20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

‘सरकारले पार्टी होइन, पार्टीले सरकार चलाउने हो’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन १७, २०७७  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैजनाथ गाउँ कमिटीले पार्टीका काम कारबाहीहरुलाई चुस्तदुरुस्त बनाउन पछिल्लो समय के कसरी काम गरिहेको छ, स्थानीय सरकार सञ्चालनमा पार्टीको भूमिका, सहकार्य र समन्वय कस्तो छ । त्यसैगरी, पार्टी एकतापछि पनि नेता कार्यकर्ताहरु भावनात्मक एकता नदेखिएको र पार्टीको पछिल्लो अवस्था लगायतका विषयमा नेकपा बैजनाथ गाउँ कमिटीका अध्यक्ष चन्द्र चौधरीसँग मिसन टुडेका यानबी साहुले गरेको कुराकानीको सम्पादित अशं ।

१. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैजनाथले पार्टीका काम कारवाहीहरुलाई चुस्तदुरुस्त बनाउन पछिल्लो समय के कस्ता कार्यहरु गरिरहेको छ ?

पार्टीका काम कारवाहीलाई चुस्तदुरुस्त बनाउनका लागि नेकपा बैजनाथले समय समयमा पालिका कमिटी हुँदै वडा, टोलसम्मका कमिटी बैठकहरु बस्ने गरिएको छ । गठन गर्न निर्देशन दिएका छौँ । पालिकास्तरीय कमिटीको निर्देशनका आधारमा वडा कमिटी बैठकहरु बसेर विभिन्न वडाका टोलहरुमा गएर टोल कमिटी गठन गर्ने कामहरु भइरहेको अवस्था छ । सबै वडाहरुमा टोल कमिटी निर्माण गरिसकेपछि वडास्तरीय भेला गर्ने गरिएको छ । ती भेलाहरुमा संघ, प्रदेश र स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यकर्ताहरुले भेलामा देखिएका समस्याहरु राख्नु हुन्छ ।

त्यसै गरी जनप्रतिनिधिहरुले पनि वार्षिक रुपमा गर्ने कामहरुका बारेमा छलफल गर्ने गर्नु भएको छ । जस्तो उहाँहरुले कति वजेट कहाँ छुट्याउने, कुन शीर्षकमा कति छुट्याउने, अधिवेशनबाट के कस्ता निति तथा कार्यक्रमहरु पारित गर्नुभयो, ती सबै कुराहरु जानकारी गराउनु हुन्छ । यस्तै पार्टीले बैजनाथको विकास र जनचासोका विषयमा के कस्ता कार्यहरु गरिरहेको छ । अथवा के गर्ने, आगामी दिनमा के कस्ता कार्यहरु गर्ने भन्ने बारेमा भेला तथा बैठकहरुमा छलफल र बहसहरु गर्ने गरिएको छ । भेलाहरुमा नेता तथा कार्यकर्ताहरुबाट विभिन्न सुझावहरु आउने गर्दछन् । ती सुझावहरुलाई नै आत्मासाथ गरेर पार्टीले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ।

२. नेकपा बैजनाथले जनतासँग नेकपा र जनतासँग जनप्रतिनिधि कार्यक्रम अभियानकै रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । यो कस्तो कार्यक्रम हो ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बैजनाथले ‘जनतासँग नेकपा’ र ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम विशेष गरेर जनताका घरदैलोमा नै गएर उनीहरुका गुनासा सुन्न र समाधान गर्ने तथा पार्टीको पछिल्लो अवस्थाको बारेमा फैलाइएको भ्रम चिर्नका लागि सबै वडाहरुमा यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको हो । पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधि र जनताको सम्बन्ध समधुर बनाउनु पर्छ । पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधिहरु जनतासम्म पुग्नु पर्दछ, घरमा गएर उनीहरुका कुराहरु सुन्नु पर्छ, विचारहरु बुझ्नु पर्छ, देखिएका समस्याहरुलाई समाधान गर्नुपर्दछ भनेर कार्यक्रम सञ्चालन गर्न लागिएको हो । स्थानीय सरकारका प्रतिनिधिहरु र पार्टी कार्यकर्ताहरुलाई हरेक वडाहरुमा लिएर जान सक्यौँ भने पार्टी पनि बलियो हुन्छ र जनतासँगको सम्वन्ध पनि समधुर हुने भएकाले ‘जनतासँग नेकपा’ र ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्न लागेका हाँै । त्यसका साथै पार्टीको पछिल्लो अवस्थाको बारेमा जनतामा भ्रम फैलाइएकोले ती भ्रमहरुका बारेमा उहाँहरुलाई सत्य कुरा के हो त भनेर बुझाउनु लागि पनि कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

३. नेकपा बैजनाथमा पालिकादेखि टोल कमिटीसम्म महिला सहभागिताको अवस्था कस्तो छ ?

