदै छ । दुबैतर्फ रेलिङको बाहिरी भागमा सिमेण्टका टिकटायल लगाई पैदलमार्ग बनाइदै छ । यस्तै गाउँपालिका र वडा कार्यालयकै पहलमा इलाका प्रहरी कार्यालयको कम्पाण्ड वाल र मन्दिर समेत बनिसकेको छ । सडकलाई दुबै तर्फबाट रेलिङले छेकेपछि सडकमा कुनैपनि यातायात र मालबाहक साधन पार्किङ गर्न र पैदल हिड्न समेत नपाइने भएको छ । जसले गर्दा बजार क्षेत्रमा भीडभाड कम हुने र संभावित दुर्घटनामा कमी आउने स्थानीय जानकारहरुको भनाइ छ । सडक निर्माणले आकर्षण लिएसँगै सडक क्षेत्राधिकारभित्र संरचना हटाएका उपभोक्ताहरु समेत सन्तुष्ट र खुसी भएको पाइएको छ ।

गढवा बजारमा सडकको क्षेत्राधिकारभित्र रहेका संरचना हटाउन पटक–पटक सूचना जारी गर्नुका साथै ताकेता समेत गरिएको थियो । ‘मेरो आफ्नो घर र गाउँपालिकाका टहरा सुरुवातमै भत्काएर अरुलाई संरचना हटाउन सूचना जारी गरियो । निकै संघर्षका बावजुद मात्र उपभोक्ताहरुले संरचना हटाए । अहिले बल्ल गढवाको आकर्षण र रौनकता थपिएको छ’ आफ्नै घर भत्काएर काम थालेका वडाअध्यक्ष बालचन्द्र ठकूरी हमालले भने । उनलाई अहिले गढवाको रुपरंग बदलिन थालेकोमा निकै खुसी लागेको छ । वडा नम्बर ५ का वडाअध्यक्ष प्रकाश भण्डारी पनि वडा नम्बर ६ का जनप्रतिनिधि र स्थानीयको सक्रियताका कारण विकास भएको बताउँछन् ।

गाउँपालिका र वडाबाट १२ लाख लगानी गर्ने निर्माण कम्पनीसँगको सम्झौतापछि गढवा देउखुरीकै फराकिलो सडक भएको आकर्षक बजार बन्ने भएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवको भनाई छ । लमहीदेखि कुल ३३ किलोमिटर दुरीको यो सडक गढवा बजार क्षेत्रमा कालोपत्रे हुन थालेपछि निर्माण कार्य सकिन थालेको हो । तीनबर्ष अघि ६९ करोडको लगानीमा हुलाकी सडक आयोजनाको कार्यालय नेपालगञ्ज मार्फत कालिका कुमार जेभि कण्ट्रक्सन प्रा.लि.ले ठेक्का लिएको हो ।

सन् २०१७ जुन ११ बाट काम सुरु भएको र २०१९ डिसेम्बर १० मा म्याद सकिएको भएपनि कोभिड १९ को प्रकोपका कारण पुनः ४ महिना म्याद थपिएको निर्माण कम्पनिका साइड इन्चार्ज रजेन्द्र श्रेष्ठले बताए । निर्माण सम्पन्न भएको १ बर्षसम्म सडक मर्मत सम्हारको जिम्मा निर्माण कम्पनीकै रहने उनले जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, भदौ २८, २०७७     9:21:03 AM  |