12 August 2020  |   बुधबार, साउन २८, २०७७

समीक्षा : ‘निरुको साइनो’ मा एक दृष्टि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन १६, २०७७  

–छविलाल खड्का

मान्छे छैन इमानी
न सहरमा छ धन
न झोपडीमा छ पिसानी ।

मिति २०७६ श्रावण १६ गते छायादत्त न्यौपान “बगर”ले अनुहार पुस्तिकामा साइनो विधा उल्लेख गरी उल्लेखित सृजना सार्वजनिक गरे पश्चात नेपाली साहित्य जगतमा साइनो लेखनकने वहस शुरु भएको हो । उहाँको साइनोले केशव ज्ञवाली, खेमलाल पोखरेल, कृष्ण पौडेल र बाल कुमार क्षेत्रीको मन जित्न सफल भएपछि यो विधाका बारेमा चासो उत्पन्न भै छलफल शुरु भएको थियो । छलफल सकारात्मक दिशातर्फ उन्मुख भयो र यसले व्यापकता पाउँदै गयो । क्रमशः यो विधासँग विभिन्न क्षेत्रका सर्जकहरुले साइनो गाँस्न पुग्नुभयो ।

यसको उन्नयनका लागि स्रष्टा तथा सर्जकहरुलाई विभिन्न सामाजिक संजाल, अनलाइन पत्रिका, छापा पत्रिका, रेडियो , टिभीहरुको साथ सहयोग रहयो । परिणाम स्वरुप साइनो विधा एक वर्षे छोटो समयमा नै जन्मी, हुर्की, दौडन थालेको छ । यसलाई पछ्याइरहेका करिब छ सय जना स्रष्टाहरुले साइनो लेखनमा विशेष रुचि देखाउँदै आएका छन्

विभिन्न व्यक्ति र छापा माध्यमको सहयोगले आफ्ना सिर्जनालाई तिखार्दै पाठक समक्ष पस्कदै अघि बढ्ने स्रष्टाहरुका लामै पङ्ति बनेको छ । काठमाण्डौमा जन्मिएको साइनो बाँके बर्दियामा निकै मौलाइरहेको छ । यस क्षेत्रमा साइनो लेख्नेहरुको पंक्तिमा निरन्जना चन्द निरुको नाम पछिल्लो समय चर्चामा छ । निरुलाई साइनो सङ्गै छ, सात महिनादेखि देख्न र पढ्न पाइन्छ । उनै निरुले छोटो समय र प्रतिकुल समयका बावजुद ‘निरुको साइनो’ बजारमा ल्याई साइनो आकाशमा दोस्रो फूल फुलाउन सफल भएकी छिन् । योभन्दा करिब चार महिना अघि स्रष्टा बिष्णु पादुकाको पहिलो ‘साइनो’ सङ्ग्रह प्रकाशित भैसकेको छ ।

काठमाण्डौको खाल्डो जन्मिएर निकै दूरदराजमा अवस्थित सुन्दर नगरी बाँकेको कोहलपुरमा साइनो झाँगियो भने बर्दियाको बाँसगढीमा पनि लहरायो । यो सौभाग्य पश्चिम नेपाललाई गयो, सर्जकहरु बिष्णु पादुकालाई गयो, निरन्जना चन्दलाई गयो र यस क्षेत्रका साहित्यिक अभियन्ता एवम् हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकाललाई गयो ।

‘समृद्ध देश सुखी नेपाली’ नाराकासाथ अघि बढेको बर्तमान सरकारबाट आशातित् उपलब्धिहरु ननिस्की रहेको बेला कोरोना कहरले जनजिवन अस्तव्यस्त बनायो । स्वतन्त्र पंक्षी झै स्वच्छन्द आकाशमा विचरण गर्न रुचाउने मान्छे आफ्नै घररुपि पिंजडामा बन्द भएर बस्न कर लाग्यो । मानवीय जिवनका धेरै क्षेत्रहरु तहसनहस
भए । देशका आर्थिक सुचाङ्कहरुमा नरामरी गिरावट आयो तर एउटा क्षेत्र जो मान्छेको पहिलो प्राथमिकतामा पर्न नसकेको क्षेत्र साहित्य सिर्जनामा भने अनुकुल समय सावित भयो । व्यस्तताका बावजूद आफ्ना सिर्जना अगाडि सार्न नसकेका कयौं स्रष्टाहरुका नयाँ नयाँ सिर्जनाले धर्ति टेक्ने सौभाग्य पाए । भनिन्छ, मानिसका उत्कट इच्छालाई इन्तेको बाउ चिन्ते आए पनि रोक्न सक्दैन ।