नेपालको संविधानमा नै हरेक तहमा महिलाको ३३ प्रतिशत अनिवार्य सहभागिता हुनु पर्ने उल्लेख छ । हामीले पनि सोही अनुसार नै विभिन्न कमिटीहरुमा महिला सहभागिता गराउनु पर्ने हुन्छ । तर पनि बैजनाथमा महिलाको त्यो सहभागिता गराउन सकिएको छैन । किनभने पहिले पहिले महिला दिदी बहिनीहरुले पनि खासै राजनीतिप्रति चासो दिनु भएन । त्यसमा पनि विभिन्न कारणहरु हुन सक्छन् । जस्तै घरको आर्थिक अवस्था, पारिवारिक अवस्थादेखि लिएर विभिन्न कारणहरु हुन सक्छन् । हामीले पनि विभिन्न परिस्थितिका कारण उहाँहरुको त्यति सहभागिता गराउन सकेनौँ । अहिले हामीले नयाँ संविधान पाइसकेपछि पछिल्लो समयमा भने ३३ प्रतिशत नै नभएपनि पहिलेको तुलनामा उल्लेख्य सहभागिता गराएका छौँ । विभिन्न कारणले महिलाहरु पछाडि परेता पनि अहिले पार्टीले हरेक कमिटीहरुमा महिलाहरुको सहभागिता गराउने प्रयास गरिरहेको छ ।

४. बैजनाथ गाउँपालिकामा पनि नेकपाकै सरकार छ । स्थानीय सरकार र पार्टी विच के कसरी सहकार्य तथा समन्वय भइरहेको छ ?

बैजनाथ गाउँपालिकामा पार्टी र जनप्रतिनिधिहरु विचको समन्वय र सहकार्य एकदमै राम्रो छ । अहिले पछिल्लो समय महामारीका रुपमा देखिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टिन, आइसोलेसन व्यवस्थापन, राहत संकलन तथा व्यवस्थापन, नागरिकहरुलाई सचेत गराउने लगायतका कार्यहरुमा पनि पार्टी र स्थानीय सरकारका प्रतिनिधिहरुको सहकार्य र समन्वय एकदमै राम्रो रह्यो र काम पनि व्यवस्थित एवं सफल भए । गाउँपालिकामा धेरै जना व्यक्तिहरुमा कारोना संक्रमण देखिएपनि स्थानीय सरकारका प्रतिनिधि, पार्टीका नेता कार्यकर्ता, जनवर्गिय संगठन स्थानीय नागरिक सबैको सहयोगमा कोरोना नियन्त्रण गर्न सफल भएको छ । यसमा स्थानीय सरकारले योजना बनाएर पार्तीलाई जानकारी दिएपछि हरेक तहतप्काका नेता कार्यकर्ताहरु निरन्तर खट्नु भयो । यसले गर्दा बैजनाथमा कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय सरकार र पार्टी दुवै सफल भएको छ ।

५. स्थानीय सरकार सञ्चालनमा पार्टीको भूमिका कस्तो रहन्छ ?

सरकार सञ्चानलमा पार्टीको अहम भूमिका रहन्छ । सरकारका जनप्रतिनिधिहरु पार्टीबाट नै निर्वाचित भएकाले अथवा उनीहरुलाई पार्टीले नै सरकारमा पठाएको हुनाले पार्टीको निर्देशन, निति नियम अनुसार चल्नु पर्ने हुन्छ । हाम्रो पार्टीको धारणा पनि पार्टीले सरकार चलाउने हो, सरकारले पार्टी होइन । तर यहाँ उल्टो भएको छ । सरकारले पार्टीलाई चलाएको देख्न सकिन्छ । नेकपा मात्र होइन समग्रको कुरा गर्ने हो भने अझै पनि पार्टी र जनप्रतिनिधिहरुको कहि न कहि तालमेल नमिलेको देखिन्छ । यस्तो मतभेदले गर्दा समाज र देश बनाउने लक्ष्य पुरा हुन सकेको छैन । त्यसकारण जनप्रतिनिधिहरुले हामी कहाँबाट आएका हौँ ? कुन पार्टीबाट आएका हौँ ? हाम्रो कर्तव्य के हो ? भन्ने कुरालाई आत्मासाथ गरेर पार्टीको निर्देशन लागु गर्यौ भने मात्रै देश र समाज बनाउने लक्ष्य पुरा हुन्छ ।

६. कयाँै ठाउँहरुमा जनप्रतिनिधिहरु पार्टीको निर्देशन नमान्ने जनप्रतिनिधिले भनेको पार्टीले नमान्ने गरेको देखिन्छ नि ?

