26 October 2020  |   सोमवार, कार्तिक १०, २०७७

‘वडामा अहिलेसम्म कोरोना संक्रमित छैनन्’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन १९, २०७७  

स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पनि पूरा भइसकेको छ । लामो समयदेखि रिक्त रहेका स्थानीय निकायहरुले जनप्रतिनिधी पाएका थिए । त्यो पनि सिंहदरबारको अधिकार गाउँमा नै लागू गर्ने अधिकारसहित । काम भन्दा पनि बढी स्थानीय तहहरु विवादमा आएका छन् । चार महिनाअघि नेपालमा समेत देखिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा स्थानीय जनप्रतिनिधिहरुले ठूलो भूमिका निर्वाह गरे । पछिल्लो समय वडामा कोरोनाको अवस्था, विकास निर्माण, विभिन्न तहसँग समन्वय लगायतका विषयमा बाँसगढी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष तुलप्रसाद गौतमसँग मधुर पौडेलले गरेको कुराकानीको सम्पादीत अशं ।

१. वडामा पछिल्लो समय के कस्ता गतिविधीहरु भइरहेका छन् ?

पछिल्लो समय वास्तवमा जारी कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण सम्बन्धी काम हामीले गरिरहेका छौं । गत चैत्र ११ गतेदेखि घोषणा गरिएको लकडाउन हाम्रो वडामा प्रभावकारी बनाउनको लागि खटिएर लागेका थियौं । लकडाउनको समयमा हाम्रो वडाका टोल टोलमा रहेका न्यून आय स्तर भएकाहरुलाई राहत वितरण गर्ने काम भयो । विदेशमा भएका नेपालीहरु नेपाल भित्र्निे क्रम सुरु भएपछि त्यस काममा खटिएका थियौं । वडामा रहेका चार वटा क्वारेन्टिन १४ दिनसम्म व्यवस्थित रुपमा राख्ने काम ग¥र्यौं । अहिले भने क्वारेन्टिनहरु विस्तारै खाली हुँदै भइरहेका छन् । केही आउने मानिसहरुलाई होम क्वारेन्टिनमा राख्ने काम गरेका छौं । उहाँहरु राम्रो निगरानीमा हुनुहुन्छ । अन्य गतिविधीहरु चाही विकास निर्माणका काम आर्थिक वर्ष २०७६÷०७७ को लाई कोरोनाले अलिकती प्रभाव पारेको थियो । कोरोना कहरकै बिच उपभोक्ताबाट हुने कामहरु भने वडामा व्यवस्थित तरिकाले सम्पन्न गरेका थियौं । ठेक्का मार्फत वडामा भएका ककौरा चोकबाट त्रिभुवन सामुदायिक विद्यालयसम्म जाने ३ सय ५० मिटर कालोपत्रे थियो । त्यो काम अहिले पनि जारी छ । अहिले खासगरी यहाँ हामीले व्यवस्थित ढङ्गले हाम्रो वडालाई कसरी सुरक्षित राख्ने कोरोनालाई वडामा भित्र्न नदिन हामी कसरी अनुशासित हुने भन्ने कुरामा हामी लागेका छाै ।

२. चालू आर्थिक वर्षको बजेटमा कस्ता–कस्ता योजनाहरु समावेश गर्नुभएको छ ?

चालू आर्थिक वर्षको बजेटमा चाही हामीले वास्तवमा यो कोरोनाले गर्दा खेरी विकास निर्माणमा धेरै छुट्याउन सकेनौं । यता पट्टी कृषि, शिक्षा, स्वास्थ्यमा हाम्रो बजेट बढी भइरहेको छ । हामीले विशेष गरी अहिले यो कोरोनाको कहरले गरीखाने मान्छेहरु जो भारत, तेस्रो मुलुक जान्थे । त्यस्ता मान्छेहरु चाही फिर्ता भएर गाउँमा आएका छन् । उनीहरुलाई अब व्यवसायीक बनाउनुपर्छ । कृषि कार्यमा लगाउनुपर्छ भनेर हामीले अली बढी बजेट छुट्याएका छौं । शिक्षा, स्वास्थ्यमा पनि त्यही ढङ्गले हामीले बजेट छुट्याएका छौं । भौतिक निर्माणमा अहिले बजेटको कमी रहेको छ । भौतिक निर्माणमा हामीले गतवर्षका जुन सम्पन्न हुन सकेका छैनन् । त्यसलाई चाही बढी अहिलेको बजेटमा प्राथमिकता दिएका छौं । विद्यालयका भवन निर्माण बजेट विनियोजन गरिएको छ भने हामीले बिशेष फोकस गरेको शिक्षा, स्वास्थ्य र कृषिलाई नै हो । सडकमा ग्रावेल र नगरी नहुँने विद्युत्का कामहरुले समेत निरन्तरता पाएका छन् ।

३. गत आर्थिक वर्षमा कोरोना कहरले वडामा हुने विकास निर्माणका कामलाई असर ग¥यो की गरेन ?

कोरोनाले पक्कै पनि विकास निर्माणका काममा असर ग¥यो । चैत्र ११ गतेबाट मुलुकमा लकडाउन जारी भएपछि वडामा सुरु हुने तयारीमा रहेका विकास निर्माणका कामहरु रोकिए । मानिसहरु घरभित्रै बस्नुपर्दा मजदुरको समस्या भयो । निर्माण व्यवसायीहरुले काम गर्न सकेनन् । अहिले पनि कोरोनाको कहर बाँकी नै रहेको छ । त्यसैकारणले गर्दा जुन हिसाबले काम हुनुपर्ने हो त्यो हिसाबले काम हुन सकेन । अठ्यारो प¥र्यौं तथापी हामीले त्यसलाई झेल्दै सामाजिक दुरी कायम गरेर विकास निर्माणका कामहरुलाई चाँही सक्नुपर्छ । भनेर हामीले आफ्नो हिसाबले काम गरेर दुखका साथ हामीले काम सम्पादन गरेका छौं ।

४. अझै पनि कोरोना संक्रमणको दर घट्न सकेको छैन । यसलाई समुदायस्तरसम्म फैलिन नदिनको लागि वडाको कसरी काम गरिरहेको छ नी ?

वास्तवमा यो जटिल कुरा रहेको छ । अझै पनि कोरोना संक्रमण दिन प्रतिदिन तिव्र गतिमा फैलिरहेको छ । नेपालमा केही दिन अघिदेखि लकडाउन अन्त्य गरिसकेको अवस्था छ । लकडाउन हटिसकेको अवस्थामा वडामा त्यस्तो संक्रमण बढेको छैन । तर बाहिर हेर्दा खेरी छिमेकी पालिकाहरुमा चाही यसको कहर बढी रहेको छ । कोरोनाको कहरले बाँसगढीमा ठूलो रुप लिन सक्छकी भनेर नगरपालिका र वडा सजक रहेको छ । जनताहरुलाई यो बिषयमा चाही प्रशिक्षित गर्ने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने लगायतका उपायहरु गरेर कोरोना संक्रमण फैलिनबाट जोगिन सकिन्छ । पहिलो कुरा त हामी आफै सजक हुनुपर्छ । त्यो हुनसके कोरोना संक्रमण फैलिने सम्भावना कम हुन्छ ।

५. अहिलेसम्म तपाईको वडामा कतीजनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले उनीहरुको अवस्था कस्तो छ ?

अहिले हाम्रो वडामा हामीले जतिबेला भारतबाट आएका मान्छेहरुलाई क्वारेन्टिनमा राखेका थियौं । विभिन्न ठाउँबाट आएका मानिसहरुलाई यहाँ राख्यौं त्यस क्रममा आरडीटी परीक्षणबाट पाँच जनामा कोरोना पोजिटिभ देखाएको थियो । आरडीटी गर्दा पोजिटिभ देखिकाहरुको पीसीआर जाँच गर्दा भने रिपोर्ट नेगेटिभ आयो । अहिले उहाँहरु घरमा हुनुहुन्छ । उहाँहरुमा स्वास्थ्य समस्या कुनै पनि देखिएको छैन । वडामा अहिलेसम्म कोरोना संक्रमितहरु फेला परेका छैनन् । अहिलेसम्म वडा कोरोनाबाट सुरक्षित रहेको छ । सजकता अपनाए आफु र अरुलाई पनि सर्दैन भन्ने कुरा चाही हामीले जनतालाई बुझायौं । समुदायलाई यी कुरा सिकाउने यही काममा हामी लागिरहेका छौं । यसैगरी अन्त्य गर्नुपर्छ भन्ने हाम्रो भनाई हो ।

