19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बैजनाथमा ‘जनतासंग नेकपा’ अभियान सञ्चालन गरिने

यानबी साहु
प्रकाशित मितिः बिहिबार, साउन १५, २०७७  

बैजनाथ/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बैजनाथले ‘जनतासंग नेकपा’ र ‘जनतासंग जनप्रतिनिधि’ कार्यक्रम अभियानकै रुपमा सञ्चालन गर्ने भएको छ । नेकपा बैजनाथ गाउँमिटी अध्यक्ष चन्द्र चौधरीको अध्यक्षतामा बुधबार बसेको बैजनाथ गाउँपालिका कार्यालयको बैठकले जनताका घरदैलोमा नै गएर उनीहरुका गुनासाहरु समाधान गर्ने र पार्टीको पछिल्लो अवस्थाको बारेमा फैलाइएको भ्रम चिर्नका लागि सबै वडाहरुमा यस्तो कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा बाँके जिल्ला कमिटी सचिव जनताका घरदैलोमा गएर उनीहरुका गुनासा समाधान गर्नका लागि ‘जनतासँग जनप्रतिधि’ तथा जनताका आधारभूत समस्याहरु समाधान र पार्टीको पछिल्लो अवस्थाको बारेमा फैलाइएका भ्रमहरुका बारेमा उनीहरुलाई बुझाउने उद्देश्यले ‘जनतासंग नेकपा’ कार्यक्रम बृहत रुपमा सञ्चालन गर्न लागिएको जानकारी दिए । उनले भने, ‘जनताका अधारभूत समस्याहरु समाधान गर्न पार्टीका नेता कार्यकर्ताहरु घरदैलोमै जानुहुन्छ । त्यसका साथै पार्टीको पछिल्लो अवस्थाको बारेमा जनतामा भ्रम फैलाइएकोले ती भ्रमहरुका बारेमा उहाँहरुलाई बुझाउनु हुन्छ ।’ यस्तै बैठकले नेता तथा कार्यकर्ताहरुलाई पार्टी एकतालाई असर पर्ने गरी कुनै पनि टिका टिप्पणी नगर्न आग्रह गरेको छ । आफुलाई लागेका बैचारिक छलफल वा विचार सम्बन्धित कमिटीमा राख्न आग्रह गरिएको नेकपा बैजनाथ कमिटी अध्यक्ष चौधरीले जानकारी दिए । पार्टीलाई एक ढिक्का बनाई राख्न सामुहिक प्रतिबद्धता गर्ने निर्णय समेत पारित गरिएको अध्यक्ष चौधरीले बताए । बुधबार नै नौवस्थामा बन्ने औद्योगिक क्षेत्रमा रहेको वस्ती व्यवस्थापनका विषयमा बृहत छलफल गरिएको छ । कार्यक्रममा त्यहाँको बस्ती व्यवस्थान, स्थानीयलाई रोजगारीको ग्यारेन्टी, औद्योगिक क्षेत्र निर्माणलाई तिव्रता दिने लगायतका विषयमा छलफल गरिएको बताइएको छ ।

प्रकाशित मितिः बिहिबार, साउन १५, २०७७     7:07:03 AM  |