कहिँ कतै कुनै ठाउँमा यस्तो देखिएको पक्कै पनि हो । बैजनाथमा पनि हाम्रा जनप्रतिनिधि तथा नेता कार्यकर्तामा देखियो । तर पछि उहाँहरुले पनि यो कार्य गलत रहेछ भनेर पार्टी नै ठूलो कुरा हो, हामी त्यही पार्टीबाट आएको हौँ, भुल्नु हुँदैन भनेर लाग्नु भएको छ । भर्खरै केहिदिन अघि मात्रै पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधिहरु विच पनि हाम्रो बैठक बसेको थियो । जनप्रतिनिधि र नेता कार्यकर्ताहरुको एकदमै उत्सुकतापूर्ण सहभागिता रहेको थियो । त्यो बैठकमा पार्टी र जनप्रतिनिधिहरुले गरेका राम्रो नराम्रा सबै कामहरुको समिक्षा भयो । पहिलो पटक दुवै पक्षले राम्रो कामहरुको समिक्षा गर्दै नराम्रो कामहरुको समिक्षासहित आत्मालोचना गर्ने कामहरु भए । यो एकदमै राम्रो काम हो भन्ने मलाई लागेको छ । जनप्रतिनिधिहरुले पनि पार्टीलाई धेरै राम्रा सुझावहरु दिनुभयो । साथै आफूहरुले पनि पार्टीको निर्देशन अक्षरांश पालना गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

७. एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो । एकता भएको केहि समयमा नै फुटको संघारमा पुगेको देखिन्छ । के अब पार्टी फुट्छ त ?

कम्युनिष्ट पार्टीमा आ–आफ्ना विचार आउनु स्वाभाविक कुरा हो । पार्टीमा प्रतिस्पर्धा हुनै पर्छ । नेकपा कुनै पनि हालतमा फुट्दैन । किनभने प्रतिस्पर्धा नै भएन भने के को कम्युनिष्ट ? त्यसैले फेरि पनि भन्छु पार्टी कुनै पनि हालतमा फुट्दैन, जुटेर नयाँ सिराबाट झन् अगाडी बढ्छ । अध्यक्षद्वय तथा अन्य केन्द्रिय नेताहरुहरुले पनि बुझ्नु भएको छ । यति ठूलो संघर्ष, बलिदान दिएर बनाएको जनताको आशा र भरोसाको पार्टी फुट्यो अथवा नेताहरुले धोका दिए भने त्यसको जवाफ जनताले पक्कै पनि दिनेछन् । त्यसकारण हामी नेता कार्यकर्ताहरु पनि ढुक्क छौँ । पार्टी फुट्दैन । अहिले पार्टीमा देखिएको विवाद वैचारिक छलफल हो । यसलाई टुंगोमा पु¥याएर निकास निकाल्नुपर्छ भन्नेमा हामी स्थानीय नेता कार्यकर्ताहरु पनि विश्वस्त छौँ ।

८. दुई पार्टी एक भएपनि नेता तथा कार्यकर्ताहरुमा अझैसम्म पनि भावनात्मक रुपमा एकता देखिँदैन नि ?

पक्कै पनि यहाँले भने जस्तै पूर्व एमाले र माओवादी केन्द्र दुई पार्टी एक भएपनि अझै पनि नेता कार्यकर्ताहरु भावनात्मक रुपमा एक हुन नसकिरहेको अवस्था छ । नेता कार्यकर्ताहरु भावनात्मक रुपमा एक बनाएर लैजानका लागि केन्द्रस्तरबाटै योजना बनाएर अभियानकै रुपमा सञ्चालन गर्न जरुरी छ । केन्द्रले बनाएको योजना तथा निर्देशनलाई सबै स्थानीय तह वा पालिकामा रहेका नेता कार्यकर्ताहरुले पालना गर्न सकेमात्रै नेता कार्यकर्ताहरुमा भावनात्मक रुपमा एकता हुन सक्छ । भावनात्मक रुपमा नेता कार्यकर्ताहरु एक नभएकै कारण अहिले विभिन्न गुट उपगुटहरु बनाएर लागेको देखिन्छ । त्यसकारण नेकपा बैजनाथले एउटा नियम नै बनाएको छ । देश समाज निर्माणमा लागेका केन्द्रिय नेताहरुका विचमा कुनै विषमा अन्तरद्वन्द्व भएपनि त्यसको समाधान गर्नुहुन्छ । उहाँहरुका बारेमा अथवा पार्टी एकतामा असर पार्ने खालका कुनै अभिव्यक्ति वा विचारहरु स्थानीय नेता कार्यकर्ताहरुले सामाजिक सञ्जाल, कुनै सार्वजनिक कार्यक्रमहरुमा राख्न नपाउने भनेर निर्देशन जारी गरेका छौँ । पार्टीभित्र भएको अन्तरद्वन्द्व घरको कुरा हो । त्यसैले नेताहरु मिल्नुहुन्छ भन्ने हामीले विश्वास लिएका छौँ ।

९. नेता कार्यकर्ताहरु विचको सम्वन्ध समधुर बनाउनका लागि नेकपाले के गर्न जरुरी छ ?

सबैभन्दा पहिले त दुबै अध्यक्ष मिलेर पार्टीभित्र देखिएको अन्तरविरोधलाई केन्द्रविन्दुमा पु¥याएर योजना बनाएर आउनु पर्दछ । यस्तै बृहत् योजना बनाएर प्रत्येक जिल्ला हुँदै, क्षेत्र, नगर, गाउँ, टोलसम्मका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुपर्छ । उनीहरुलाई पार्टीको सिद्धान्त, निति नियमका बारेमा जानकारी दिन सक्यौ भने नेता कार्यकर्ताहरु विचको सम्वन्ध समधुर हुँदै जान्छ ।

१०. स्थानीय नेता कार्यकर्ताहरु पार्टी एकताको पक्षमा देखिनु भएको छ कि फुटको पक्षमा ?

फुट भन्ने त कुरै आउँदैन नि । स्थानीयदेखि केन्द्रिय तहसम्मका सबै नेता कार्यकर्ताहरु पार्टी एकताकै पक्षमा हुनुहुन्छ । पार्टी फुट्नका लागि होइन, एक भएर जुट्नका लागि एकीकरण भएको हो । त्यसैले कुनै पनि नेता कार्यकर्ताहरु फुटको पक्षमा हुनुहुन्न्न । पार्टी फmुट्यो भने त कुनै एक पक्षलाई मात्रै हैन, दुबै पक्षलाई घाटा हुन्छ नि । त्यसैले सबै नेता कार्यकर्ताहरु पार्टी एकीकरण कै पक्षमा एक ढिक्का भएर उभिनु भएको छ ।

११. अन्त्यमा नेकपा बैजनाथ गाउँकमिटी अध्यक्षको हैसियले आम नागरिक तथा नेता कार्यकर्ताहरुलाई के भन्न चाहनु हुन्छ ।

सम्पूर्ण नेता कार्यकर्ता तथा आम नागरिकहरुमा के भन्न चाहन्छु भने नेकपामा कुनै पनि हालतमा फुट्दैन । पछिल्लो समय पार्टीमा देखिएको अन्तरद्वन्द्व घरभित्रको झगडा जस्तै हो । यसले पार्टीलाई झनै मजभुत बनाएर लैजाने काम गर्छ । हामी नेता कार्यकर्ताहरु ढुक्क छौ, नेकपा फुट्दैन । र आमनागरिकहरुमा पनि यहि विश्वास दिलाउन चाहन्छु । निराश वा हतास हुनुपर्ने अवस्था छैन । नेकपा ठूलो संघर्ष र वलिदानबाट जनताको चाहना अनुसार नै निर्माण भएकोले शीर्ष नेताहरुले पनि जनता र नेता कार्यकर्ताको भावना विपरित कार्य गर्नुहुने छैन । हामी ढुक्क छौँ । पार्टी अझै नयाँ सिराबाट अगाडी बढ्ने छ । नेता कार्यकर्ता र आम नागरिकको आशा, भरोसाको केन्द्र बन्ने छ ।

प्रकाशित मितिः शनिबार, साउन १७, २०७७     8:24:31 AM  |