६. वडामा हुने गरेका विकास निर्माणमा आयोजना दिगो बन्न नसक्नुका कारण के–के हुन् नी ?

वडामा भए गरेका विकास निर्माणहरु दिगो बन्न नसक्नु भन्ने कुराहरु त मैले त्यस्तो त भेटाएको छैन । वास्तवमा हामीले गरेका काम चाही मजबुत रहेका छन् । गुणस्तरीय रहेका छन् । भन्ने मलाई लाग्छ । त्यसो भएर वडाका कामहरु दिगो रुपमा हुन्छन् । यसमा पनि दिगो बनाउने कसरी गुणस्तरीय बनाउने कसरी राम्रो काम गर्ने भन्ने कुरामा हाम्रो ध्यान छ । यसलाई दिगो रुपमै अगाडि बढाउनुपर्छ । वडामा भएका काम भने दिगो भएन भन्ने कुरा चाँही म सहमत छैन ।

७. वडाका मुख्य–मुख्य समस्याहरु के–के हुन् । ती समस्याहरु हल गर्नको लागि वडा कार्यालयले कसरी काम गरिरहेको छ ?

वडाको समस्या भनेको मुख्य गरेर किसानहरुलाई रहेको छ । गाउँघरमै बसेर नागरीकहरुले खेती किसानी गरेर बाल बच्चा पाल्न सक्नुपर्छ भन्ने हाम्रो मान्यता हो । कुनै खालको व्यवसाय गरेर उनीहरुको जिविका चलोस् भन्ने उद्धेश्यमा हामी छौं । सो कुरालाई अहिले कोरोना भाइरसले पुष्टि गरेको छ । हाम्रा जनताहरु आफैमा आत्मनिर्भर हुनुपर्छ । यो हाम्रो मुलुक छोडेर बाहिर गएर छोराछोरी पाल्ने, बाहिरको पैसा ल्याएर घर चलाउने झुटा कुरा हुन् । यो सधै भरी टिक्न सक्दैन । सधै भरी हामीलाई निर्वाह पनि चल्दैन भन्ने कुरा कोरोनाले हामीलाई शिक्षा दिएको छ । त्यसो भएको हुनाले हामीले पहिलो कुरा कृषिलाई ध्यान दिएका छौं । किसानहरु अब कृषिमा व्यवसायीकरण लैजान तिर ध्यान दिनुपर्छ । सबैलाई आफै गरेर खानको लागि वडा कार्यालयले गाउँमै वातावरण बनाउँछ । त्यसो भएको हुनाले अब अर्को कुरा चाही यहाँ सबैभन्दा बढी जटिल कुरा भनेको मानिसहरुमा चेतनाको कमी रहेको छ । वडामा कृषिमा नै फोकस गर्नुपर्छ । तरकारी पकेट क्षेत्र बनाउनुपर्छ भनेर समुह बनाएर अहिले काम गरिरहेका छौं । लक्ष्मणमा कृषि हाट बजार व्यवस्थापन गरिरहेका छौं । यसले कृषकहरुलाई आफ्ना उत्पादनहरु बिक्री वितरण गर्न सहज हुनेछ । त्यहाँबाट कृषिजन्य बस्तुहरु अन्य जिल्लासम्म पनि पु¥याउने हामीले योजना बनाएका छौं । यसै गरेर हाम्रा गतिविधि अगाडि बढेका छन् ।

८. बाँसगढी नगरपालिकासँग वडाले कसरी समन्वय गरेर काम गरिरहेको छ नी ?