‘खाने मुखलाई जुँङ्गाले छेक्दैन’ भने भैंm स्रष्टाहरुलाई कोरोनाले छेकेन । कोरोना कहरले बन्दी जीवन ब्यतित गर्न बाध्य मान्छेले बन्द कोठामा सिर्जना मात्र गरेन त्यसलाई कृतिको रुप दिन पनि पछि परेन । यसको ज्वलन्त उदाहरण हो निरन्जना चन्दको ‘निरुको साइनो’ । प्रतिकुल समयका बावजूद जहाँ इच्छा त्यहाँ उपाय भने झै प्रविधिको उपयोग गरी जुम मिटिङ्ग मार्फत निरुको साइनोको विमोचन गरियो । यो कार्य यस क्षेत्रको सम्भवतः पहिलो र नौलो प्रयोग होला । यसको अर्को मजाको फाइदा विश्व व्यापी भयो । कोरोना कहर नभएको भए बाँके बर्दिया क्षेत्रका सीमित साहित्यकारहरुको उपस्थितिमा विमोचन हुन्थ्यो भने कोरोनाको अबरोधलाई परास्त गर्दै नयाँ प्रयोग जुम मिटिङ्ग मार्फत विमोचन कार्यक्रमलाई विश्वव्यापीकरण गरियो ।

‘निरुको साइनो’ सार्वजनिकीकरण भएको छ । यो कृति अब निरन्जना चन्दको मात्र रहेन । लाखौं लाख साहित्य प्रेमी मन, अझ अगाडि बढेर भन्नू पर्दा साइनो प्रिय मनहरुको सम्पति भएको छ । यसको संरक्षण र विकास गर्ने दायित्व साइनो प्रिय मनहरुमा सरेको छ । म पनि साइनोको पाठक हुनुको नाताले निरुको साइनो सरसर्ती पढेको आधारमा साइनोका मानकभित्र राखी हेर्ने जमर्को गरेको छु ।

‘निरुको साइनो’को प्रकाशक संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले प्रकाशकीय मन्तव्यमा साइनोका सिद्धान्त, नियम र मानकका विषयमा प्रष्ट लेख्नु भएको छ । नयाँ विधा भएकोले नयाँ लेखकहरुलाई मध्यनजर गरी यसरी प्रकाशकीयमा नै यसरी लेख्नु भए जस्तो लाग्छ । पैकाशकीयमा उहाँले उल्लेख गर्नुभएको छ ‘साइनोको मुल भाव सकारात्मकता हो, सत्यता हो, सत्कर्म हो । लय साइनोको आत्मा हो । व्यङ्गय साइनोको मुटु हो । सात(आठ(नौ को त्रिपदीय अक्षर संरचना साइनोको शरीर हो । पदीय स्वतन्त्रता साइनोको विशेष गुण हो । बिम्ब, प्रतीक, अलंकार साइनोका अवयवहरु हुन् । अनुप्रास र अन्त्यानुप्रास साइनोका कल्की हुन् ।’

करिब एक वर्षको अन्तरालमा भएका अध्ययन, छलफल, अन्तरक्रिया, वहस र निस्कर्षले साइनो लेखनका मानकको रुपमा ‘निरुको साइनो’को प्रकाशकीयमा ढकालले उल्लेख गरेका अंगहरुलाई स्वीकार गरेको हुँदा यी मानकमा राखेर निरुका साइनोहरुलाई हेर्ने प्रयास गरिएको छ ।

१) मुलभावः सकारात्मकता र सत्यतारसत्कर्म

साइनोको मुख्य सन्देश समाजमा सकारात्मक परिवर्तन गर्नु नै हो । सकारात्मक सन्देशका बाहक फरक फरक हुने गर्छन् । ती बाहक मध्ये साहित्य एउटा बौद्धिक पाटो हो यसैको विधाको उप विधाको रुपमा मौलाएको साइनोको मुख्य ध्येय पनि समाजमा सकारात्मक परिवर्तन गर्नु रहेकोले सत्कर्म गर्दै सत्यताको उजागर गर्ने काम साइनोले गरिरहेको परिप्रेक्ष्यमा निरुका साइनोहरुलाई हेर्दा उनका साइनोहरु खरो रुपमा उत्रिएको पाइन्छ । अहिलेको समय र परिवेश अलि बढी नकारात्मक टिकाटिप्पणी गर्ने, नैराश्यता पोख्ने र सतही रुपले टिप्पणी गर्ने छ उक्त परम्परालाई चुनौति दिदै विभिन्न साइनो मार्फत निरुले समाजमा सकारात्मक परिवर्तन, विकास, समृद्धि र मानवीय संवेदनाको सन्देश छरेको देखिन्छ । उनका अधिकांश साइनोहरु यही मानकभित्र रहेका छन् जसका उदाहरणका रुपमा निम्न साइनोहरु हेरौं ।

आऊ साइनो गासौं
मीठो ईतिहास रचौं
डाह ईष्या सबै हटाऔं ।

(पृष्ठ १)

म झुक्दिनँ, चुक्दिनँ
प्राणको आहुति दिन्छु
मेरो गर्वको झण्डामुनि ।

( पृष्ठ ३)

आशा हुन् सञ्जिवनी
हाँसीखुसी बाँच्न सकौं
जिन्दगानी दर्पण छायाँ ।

(पृष्ठ ७)

नखोस लोकलय
म गाएरै रम्ने गर्छु
यी भरोसाका गीतहरु ।

(पृष्ठ २०)

२) आत्माः लय र गेयात्मकता

साइनोको आत्मालाई जिवन्त राख्ने तत्व भनेको लय हो । जुनसुकै कविताको पनि आफ्नै लय हुन्छ । साइनो पनि कविताकै उप विधा भएकोले यसको आत्मा वा प्राण भनेको लय हो । यो गाउन सकिने, गुनगुनाउन मिल्ने भयो भने जिवन्त साइनो बन्छ । यही मानकतामा निरुका साइनोहरुलाई हेर्दा कहीं कतै खोट लगाउने ठाउँ भेटिन । सबै साइनोमा जिवन्त लय छ र त नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सचिव प्रा.डा. जिवेन्द्र देव गिरी आफ्नो शुभकामना मन्तव्यमा यस्तो लेख्छन्स् वीरता र सौन्दर्यताको कवितात्मक गायन हो निरुको साइनो । गायन भन्ने बित्तिकै लय वा गेयात्मकता कुरा आयो ।

फुली गुरौंसी आज
नरोई काफलु लेक
भइगई कोरोना बाज ।

(पृष्ठ ७५)

जून लाग्याकी रात
रुचेन भातकी गाँस
कहाँ गई मनकी मैना ।

( पृष्ठ ७५)

३) मुटु : व्यङ्गय

साइनोको ढुकढुकी भनेकै व्यङ्गय हो । केही कुरा सिधा भन्दा नछोएको विषयलाई व्यंग्यात्मक रुपमा प्रहार गरियो भने यसले दिमागमा झड्का दिन्छ तब मान्छे झल्याँस्स हुन्छ र जुरुक्क उठ्छ । यस्तै ताकत भएका झटारै झटारोले भरिपूर्ण छन् निरुका साइनोहरु पनि ।

बुढो गोरु जोत्दैन
देश उर्वर हुँदैन
हलो सुम्पे युवा काँधमा ।

( पृष्ठ ४३)

ढलेछ बुढो रुख
छहारीमा सुक्यो मुल
आँगनीमा फुल्ला र फूल ?

(पृष्ठ(१५)

४) शरीर : ७,८,९ को त्रिपदीय अक्षर संरचना –

विभिन्न प्रकारका अंग प्रत्यंग समेतको सिङ्गो भौतिक रुपलाई शरीर भनिन्छ । साइनोको त्रिपदीय शब्द गुच्छा , जम्मा २४ अक्षर संख्या र ७(८(९ को संरचनामा बनेको पूर्ण रुप नै साइनोको शरीर हो । यो मानकमा पनि निरुका साइनो सफल देखिन्छन् । प्रायस् जसो साइनोकारहरु यही मानकमा चुकेको पाइन्छ । हलन्त र अजन्तको प्रयोगमा देखिएको बिचलनले गर्दा साइनोका शारिरीक अंग अपाङ्ग हुनपुग्छन् । तर निरुका साइनो यहाँ सफल देखिन्छन् ।

त्यहीं बस चाँदनी
असुरक्षित छ धर्ती
जोगिएला मिठो जवानी ।

( पृष्ठ ५३)

मेलापात पँधेरी
हे ! गाउँकी चेलीबेटी
आफ्नो हुन्न रात अँधेरी ।

५) गुण : पदीय स्वतन्त्रता

साइनोको गुण भनेको त्रिपदीय स्वतन्त्रता नै हो । पहिलो सात अक्षरको आफैमा स्वतन्त्र अर्थ दिने, दोस्रो आठ अक्षरको स्वतन्त्र अर्थ दिने र तेस्रो नौ अक्षरको आफ्नै स्वतन्त्र अर्थ भएको शब्द गुच्छा तीन वटै शब्द गुच्छाले आ(आफ्ना स्वतन्त्र अर्थ दिएर पनि समुच्चमा सिंगो अर्थ बोक्ने शक्ति अन्तरनिहित हुन्छ । यो मानकमा पनि केही साइनोकार चिप्लिएको पाइन्छ । सिंगो वाक्यलाई टुक्रा पारी त्रिपदीय बनाएको पाइन्छ । यसले पदीय स्वतन्त्रताको हनन् गर्छ । यो मानकमा पनि निरुका साइनोहरु जोगिएका छन् ।

भिसामा छ जिन्दगी
लिलाम बैँस जवानी
घरमा दिलकी भवानी ।

(पृष्ठ २१)

अमिलो छ विगत
फिस्स हाँस्छ बर्तमान
आँशु लुकाउला भविष्य ।

( पृष्ठ २३)

६) अवयव : बिम्ब , प्रतीक र अलंकार

साइनोका महत्वपूर्ण अवयव भनेका बिम्ब, प्रतीक र अलंकार हन् । बिम्ब, प्रतीक र अलंकार विनाको साइनो नुनिलोरअमिलोरपिरो कम भएको अचार जस्तै हुन्छन् । यो मानकमा त झन निरुले प्राकृतिक, सांस्कृतिक, धार्मिक, राजनैतिक, साहित्यिक, प्रेम आदि थुप्रै बिम्ब, प्रतीक र अलंकारको प्रयोग गरेको पाइन्छ । जसले गर्दा उनका साइनोहरु उत्कृष्ट कोटीमा पुगेका छन् ।

अघोषित बन्धन
अलिखित यो कहानी
लेख तोड किराँती नानी ।

(पृष्ठ १८)

च्यात्नु छ पर्दाहरु
कति बुन्छन् जालझेल
मूर्ख यिनी माकुराहरु ।

(पृष्ठ ३७)

७) कल्की : अनुप्रास र अन्त्यानुप्रास

कल्की भनेको थप सौन्दर्यता हो । यो नभए पनि चल्न त चल्छ तर आँखाको विष मार्न भए नि दुलहीलाई थप सिँगार पटार गरे झै साइनोमा पनि अनुप्रासरअन्त्यानुप्रास अनिवार्य नभए पनि सुन्दरता थप्न मिठास भर्न अनुप्रासरअन्त्यानुप्रासको प्रयोग गरिन्छ । निरुका धेरै साइनोहरु अनुप्रास र अन्त्यानुप्रास मिलेका छन जसले थप सुन्दरता प्रदान गरेको छ ।

तिम्रा दिलैका ताल्चा
यी मेरा आँखैका साँचा
खोल्दिऊँ पिरतीका फाँचा ।

(पृष्ठ ३३)

मान्छे चिन्तैचिन्तामा
पुग्छ जिउँदै चितामा
हाँसो आँशु छुट्टै कित्तामा ।

(पृष्ठ २६)

अन्त्यमा,

यदि मेरो अल्प ज्ञान र दृष्टि दोष नभएको हो भने निरुका सबै साइनोहरुले माथि उल्लेखित मानकहरु पुरा गरेकै कारण सशक्त देखिएका छन् । उनका ३५६ वटै साइनोहरुले साइनो संसारलाइ धनि तुल्याएका छन् । निरन्जना चन्द निरु पहिलो नारी साइनो कृतिकार तथा दोस्रो साइनो कृतिकार हुने सौभाग्य प्राप्त गरेकी छिन् । नेपाली साइनो आकासले निरुबाट यस्तै र यो भन्दा झन सशक्त साइनोहरुको आशा गरेको छ । निरुको साइनोलाई शुभकामना ।                  कोहलपुर, बाँके

प्रकाशित मितिः शुक्रबार, साउन १६, २०७७     10:03:53 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *