20 September 2020  |   आइतवार, अशोज ४, २०७७

एउटा प्रिय सोख

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ २७, २०७७  

सागर गैरे 

संस्मरण

सोख भन्ने कुरा पनि उमेर अनुसार बन्ने र छुट्ने हुँदा रहेछन् । मान्छेका आआफ्नै रुचि हुन्छन् । अलगअलग सोख हुन्छन् । मेरो युवाकालमा सर्वाधिक प्रिय सोख थियो हुलाक टिकट सङ्कलन । त्यो सोख पूरा गर्न म बिहानैदेखि जुटेको हुन्थेँ । मेरो पुरै ध्याउन्न त्यही सोख कसरी पुरा गर्ने भन्ने हुन्थ्यो । भलै म स्कुल जान्थेँ, गृहकार्य गर्थेँ, खेल्थेँ । घरको काममा बुबा आमालाई पनि सघाएकै हुन्थेँ । तर जबजब म फुर्सदमा हुन्थँे । मेरो मनमा त्यही सोख टुप्लुक्क झुल्किन्थ्यो र म फेरि त्यसैको बारेमा सोच्न थाल्थेँ ।

मान्छेका रहरहरू, रुचिहरू, समय अनुसार उमेर अनुसार रूपान्तरण हुँदै जाँदा रहेछन् । सम्झन्छु सबैभन्दा बलियो त समय पो रहेछ ।
मेरो प्रिय रहर हुलाक टिकट सङ्कलनबारे सोच्छु । त्यो जमानामा मनोरञ्जनका साधन कम थिए । त्यतिबेला हुलाक घरको महŒव थियो, चिठीको महŒव थियो, हुलाकीहरूको महŒव थियो । चिठी पठाउँदा खाम बाहिर टाँसिने टिकटको महŒव भएको जमाना थियो त्यो । रङ्गीचङ्गी टिकटको सौन्दर्य बेग्लै हुन्थ्यो । मान्छेहरू सोखको रूपमा टिकट सङ्कलन गर्दथे ।

अहिलेको पुस्तालाई टिकटको बारेमा भन्नु प¥यो भने धेरै नै समय खर्चिनु पर्दछ । पहिले हुलाक घरमा भीडभाड हुन्थ्यो । हुलाकी गाउँमा आउँदा सबैले घेरा हाल्दथे । मेरो चिठी आयो कि भनेर नसोध्ने कमै भेटिन्थे । चिठी आएकाहरू फुरुङ्ग पर्दै घरतिर कुद्दथे । नआएकाहरू कुनै दिन मेरो पनि आउला नि भनी आशा गरि बस्दथे । त्यो बेलामा गाउँ घरको सबैभन्दा सशक्त र भरपर्दो सञ्चार माध्यम हुलाक घर
थियो । जहाँ चिठी पत्रहरू आइपुग्थे र त्यहीँबाटै अन्यत्र चिठी जान्थे ।

मैले २०४६ सालदेखि टिकट सङ्कलन सुरु गरेँ । आठ कक्षामा पढ्थेँ त्यतिबेला । कक्षामा अनेक रुचि र स्वभावका साथीहरू थिए । तिनै मध्येको एउटा थियो किशोर आचार्य । धेरै बोलिरहने, मिजासिलो स्वभावको पनि । एकपटक उसले मलाई आफ्नो घर नगइ सुखै दिएन । स्कुल बिदा भएपछि बुबा आमालाई सोधेर म उसको घर लक्षमना गएँ । किशोरको घरमा भएका प्रत्येक सामानहरू मेरा लागि नौला थिए । किशोरको घर पुगेपछि मैले तीनओटा चिजमा विशेष ध्यान दिएको रहेछु । एउटा युवा मञ्च, अर्को हुलाक टिकट र अटोबुक । घर फर्किंदा मैले मनमनै आफूले पनि यी चिज सङ्कलन गर्ने अठोट गरिसकेको थिएँ ।

एक दिन कक्षाका साथीहरूलाई मैले आफ्नो रुचि बताएँ । मेरो रुचि थाहा पाएका कतिपय साथीहरूले आफ्नो घरमा आएका चिठी पत्रमा भएका टिकट उप्काएर ल्याइदिन्थे । हेर्दा हेर्दै मसँग टिकट बढ्दै गए । किशोरले कापीमा टिकट टाँसेको देखेको थिएँ । मैले पनि त्यही विचार गरेँ । गाउँ घरमा गम पाइँदैनथ्यो त्यो बेला । मैले कहिले गहुँको पिठोले त कहिले भातले टिकट टाँसेँ । यसरी टाँस्न नहुने रहेछ । यसरी टाँसिएका टिकट छिट्टै बिग्रिँदा रहेछन् । मसँग भएका हरेक टिकटका अलग कहानी थिए । हुलाक घर, चिठीका खाम, हुलाकी सबैका अलग कथा थिए ।

शिव ज्ञवाली काठमाडाँैबाट ककौरा फर्किंदा टिकटको चाङ नै बोकेर आएको थियो । उसको नातामा काका पर्ने कसैले उसलाई ती टिकट दिनुभएको रहेछ । झण्डै एउटा कापी पुरै भरिएको थियो । त्यहाँ मैले कल्पनामा समेत नचिताएका टिकट थिए, देश विदेशका । जर्मनी, फिलिपिन्स, जापान, अमेरिका लगायत अनेक देशका । शिवको सङ्कलनको अगाडि मेरा टिकट पुरै फिक्का सावित भए । के गराँै कसो गरौँ जस्तो छट्पटी भयो मलाई ।

एकपटकको कुरा हो, म कुनै नेताको भाषण सुन्नको लागि गुलरिया पुगेको थिएँ । साथमा गुणाकर पनि थिए । अहिले सौरभ ट्रेडर्सको टीकाराम भट्टराई दाइ त्यतिबेला खानेपानी कार्यालयमा जागिरे हुनुहुन्थ्यो । हामीले उहाँकै डेरामा खाना खाएका थियौँ । फर्किने बेला टीकाराम दाइले गुणाकरलाई हुलाक टिकटको एउटा पोकै दिनु भएको थियो । यस प्रकार एउटै टोलमा गुणाकर र शिवसँग म भन्दा पनि धेरै र विविधता बोकेका टिकट भए । रुचि र रहरको हिसाबले पनि उनीहरूमा टिकटप्रतिको चासो र चिन्ता फिटिक्कै थिएन जस्तो लाग्छ । म भने मनैदेखि टिकटको लागि मरिहत्ते गर्ने मान्छे थिएँ । सोच्थेँ मेरो पनि काका, मामा या कोही आफन्त भैदिए । मलाई पनि उनीहरूलाई जस्तै टिकटको पोको थमाइ दिए कस्तो हुँदो हो त्यो दिन ।

मेरो सपना पनि साकार भयो एकदिन । मेरो ठुली आमाको छोरा यज्ञमूर्ती बञ्जाडे जिल्ला सरकारी वकिलको कार्यालय पाल्पामा जागिरे हुनुहुन्थ्यो । उहाँले अफिसमा आएका चिठी पत्रका टिकट सङ्कलन गरेर राख्नुभएको रहेछ । मैले टिकट मनपराउँछु भन्ने थाहा पाएरै मलाई टिकट राखिदिनुभएको रहेछ । टिकटको पोको देखेर सुरुमा त म छक्कै परेँ । टिकट हातपरेपछि मेरो खुसीको सीमा नै रहेन । अब भने मेरा टिकटहरूपनि साथीहरूका भन्दा कम रहेनन् । टिकटहरू थपिँदै गए । फुर्सद मिल्यो कि म टिकटमा घोत्लिइन्थेँ । हिजोआज मोबाइ्लमा घोप्टिए झैँ ।

एस.एल.सी. परीक्षा दिएर म कोहलपुर पसेपछि मेरो सम्पर्कको दायरा अझ फराकिलो भयो । मैले टिकट सङ्कलनलाई मुख्य रुचि बनाएका कैयौं अपरिचितहरूलाई पत्र लेख्दै गएँ । पोल्याण्डबाट पत्रको जवाफ पनि आयो र टिकट पनि । ताइवान र भारतबाट पनि चिठी र टिकट दुवै पाएँ । स्याङ्जाको विक्रम सापकोटाले कुवेतबाट एल्बम र टिकट पठाई दिनुभएको थियो । जापानबाट मनोजकुमारले एउटा एल्बम नै पठाइ दिनुभयो, पुरै जापानका टिकटले भरिएको । काठमाडौँका शङ्कर श्रेष्ठले मलाई हुलाक टिकट सङ्कलन सम्बन्धमा मैले नजानेका धेरै कुराहरू सिकाउनु भयो । टिकट सङ्कलकहरूको पनि एउटा साझा संस्था रहेछ, ‘नेपाल फिलाटेलिक सोसाइटी’को नाममा । टिकट सङ्कलकलाई फिलाटेलिस्ट भनिँदो रहेछ । उहाँले मलाई नियमित फिलाटेली पत्रिका पठाइदिन थाल्नुभयो । म टिकट सङकलनमा तन, मन र धन दिएर लागेको थिए । कतिपय एल्बम मैले साथीहरूसँग दिल्लीबाट मगाएको थिएँ । मलाई मेरो रुचि सम्झिएर अनेक साथीहरूले टिकट ल्याइदिनु भयो । समय लामै बितेछ । स्मृतिमा धुमिल हुँदैछन् सहयात्रीहरू पनि ।

टिकट हेर्न बस्दा आफूलाई अर्कै दुनियाँमा पुगेको महसुस हुन्थ्यो । ‘फिलाटेली’ पत्रिकाको अध्ययनबाट त्यो वर्ष राज्यले कुन कुन टिकट प्रकाशित ग¥यो । ती कुन देशमा छापिएका हुन् र ती टिकट कसले डिजाइन गरेका हुन् भन्ने समेत थाहा हुन थाल्यो । प्रयोग गरिसकेका भन्दा प्रयोगमा नआएका नयाँ टिकटको सङ्कलन राम्रो मानिँदो रहेछ । नयाँ टिकट पहिलोपटक सार्वजनिक गरेको दिन टाँचा लगाइएको फस्ट डे कभर र टिकटको विषयवस्तुका बारेमा जानकारी दिने उद्देश्यले ‘फोल्डर’ प्रकाशित गरिँदो रहेछ । विश्व हुलाक टिकट प्रदर्शनी पनि आयोजना गरिँदा रहेछन् । नेपालबाट पनि कैयौँ फिलाटेलिस्टहरूले प्रदर्शनीमा भाग लिनुभएको जानकारी शङ्करजीले गराउनुभयो ।
पञ्चायत कालमा राजा रानी र राजदरबारका सदस्यहरूको तस्बिर अङ्कित टिकट बढी प्रकाशित हुन्थे । २०४६ को राजनीतिक परिवर्तन पछि भने अन्य राजनीतिक व्यक्तित्वका चित्राङ्कित टिकटहरू पनि छापिन थाले । वामपन्थी रुझानका मदन भण्डारी, मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ, युद्घप्रकाश मिश्र, पातिजातहरूले पनि टिकटमा छापिने अवसर पाए ।

अन्य देशको तुलनामा नेपालका टिकटहरू अत्यन्त सुन्दर लाग्दथे । हिमाल, पर्वत, मन्दिर, नदीनाला, फूल, जनावर, चरा, मौरी तथा अनेक विषयवस्तुमा छापिएका टिकटहरू जति हे¥यो हेरिरहुँ लाग्थ्यो । टिकट आफैँमा सुन्दर कलात्मक र रङ्गिन हुन्थे । कसैलाई पनि टिकट मन नपर्ने भन्ने नै हुँदैनथ्यो । मैले काठमाडाँै जाँदा पत्रमित्र शङ्कर श्रेष्ठलाई उहाँ कै निवासमा भेटेँ । उहाँको हुलाक टिकट सङ्कलन हेरँे । विभिन्न देशका कागजी मुद्रा पनि सङ्कलन गर्नुहुँदो रहेछ । उहाँले टिकट प्रदर्शनी क्रममै रुसको मस्को लगायत केही देशहरू समेत घुमिसक्नु भएको रहेछ । उहाँको सङ्कलन धेरै व्यवस्थित र उच्च रहेछ । उहाँलाई भेटेर मैले धेरै कुरा सिकेँ । टिकट सङ्कलनमा पनि पैसा लगानी गर्नुपर्छ भन्ने मैले उहाँबाटै जानकारी पाएँ ।

नयाँनयाँ टिकट पाउने लोभ सधँै हुन्थ्यो । बिस्तारै थाहा पाउँदै गएँ, टिकट सङ्कलनको तृष्णा कहिल्यै नमेटिने प्यास रहेछ । टिकटमा पुरै ध्यान र लगाव लगाउनु मेरो निम्ति सम्भव थिएन । अरू काममा पनि समय दिनु पथ्र्याे । जति गर्दा पनि कुनै न कुनै टिकट छुटेकै हुन्थ्यो । आफूसँग त्यो टिकट नहुँदा छट्पटी हुन्थ्यो । मैले धेरै देशका टिकट सङ्कलन गरँे तर कुनै पनि प्रदर्शनीमा भाग लिन पाइनँ । टिकट सम्बन्धी कुनै पनि छलफल, अन्तरक्रिया या गोष्ठीमा जान पाइनँ । भारत अलिगढका हार्डवेयर व्यवसायी प्रविन गुप्ताले कोहलपुरमा एउटा राम्रो टिकट प्रदर्शनी लगाउ भनेका थिए । उनी पनि राम्रा फिलाटेलिष्ट हुन । भारत जाने क्रममा मैले उनको घरमा उनको सङ्कलन हेर्ने मौका पाएको थिएँ । खै के के मिलेन । त्यत्तिकै भयो यो काम पनि कोहलपुरमा प्रदर्शनी लगाउन सकिएन ।

हरेक टिकटहरू युनिक, भिन्न र कलात्मक हुन्थे । टिकटका डिजाइनरले सूक्ष्म डिजाइन गरेर आफ्नो सिर्जना क्षमताको उत्कृष्टता पस्किएका हुन्थे । टिकटहरूले जतिबेला पनि मेरो उत्साह बढाउँथे । टिकटको असिमित दायरा थियो । बिल्कुल समुद्र जस्तो विराटता बोकेको क्षेत्र जति डुबुल्की लगाए पनि किनारामै भएको आभाष हुन्थ्यो । टिकट सङ्कलनले अनुशासनमा बस्न सिकायो, सिर्जनशील हुन सिकायो, धैर्यता सिकायो ।

भारतका टिकटहरूको न कागजको गुणस्तर राम्रो हुन्थ्यो न टिकटको विषयवस्तु नै । त्यो भन्दा त भुटानका टिकट कति हो कति राम्रा । जापानका टिकट पनि राम्रा मानिन्थे । मेरा टिकट एल्बमभित्र सिङ्गो विश्व थियो । विश्वको इन्साइक्लोपेडिया, वृहत्तर ज्ञान जे भन्दा पनि हुन्थ्यो टिकट भरिएका ती एल्बमहरूलाई । म टिकट एल्बम हातमा लिन्थेँ र आफ्ना भावनाहरूसँगै विश्व यात्रामा निक्लिएको आभास हुन्थ्यो । त्यतिबेला मैले कुनै दिन यी टिकटमा भएका कुनै पनि देशहरूलाई घुमौँला भनेर सपनामा पनि सोचेको थिइनँ । अवसरहरू आउँदा रहेछन्, धैर्यता गर्न सक्नुपर्दो रहेछ ।

टिकटबाट हरेक देशको भेषभुषा, राष्ट्रिय व्यक्तित्व, खेलाडी, पर्यटकीय स्थलको बारेमा जानकारी लिन सकिँदो रहेछ ।
एउटा युग नै म टिकट सङ्कलनमा लागेँ । अहिले पनि मसँग ती टिकटहरू छन् । प्रत्येक टिकटहरूमा मेरो युवा उमेरका यादहरू समेटिएका छन् ।  टिकट राज्यको संस्कृति र आदर्शका प्रतीक हुन् । हुलाक टिकट सङ्कलनलाई सोखहरूको पनि राजा मानिन्थ्यो । जोसँग धेरै टिकट छ ऊ नै सबैभन्दा धनी हो कि जस्तो लाग्थ्यो । टिकट सङ्कलक अरू भन्दा धेरै जानेको र बुझेको हुन्थ्यो । मसँग यति देशको टिकट छ भन्नु गर्वको विषय बन्थ्यो ।

छरछिमेकी या आफन्तका चिठी आउँदा घर सम्मै पु¥याइदिन गइन्थ्यो । चिठी पाएपछि उनीहरू खाम च्यातेर पढ्न थाल्थे । आफूले भने खाम बाहिर टाँसेको यो टिकट म लिन्छु है भनेर मागिन्थ्यो । ती दिनहरू पनि थिए । अचम्म लाग्छ, कहाँकहाँ पुगिएन टिकट खोज्न । जगत्जीको घर औंरीमा थियो । उहाँले औंरीमा कोरियन क्याम्प रहेको र त्यहाँ बाहिरै टिकट फ्याँकेका हुन्छन् भन्नु भयो कुरै कुरामा । कोरियाको टिकट भनेपछि म भुतुक्कै भएँ । घरमा भनेर म उहाँसँगै औंरी गएको थिएँ ।

हामी दुई जना ट्रकको हुटमा बसेको त्यो पल अझै सम्झिन्छु । ट्रक जति गतिमा कुद्थ्यो पछाडि उतै नै ठुलो धुलोको पर्दा बन्थ्यो । औंरी झर्ने बित्तिकै हामीले कोरियन क्याम्पको बाहिर निकै बेर टिकट खोज्यौ । जति खोज्दा पनि टिकट भने भेटिएन । ककौराबाट हिँडेदेखि नै आज कोरियन टिकट पाइने भो भन्ने उत्साह थियो मनमा । मनको उत्साह मनमै रह्यो । खैर केही भएन । जगत्जीको घरमा खाना खाई हामी बबइको पुल बन्दै गरेको ठाउँमा पुग्यौँ । कोरियनहरू भर्खर भर्खर पुलको काम गर्दै थिए । भोलिपल्ट म एक्लै फर्किएँ ककौरा । जगत्जी उतै बस्नुभयो ।

एकपटक पाल्पा गएको थिएँ । त्यतिबेला तारा दिदीसँगै म मावल जाँदै थिएँ । हामी मान्छे हिँड्ने गोरेटोमा हिँड्दै थियौँ । बाटोको केही तल कागजका खोस्टाहरू छिरलिएका थिए । परैबाट एउटा चिठीको खाम देखेँ मैले । खाली खाम रहेछ । खामको बाहिर मैले कहिल्यै नदेखेको र मसँग सङ्कलनमा नभएको टिकट टाँसिएको देखँे । मैले हत्तपत्त अरू कागजपत्र पनि हातैले ओल्टाइ पल्टाइ गरेँ । अरू चारओटा टिकट भेटिए । टिकट भारत र भुटानका रहेछन् । अचम्म लाग्छ त्यो बेलामा बाटोमा हिँड्दा पनि म के के सोच्दै हिँड्दो रहेछु ।

मसँग नेपाल, भारतपछि भुटानको टिकट हात लागेको थियो । फेरिफेरि पाल्पा जाँदा त्यो ठाउँमा टिकट भेटिन्छ कि जस्तो लाग्थ्यो । उ बेलामा टिकटप्रति म कति धेरै पागल थिएँ । अब त्यो रहर छैन ममा, तर टिकटहरू छन् । कहिलेकाँही टिकटका एल्बम पल्टाएर हेर्छु । बच्चादेखि वृद्धसम्म विश्वको सबैभन्दा लोकप्रिय रुचि थियो टिकट जम्मा गर्नु । विश्वभरि धेरै सङ्कलक थिए । विश्वभरबाट छापिएका अरबौँ टिकटको साम्राज्य थियो । विश्वको पहिलो हुलाक टिकट पेनि ब्ल्याक, जुन लिलाम हुँदा अरबौं रूपैयाँमा अझै पनि बिकिरहेको छ । छापिएका जति सबै टिकट सङ्कलन गर्छु भनेर कहिल्यै सकिँदो रहेनछ बरु थाकिँदो रहेछ एकदिन । म पनि थाकेँ ।

अचम्म लाग्छ । उमेर अनुसार मानिसका रहर र रुचिहरू कसरी बदलिँदै जाँदा रहेछन् । मेरा रुचिहरू मात्रै कसरी अपवाद हुन सक्थे र ? म पनि बदलिँए । जसरी समय बदलियो, युग बदलियो । अबका बच्चामा त्यस्तो रुचि हुँदैन । अहिलेको डिजिटल युगमा बच्चाहरूका रुचि र प्राथमिकता अरू नै कुरामा छन् । बच्चाहरू अनलाइन गेम, भिडियो, टिकटक र युट्युबमा व्यस्त छन् । उनीहरूका लागि हिजोअस्तिका हुलाक घर, हुलाकी, चिठी पत्र, हुलाक टिकट भन्ने कुरा कुन जन्तुको नाम हुन्, के थाहा ? सहर बजारमा सडक किनारामा राखिने पत्र मञ्जुषाको बारेमा के थाहा ? एउटा युग थियो, एकान्तमा बसेर चिठी लेखिन्थ्यो । पसलमा खाम किनेर चिठी त्यही खामभित्र राखेर बाहिर प्रापक र प्रेषकको नाम लेखिन्थ्यो ।

हुलाक अफिसले तोकिएको दरको टिकट टाँसेर उक्त चिठी सहरको सडक किनारमा रहेको पत्र मञ्जुषामा खसालिन्थ्यो या गाउँमा हुलाक घरमा छोडिन्थ्यो । ती चिठी हप्ता दस दिनमा प्रापकको हातमा पुग्थे । प्रापक मुग्ध भएर चिठीभित्र लेखिएका शब्दमा हराउँदै जान्थे । कहाँको सूचना आदानप्रदानको त्यो जमाना र अहिले सूचना पठाउने बितिकै हात पर्ने डिजिटल जमाना । समय कहाँबाट कहाँ पुगिसकेछ ।
सञ्चारका स्वरूपहरू बदलिने क्रममा छन् । इमेल इन्टरनेटले हुलाकलाई पछाडि पारे । निश्चय पनि आउँदा दिनहरूमा यी अझै अकल्पनीय रूपमा बदलिने छन् ।

अहिले मेरा विगतका स्मरणहरू मोबाइलमा टाइप भएर मोबाइल मै छापिन्छन् र मोबाइल वालाले नै पढ्छन् । कुनै बेला राज्यको सबैभन्दा द्रुततर सञ्चारका माध्यम चिठी पत्र र तीनमा टाँसिने टिकटहरू आजकल अड्डा अदालत, माल र विभिन्न सरकारी कार्यालयका कागजपत्रमा टाँस्न मात्र प्रयोग हुन्छन् भन्दा अचम्म लाग्छ । सबै समयसमयका कुरा हुँदा रहेछन् । भोलिका दिनमा आउने परिवर्तनहरूले आजको सबैभन्दा द्रुत माध्यम मानिने इन्टरनेटलाई पनि विस्थापित गरिदियो भने त्यतिबेला अचम्म नमान्दा हुन्छ ।

प्रकाशित मितिः शनिबार, भदौ २७, २०७७     12:10:49 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *