18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

गाउँपालिकाको बजेट आफ्नो खातामा हाल्ने लेखा सहायकको जागिर गयो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन २६, २०७७  

 रुकुम पश्चिम ।

रुकुम पश्चिममा त्रिवेणी गाउँपालिकाको बजेट आफ्नो खातामा हाल्ने लेखा सहायक जागिरबाट निकालिएका छन् । त्रिवेणी गाउँपालिकाका लेखा सहायक सुवास केसीलाई जागिरबाट निकालिएको हो । केसीले सरकारी बजेट आफ्नो, श्रीमती र भतिजाको खातामा हालेपछि गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीको संयोजकत्वमा गठन गरेको छानबिन कार्यदलले केसीलाई जागिरबाट निकाल्ने निर्णय गरेको हो।

छानबिनको क्रममा केसीले आफ्नो, आफ्नो श्रीमती र लेखा सहायक सुवासको खातामा झण्डै २५ लाख रुपैयाँ जम्मा गरेको पाइएको छ । केसी गएको जेठ महिनादेखि गाउँपालिकाको लेखा सहायकमा करारमा नियुक्त भएका थिए । गाउँपालिकामै कार्यरत सुवासका अंकलसमेत रहेका लेखापाल हेमन्त केसीको सहयोगमा आफ्नो खातामा मात्रै गाउँपालिकाको सात लाख ९१ हजार रुपैयाँ रकम जम्मा गरेका थिए ।

लेखापाल केसीले सुवासको तलब र भत्ताको लागि भन्दै गाउँपालिकामा जवाफ दिएका थिए । जेठ महिनामा करारमा नियुक्त भए पनि उनले फागुनदेखि नै महिनाको १ लाख ५६ हजारका दरले तलब र भत्ता बुझेको देखिएको कार्यदलले जनाएको छ । कार्यदलले लेखापालको नाममा गएको रकमको कागजात हेर्ने र जिल्ला प्रशासन कार्यालयले घटनाको छानबिन सुरु गरेकाले छानबिनमा सहयोग गर्ने निर्णय गरेको कार्यदलका सदस्य तथा गाउँपालिकाका उपाध्यक्ष निर्मला बिष्टले बताउनुभयो ।

छानबिन हुँदै गर्दा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, उनकी श्रीमती बिर्मा र भतिजा सुवासको खातामा जम्मा भएको सरकारी रकम फिर्ता गरेका थिए । रकम आफन्तको खातामा हाल्ने लेखापाल र त्यस काममा सघाउँने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको समेत मिलोमतो भएको भन्दै कारबाही हुनुपर्ने माग स्थानीयले गर्दै आएका छन् ।-ujyaaloonline

प्रकाशित मितिः सोमवार, साउन २६, २०७७     1:10:34 PM  |