19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

जनप्रतिनिधिले भत्काए निर्माणाधिन भवन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन १५, २०७७  

कोहलपुर नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय भवन निर्माणको क्रममा कमसल साम्रगी प्रयोग गरिएको भन्दै निर्माणाधिन अवस्थामै भवन भत्काइएको हो ।

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ को निर्माणाधिन वडा कार्यालय भवन भत्काइएको छ । मापदण्ड विपरित कार्यालय भवन बन्न थालेपछि वडाका जनप्रतिनिधी र स्थानीयहरुले भवन भत्काइदिएका हुन् । निर्माण कम्पनीले कार्यालय भवन निर्माण गर्दा कमसल साम्रगी प्रयोग गरेको भन्दै प्राविधिकको रोहवरमा जनप्रतिनिधी र स्थानीयले निर्माणाधिन भवन भत्काइदिएका थिए । गत आर्थिक वर्ष २०७६÷०७७ मा सम्पन्न गर्नेगरी ६७ लाख रुपैयाँमा भवन निर्माणको ठेक्का के.आर.कन्ट्रक्सन कोहलपुरले लिएको थियो ।

असारको पहिलो साता नगरपालिका प्राविधिक, वडाका जनप्रतिनिधी र स्थानीयको सहभागितामा भवन भत्काएपछि काम पछाडि सरेको हो । वडा नम्बर ३ का अध्यक्ष माधव रिजालले भवन निर्माणको क्रममा कमसल साम्रगी प्रयोग गरेपछि निर्माणाधिन भवन भत्काइएको बताए । ‘कार्यालय भवन गुणस्तरहीन बनाएकोले सबैको सहभागितामा भत्काइएको हो’ उनले भने, ‘जग नै कमजोर बनाएकाले डिपिसी गरेको अवस्थामा निर्माणाधिन भवन भत्काएका हौं ।’ काम सुरु गर्ने बेला नै आफूलाई जानकारी समेत नगरी काम सुरु गरेको वडाध्यक्ष रिजालले बताए । पछि मात्र स्थानीयले आफुलाई जानकारी गराएपछि मात्र गएर हेर्दा कमसल साम्रगी प्रयोग गरेको पाइएपछि प्राविधिक बोलाएर भत्काइएको उनले जानकारी दिए ।

वडा कार्यालयको भवन निर्माण गर्दा ठेगेदारले कमसल साम्रगी प्रयोग गरेको स्थानीयहरु समेत बताउँछन् । स्थानीय दुर्गा गौतम ठेकेदारले गुणस्तरहीन सामग्री प्रयोग गरेको थाहा पाएपछि स्थानीयहरुले विरोध गरेको बताइन् । ‘भवनको जग राख्दा तल जाली नै नराखेर सिधै राखेको थियो, पछि विरोध गरेका थियौं । त्यसको माथि हात्तीपाइले राख्न लगाएका हौं’ उनले भनिन् । काम गुणस्तरीय नभएको भन्दा उल्टै कामदारहरुले समेत आफूहरुलाई अभद्र व्यवहार गर्न खोज्ने गरेको गौतमले दुःखेसो गरिन् । कोहलपुरका समाजसेवी नारायण प्रसाद गौडेलले कार्यालयको भवन निर्माण गर्दा गुणस्तरहीन र कमसल सामग्री प्रयोग भएको बताए । त्यहाँका स्थानीयहरुले खबर गरेपछि आफूहरु त्यहाँ पुग्दा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको उनले जानकारी दिए ।

‘कमसल माल प्रयोग भएको छ, अहिलेसम्मको सबै काम गुणस्तरहीन छ’ उनले अगाडि थपे, ‘फ्रेमहरु पनि राम्रोसँग नलाग्ने, बिमहरु सबै टेडामेडा छन् । मसला पनि हाले निकाल्दा निकाल्न मिल्ने खालको छ ।’ वडा सदस्य रेखा सुनारले निर्माण कार्य गुणस्तरहीन भएपछि आफूले काम रोक्न आग्रह गरेको बताइन् । आफूले काम रोक्न आग्रह गरेपछि ठेकेदार आएर गुणस्तरीय भइरहेको दाबी गरेको उनी बताउँछिन् । ठेकेदारले उल्टै गुणस्तर भए नभएको बारेमा अनुगमन समितिले पनि हेर्ने भनेर ठाडो जवाफ दिएको उनको भनाई रहेको छ । वडा सदस्य सुनार भन्छिन्, ‘मैले हेर्दा मालमेट्रियल नपुगे जस्तो लाग्यो ।

ठेकेदारलाई काम रोक्न अनुरोध ग¥यौ । सुरुमा जग भर्दै हुनुहुन्छ, जग बलियो भएन भने माथि पनि बलियो हुँदैन भनेको हो ।’ बारम्बार भन्दा समेत ठेकेदारले अटेरी गरेपछि विमहरुमा गुणस्तरीय सामग्री प्रयोग नगरेको पाइएपछि स्थानीयवासी र जनप्रतिनिधि भत्काईएको उनले बताइन् । यता वडा कार्यालय निर्माणको जिम्मा लिएका के.आर.कन्ट्रक्सनका कुलिन रानाले आफूले नगरपालिकाले आह्वान गरेको ठेक्का अनुसार निर्माण जिम्मा पाएको बताए । ‘मेरो काम भवन निर्माण गर्ने हो’ उनले भने, ‘वडामा निकै राजनीति हुने गरेका कारण आफूलाई समस्या भएको छ ।’ प्राविधिक, जनप्रतिनिधिहरु नै रोहोवरमा काम गर्ने गरेको उनी दाबी गर्छन् । ‘त्यो क्षेत्रमा साइट नभएका र त्यस सम्बन्धि ज्ञान नै नभएका प्राविधिक पठाइएको थियो । सम्बन्धित प्राविधिक आएकै छैनन् ।

उक्त योजनाको जिम्मा लिएका प्राविधिकले त्यहाँ हेरेको पनि छैन । मलाई काम गर्ने वातावरण बनाइयोस्’ कन्ट्रक्सनका रानाले भने । आफूले बिहान बनाएको संरचना र साँझ भत्काइएका कारण समस्या भएको उनले गुनासो गरे । कोहलपुर नगरपालिकाका सब–इन्जिनियर महादेब जोशीले आफू अनुगमनमा गएको भन्दै काम कमसल देखिएपछि भत्काइएको बताए । ‘जाली नै काम चलाउ गर्ने हिसाबले हालिएको थियो । काम लाग्ने र गुणस्तरयुक्त थिएन । त्यसैले भत्काइएको हो’ उनले भने, ‘उक्त भवन निर्माणको काम नगर्न भनिएको हो ।’ कोहलपुर नगरपालिकाले भने आन्तरिक स्रोतको बजेट भएकाले फ्रिज नजाने भन्दै चालु आर्थिक वर्षमा समेत ठेकेदारले काम गर्न सक्ने बताएको छ ।

प्रकाशित मितिः बिहिबार, साउन १५, २०७७     9:21:47 AM  |