9 August 2020  |   आइतवार, साउन २५, २०७७

कोहलपुरको विकासमा विकृतिको पराकाष्ठा, दुई दिन टिकेन कालोपत्रे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन १७, २०७७  

शुभाकर विश्वकर्मा । कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका भित्र हुने विकास निर्माण कार्य गुणस्तरहिन हुने समस्या नौलो होइन । यहाँका हरेक विकास निर्माण कार्यमा कुनै त कुनै समस्या देखिएकै हुन्छन् । सडक, नाली, तटबन्ध, पुल निर्माणमा ढिलासुस्ती, ग्राभेल तथा कालोपत्रे सडकमा कमसल सामग्रीको प्रयोग, गुणस्तरहीन काम, ठेकेदारको मनोमानी, सरोकारवाला निकायको चरम लापरबाही कोहलपुरमा देखिएका प्रमुख समस्या हुन् ।

यस्ता कारणले जनताको कर र वर्षेनी राज्यको लाखौँ लगानी बालुवामा पानी खन्याए झै हुने गरेको छ । यस्तै कालोपत्रे गर्ने सडकमा कमसल सामग्रीको प्रयोग, गुणस्तरहीन काम र विकास निर्माण चरम विकृतिको पराकाष्ठाको नमूना कोहलपुर नगरपालिका वडा नम्बर ११ मा भेटिएको छ । यहाँको एकतानगर ‘ड्राइभर’ टोलमा ४९ लाखमा निर्माण गरिएको कालोपत्रे दुई दिन टिक्न नटिकेको पाइएको हो । कमसल सामग्री प्रयोग भएका कारण त्यहाँका स्थानीय र नगरपालिकाले साढे तीन सय मिटरको दुरीमा लगाइएको कालोपत्रे भत्काएका छन् । एकतानगरका स्थानीय भिमदत्त काफ्ले कालोपत्रे जिम्मा पाएका ठेकदारले कमसल सामग्रीको प्रयोग र गुणस्तरको काम नगरेका कारण सबै गाउँलेहरु मिलेर कालोपत्रे भत्काइएको बताउँछन् ।

उनका अनुसार कालोपत्रे गरेको सडकमा मानिस हिड्न र साइकल चलाउन समेत सम्भव थिएन । ‘हामीले पहिल्यै काम राम्रो भएन भनेका थियौं । तर ठेकदारले हाम्रो माग सुुनुवाई गरेनन् । निर्माण सम्पन्न भइसकेपछि राम्रो काम देखिएन हामीले भत्काइदियौ’ उनले भने । एकतानगरकै स्थानीय तथा युवा सुर्यबहादुर सुनारले ठेकेदारको चरम लापरबाही र मनोमानीका कारण सडक निर्माणमा जनताको कर र राज्यको लगानी खेर गएको बताए । उनले लापरबाही गर्ने ठेकेदारलाई स्थानीय सरकारले कारबाहीको दायरामा ल्याएर फेरी पनि गुणस्तरयुक्त काम गर्नु पर्ने माग गरे । स्थानीय र नगरपालिकाका प्रतिनिधि मिलेर एक साता अघि गरिएको कालोपत्रे त्यसको दुई दिनमै भत्काएका थिए ।

उक्त सडक निर्माण तथा कालोपत्रेको जिम्मा कोहलपुर ११ स्थित पिस कन्ट्रक्सनले लिएको थियो । सुवास गिरी त्यसका सञ्चालक हुन् । यता करिब ९ सय मिटर सडकको कालोपत्रे गर्नको लागि संघीय सरकारको समपुरक ४१ लाख र नगरपालिकाको ४१ लाख बजेट रहेको नगरपालिकाका इन्जिनियर बालकृष्ण महताराले जानकारी दिए । उक्त सडक खण्डका कुल स्टिमेट ८२ लाख भएपनि गिरीले ४९ लाखमा ठेक्का सम्झौतामा निर्माण जिम्मा लिएको उनले जानकारी दिए । असार मसान्त भित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने भएपनि लकडाउनका कारण प्रक्रिया ढिलो मात्रै सुरु भएको उनले बताए । महताराका अनुसार उक्त सडकको ठेक्का बैशाखमा गर्नु पर्ने भएपनि जेष्ठ १५ गते ठेक्का आह्वान भएर असार १४ गते मात्रै ठेक्का सम्झौता भएको थियो ।

तर ठेकदार गिरीले उक्त सडकको ग्राभेल र बेस निर्माण बापतको २० लाख रुपैयाँ भुक्तानी पाइसकेका छन् । कालोपत्रेको लागि बाँकी रकम भने भुक्तानी भएको छैन । ‘हामी अनुगमनमा जाँदा काम कमसल काम देखिएपछि भत्काएर फेरी निर्माण गर्न भनिएको हो । हामीले ठेकेदारलाई सचेत गराएका छांै । उहाँले फेरी कालोपत्रे गर्छु भन्नु भएको छ । पूर्णरुपमा काम गुणस्तरयुक्त नभएसम्म भुक्तानी हँुदैन ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने ।

सम्झौता अनुसार ठेक्का सम्झौताको अन्तिम मिति भदौ महिनासम्म छ । उता ठेकेदार गिरीले भने उक्त सडकमा कालापत्रे गर्नेक्रममा कमसल सामग्री प्रयोग भएको स्वीकार गरेका छन् । केहीदिन यता मौसमले साथ नदिएका कारण थप काम हुन सकेको र आफूले निर्माणको ठेक्का लिएको हुँदा आफंैले पुनः कालोपत्रे गर्ने बताए । ‘कसैले कालोपत्रे भत्काएका होइनन्, छिटोछिटो काम गर्दा राम्रो काम हुन सकेन । आफै गएर भत्काएको हुँ । म आफै बनाउँछु’ उनले भने ।

प्रकाशित मितिः शनिबार, साउन १७, २०७७     8:14:42 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *