18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

समुदायमा कोरोनाको आशंका, ठाकुरबाबामा आकस्मिक बाहेकका सेवा बन्द

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन ५, २०७७  

बर्दिया ।

बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरमा कार्यरत् स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीमा कोरोना देखिएसँगै कोरोना संक्रमण समुदायमा फैलिएको आशंका गरिएको छ । संक्रमण देखिएका मध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्मी क्वारेन्टाईन व्यवस्थापनमा खटिएका थिए ।

नगरपालिका क्षेत्रमा खटिएका १० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय र ९ वटै वडा कार्यालयबाट हुने आकस्मिक बाहेक सबै सेवा तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएकोछ । यस्तै नगरपालिकामा हुने सबै किसिमका सभा, बैठक, भेला, गोष्ठी अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए । अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन, बजार क्षेत्रमा ननिस्कन तथा निस्कनै परे अनिवार्य मास्क लगाउन र भौतिक दूरी कायम राख्न नगरपालिकाले आग्रह गरेको छ । सङ्क्रमण पुष्टि भएका सबै जना नगरपालिका क्षेत्रमा खटिएका व्यक्तिहरु हुन् ।

उनीहरुको नेपालगञ्ज स्थित भेरी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको हो । सङ्क्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा झण्डै १ सय जनाको पीसीआर परीक्षण गर्नु पर्ने देखिएको छ । आइतबार नगरपालिका क्षेत्रका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको पीसीआर परीक्षणको लागि कन्ट्रयाक्ट ट्रेसिङ गरिएको थियो । योसँगै ठाकुरबाबा नगरपालिकमा सङ्क्रमितको संख्या २४ पुगेको छ । जसमध्ये १० जना उपचारपछि घर फर्किसकेका छन् । शनिवार १० जनामा सङ्क्रमढा पुष्टि भएसँगै बर्दियामा कोरोना सङ्क्रमितको संख्या २ सय २० पुगेको छ । १ सय ९२ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मितिः सोमवार, साउन ५, २०७७     9:10:00 AM  |