बाँसगढी नगरपालिकासँग हाम्रो वडाले समन्वय गरेको छ । नगर कार्य पालिकाको म पनि सदस्य भएको नाताले समस्याहरु नगरपालिकामा लैजान्छु । कार्यापालिकाबाट निर्णय गरेर हाम्रो वडामा कार्यान्वयन हुन्छ । वडामा समस्याहरु जताततै रहेका छन् । हामी नगरसँग समन्वय गरेर शिक्षा, स्वास्थ्य, बाटाघाटा लगायत अन्य विकास निर्माणका कुरा गर्ने गर्दछौं । जस्तै म के भन्न चाहान्छु भने हामीले अहिले हाम्रो वडामा नगर स्तरीय खेलकुद बनाउन गइरहेका छौं । प्रदेशबाट गतवर्ष आएको ७५ लाखले भैसापुर भन्दा पछाडी रिहारपुरमा नगर स्तरीय खेल मैदान बनाइएको छ । यही आर्थिक वर्षको नगर स्तरीय मेयर कप यही मैदानमा हुँदैछ । खेल मैदानमा जानको लागि हामीले छोटो हिसाबले एउटा बाटो निकालेका छौं । भैसापुरमा पुरानो पञ्चायतकालमा जिविस थियो जुन भत्कियो त्यसलाई नयाँ बजेट पारेर निर्माण गरेका छौं । कतीपय अवस्था नगरपालिकाका साथै प्रदेश र केन्द्र सरकारसँग समेत समन्वय गरेर कामहरु अगाडि बढाएको अवस्था रहेको छ ।

९. कोरोना कहरका कारण रोजगारी गुमाएर फर्किएका नागरीकलाई कसरी व्यवस्थापन गर्ने योजना छ ?

मैले यो विषयमा माथि नै भनिसकेको छु । कोरोना कहरले रोजगारी गुमाएर फर्किएका नागरीकहरुलाई अहिले हाम्रा गाउँघरमा युवा धेरै छन् । एकैपटक धेरैजना रोजगारी घुमाएर घर फर्किनुभएको छ । फेरी पनि उनीहरु घरपरिवार चलाउन विदेशतिर नजाउन त्यहाँ गएर दुःख पाउन नपरोस् भन्ने हिसाबले हामीले बिशेष गरी कृषिलाई ध्यान दिएका छौं । आउँदा दिनहरुमा प्रत्येक किसानहरुलाई आ–आफ्नो कृषि फर्म दर्ता गर्ने सम्मको बनाउने, सामूहिक हिसाबले तरकारी खेती, बाख्रापालन गर्ने लगायतका काम गर्नुपर्छ । यस काममा वडा सरकारले सहयोग गर्नेछ । हाम्रो वडामा दुईवटा डेरीहरु रहेका छन् । जसरी सना किसान संस्थाले दुध संकलन गर्छ बाहिर पठाउछ । दुध संकलन गर्ने हामीलाई समस्या अहिले छैन । त्यसैले हाम्रा किसानहरुलाई गाई भैसी पाल्ने र दुध उत्पादनमा जोड दिन्छौं । खासगरी किसानहरुलाई अब व्यवसायीक किसान बन्न हामीले हौसला र साथ सहयोग दिने हो ।

१०. अन्त्यमा के भन्न चाहानुहुन्छ नी ?

अन्त्यमा म के भन्न चाहान्छु भने वास्तवमा हामी जनप्रतिनिधि गणतन्त्र नेपालको पहिलो जनप्रतिनिधि हौं । हामी निर्वाचित भएर आउँदा हामीले जनप्रतिनिधिको हैसियतले आफ्ना जिम्मेवारीहरु निर्वाह गरिरहेका छौं । हामीलाई मतदाताले दिएका जिम्मेवारीहरु जिम्मेवारी पुर्वक निर्वाह गर्नुपर्छ । त्यसैगरी मैले आफ्ना कुरा राख्न पाएकोमा बिशेषगरी मिसन टुडे दैनिक प्रति आभार प्रकट गर्न चाहान्छु ।

प्रकाशित मितिः सोमवार, साउन १९, २०७७     10:31:54 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *