18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

‘बिजुली अनियमित बिल नियमित’ दुई बल्ब बालेको मासिक विद्युत् महसुल १५ हजार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ २४, २०७७  

दिनेश कुमार बुढा । सुर्खेत ।

६६ बर्षीय लिलाराम पोखरेलको घर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० खजुरामा छ । उनी घरका एक्लो व्यक्ती हुन् । उनको घरमा सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाबाट सुर्खेतमा पढाइको लागि भनेर बसन्त जैशी कोठा भाडामा लिएर बस्छन् । उनको साथी भनेकै कोठा भाडामा बस्ने एउटा जैशी मात्र हुन् । पोखरेलले घरमा बिजुली बत्ति जोडेका छन् । उनी दुई वटा बल्ब बालेको बताउँछन् ।

पोखरेल बिजुलीको खपत न्यून गरेपनि महसुल भने चर्को तिर्नुपरेको गुनासो गर्छन् । ‘बिजुली बत्ति नियमित कहिल्यै आउँदैन’ उनले आक्रोशित हुँदै भने, ‘बिजुलीको बिल भने सधैं धेरै तिर्नुपर्छ ।’ साउन र भदौं महिनामा दुई वटा बल्ब बालेको मात्र १ हजार एक सय ७५ रुपैयाँ तिर्नुपरेको उनले गुनासो गरे । ‘आजसम्म कुनै पनि विद्युत कार्यालयका मान्छे मेरो घरमा गइ मिटर बक्स पनि हेरेका छैनन्’ पोखरेलले भने, ‘विद्युत महशुल बुझाउन जाँदा कार्यालयले अन्दाजी रकमको बिल काटेको छ ।

त्यहीँ अनुसार पैसा माग्छ ।’ ‘गत फागुनदेखि जेष्ठ महिनाको पाँचसय ४४ रुपैयाँ २५ पैसा, असार महिनामा ९ सय ८० रुपैयाँ तिरेको तिरे । साउन र भदौ महिनाको बिल तिर्न जाँदा विद्युत कार्यालयले १५ हजार बिल आएको सुनायो’ उनले भने । त्यसपछि उनले घरमा रहेका दुई वटा कोठामा दुई वटा बल्ब बाल्न मात्र थाले । ‘यती बिल कसरि आयो भनेर खोजी गर्दा यति रहेनछ । ११ सय ७५ हो रहेछ भन्दै कार्यालयले ११ सय ७५ को नै बिल बनाई मलाई घर पठाएको हो’ पोखरेलले अगाडि थपे ।

उनको कोठामा भाडामा बस्ने अछाममा जैशी पनि ठूलो रकमसहित बिल आउँदा छक्क परेको बताउँछन् । ‘विद्युत् प्राधिकरण कार्यालय सुर्खेत वितरण केन्द्रका प्रमुखसँग यस्तो किन भयो भनेर सोध्दा उहाँले हामीले होइन । यो यस्तै हो । मिस्टेक हुन्छ । हामीलाई माथिबाट हाल भन्यो हामीले त्यसरी नै हालेको हो भन्ने ठाडो जवाफ दिनुभयो’ उनले भने । यता वितरण केन्द्र, सुर्खेतका प्रमुख टकंराज गिरीले यस्तै केही समस्याहरु थप आफुसँग आएको भन्दै भेटेर कुरा गर्नुपर्ने बताए ।

‘तीन महिना लकडाउनको कारणले गर्दा रिडिङ हुन पाएन् केन्द्रको परिपत्र अनुसार काम भइरहेको छ’ उनले भने, ‘अहिले हामीले ग्राहकहरुलाई फोटो खिचेर ल्याउन अनुरोेध गरेका छौँ । त्यो फोटोमा मिटरमा भएको नम्बर र कार्यालयको सिस्टममा भएको नम्बर यदि मिल्यो भने त्यो बिलमा आएको पैसा त्यति नै हुन्छ ।’ वितरण केन्द्र प्रमुख गिरीले दुई वटा बल्ब बालेको एक महिनाको बिल १५ हजार आउन नसक्ने बताए ।

प्रकाशित मितिः बुधबार, भदौ २४, २०७७     9:08:23 AM  |