12 August 2020  |   बुधबार, साउन २८, २०७७

शैक्षिक परिवर्तन : कोहलपुर नगरपालिकाले आँट गर्न सक्ला ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन ४, २०७७  

  • महानन्द ढकाल

शैक्षिक संस्था स्थापना भएको ५९ औं वर्षको अवधिमा कोहलपुरले पहिलोपटक “कोहलपुरको शैक्षिक झलक” नामक पुस्तिका प्रकाशन गरी बिहीबार मात्रै विमोचन गरेको छ । कोहलपुरका अधिकांश विद्यालयका प्रधानाध्यापकहरु, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधिका बीचमा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले यो पुस्तिकालाई विमोचन गरेका छन् । कोहलपुर नगरपालिकाकी उपमेयर सन्जु कुमारी चौधरी, कोहलपुर सामाजिक विकास समिति संयोजक नारायणी ओली, विधान मस्यौदा समितिका संयोजक भिम नेपाली, कोहलपुर शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख अनन्तकुमार पौडेल लगायत सम्पूर्ण कर्मचारी एवम् शिक्षक महासंघका अध्यक्षका साथमा अन्य शिक्षकका केन्द्रीय नेतादेखि जिल्ला र नगरपालिका स्तरका नेताहरुको जमघटमा शैक्षिक झलक विमोचन भएको थियो । कोहलपुर नगरलाई शैक्षिक हव बनाउने विषयमा वक्ताहरुले आफ्नो मन्तव्य राखेका थिए । मन्तव्य सुन्दा लाग्थ्यो कोहलपुरलाई शैक्षिक हव बनाउन सरोकारवालाहरुले कुनै कसर बाँकि राखेका छैनन् । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कोहलपुरको शैक्षिक विकासका लागि काम गरिरहेका छन् ।

बोलाई र गराइको तारतम्य मिले नमिलेको हेर्ने भनेको तथ्य तथा प्रमाण नै हो । कोहलपुरले शैक्षिक विकासका लागि के कति गर्न सक्यो भन्ने कुराको तथ्य तथा प्रमाण खोज्न अब बाहिर भौतारिइरहनु नपर्ने भएको छ । लकडाउनको समयलाई सदुपयोग गरेर कोहलपुर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख अनन्त कुमार पौडेलको संयोजन तथा लेखनमा “कोहलपुरको शैक्षिक झलक” पुस्तिका प्रकाशित भएको छ । यो झलकले तथ्यगत रुपमा शिक्षा सम्बन्धि थुप्रै तथ्यांक तथा प्रमाणहरु जुटाएको छ जसको आधारमा कोहलपुर नगरपालिकाको शैक्षिक अवस्थाको बारेमा खुलेर वहस गर्न सकिने आधार बनेको छ ।
पुस्तक विमोचन समारोहमा पुस्तकमाथि समीक्षात्मक टिप्पणीको जिम्मा यो पङ्तिकातलाई सुम्पिएको थियो जसले गर्दा समयमा नै पुस्तकमा समेटिएका हरेक विषयवस्तुहरु अक्षरस अध्ययन तथा अवलोकन गर्ने मौका मिलेको छ । पुस्तक पढ्दै गर्दा कोहलपुरको शिक्षाको विषयमा थुप्रै जिज्ञासा तथा प्रश्नहरु उब्जिएका छन् । कोहलपुरलाई शैक्षिक हव बनाउन कम्मर कसेर लागेका नगरपालिका, नगर शिक्षा , शिक्षक महासंघ, शिक्षक संघ संगठनका केन्द्रीयदेखि नगरस्तरका नेताहरु, शैक्षिक संघसंस्था एवम् प्रधानाध्यापकहरुले थुप्रै चुनौतीहरुको सामना गर्नु पर्ने देखिन्छ । कोहलपुरको शिक्षामा देखिएका चुनौती समस्या समाधानका लागि यी संघसंस्था तथा सरोकारवालाहरुले त्याग गर्न सक्लान् त ? भन्न सजिलो तर गर्न कठिन हुने प्रश्न खडा भएको छ । त्यसै गरी कोहलपुर नगरपालिका, नगर शिक्षा र शिक्षक नेताहरू व्यक्तिभन्दा संस्थाको हितका लागि समर्पित हुन सक्लान् ? आवश्यकता वमोजिम पद लिन र पद त्याग्ने आँट गर्न सक्लान् ? मलाई त्यागेर हामी, हाम्रोलाई त्यागेर राम्रो भन्ने विचारलाई अङ्गाल्न सक्लान् ? भन्ने जस्ता तमाम प्रश्नहरु मनमा उब्जिएका छन् ।
शैक्षिक हव गफको तालमा हुने कुरा होइन । गफले त हामीले नेपाललाई सिङ्गापुर र स्वीजरलैण्ड बनाएको दसकौं बितिसकेको छ । व्यवहारमा हामी सोमालिया र युगण्डाको बाटो समातिरहेका छौं । व्यक्तिगत इच्छाका लागि देशलाई बन्दक बनाएर दुनिया हँसाइरहेका छौं । बोल्नु र गर्नु फरक कुरा हो । केही कुराहरुमा त्याग गर्न नसक्ने हो भने बोलेका कुरा पूरा हुने सम्भावना न्यून रहन्छ । कोहलपुरलाई शैक्षिक हव बनाउन नगरपालिका, नगर शिक्षा र शैक्षिक संघसंस्था एवम् शिक्षक नेताहरुले के कति योगदान दिएका छन् ? के कस्ता योजना बनेका छन् ? त्यो मुल्यांकनको पाटो हो । सक्दिन भन्ने संस्कार हामीमा छैन । अरुले गरेका कामको जस लिने बानी परेका हामीहरु पछाडि फर्केर आत्ममूल्याङ्कन गर्न जान्दैनौं । कोहलपुरको शिक्षाको क्षेत्रको हकमा ५९ वर्ष भनेको छोटो समय हुँदै होइन । यो लामो समयमा यस क्षेत्रमा जे जति काम भएका देखिए ती सबै व्यक्तिगत पहलमा मात्रै भएको प्रष्ट देखिएका छन् । संस्थागत रुपमा पहल कदमी थालिएको भए त्रिभुवन मा.वि.ले जस्तै कोहलपुरकै शैक्षिक इतिहास बोकेका लक्ष्मी मा.वि.बर्दहवा र जनता मा.वि. मैटहवाले मा.वि.स्वीकृति भएको वर्षांै भइसक्दा पनि मा.वि. दरबन्दीको आसा गरेर वर्षौ बिताउनु पर्ने थिएन ।

“कोहलपुर व्यक्तिले होइन परिस्थितिले बनेको ठाउँ हो । विशेष गरी ७ नं प्रदेश (सुदुरपश्चिम) र ६ नं (कर्णाली) प्रदेशको मुख्यद्वार रहनु तथा सरकारद्वारा टाउनप्लानिङ्कको अवधारणा अगाडि सारिए सङ्गसङ्गै दस वर्षे जनयुद्धको प्रभावले कोहलपुरलाई सहरीकरण हुनुमा सहयोग गरेको हो” भनेर ठोकुवा गर्नेहरुको संख्या अधिक छ कोहलपुरमा । सहरीकरण सङ्गसङ्गै जनसंख्या वृद्धि हुनु स्वभाविक हो । बढ्दो जनसंख्याको कारण विद्यार्थीहरुको चाप बढ्न गई थुप्रै शैक्षिक संस्थाहरु स्थापित हुन पुगेको वास्तविकता हो । शैक्षिक संस्था खुल्नु र विद्यार्थीको चाप बढ्नुलाई आधार मानेर कोहलपुरलाई शैक्षिक हवका रुपमा चरितार्थ गर्न खोजिएको हो भने योभन्दा नादानीपन केही हुन सक्दैन । कोहलपुरलाई शैक्षिक हव बनाउन कोहलपुरले ठूलै वलिदान दिनु पर्ने देखिन्छ । काम चलाउ शैक्षिक परिपाटीलाई त्यागेर दीर्घकालीन प्रभाव पार्ने नीति निर्माणदेखि कार्यान्वयनमा समेत विशेष जोड दिनु पर्ने देखिन्छ तर अहिलेकै कार्य शैली र सोचले परिवर्तन आउला जस्तो पटक्कै लाग्दैन ।
कोहलपुर क्षेत्रमा +ं२ सम्म पढाइ हुने सामुदायिक विद्यालय तर्फ ५ ओटा विद्यालय छन् भने १० कक्षासम्म मात्रै पठनपाठन हुने ७ ओटा तथा आठ कक्षासम्म पठनपाठन हुने ६ ओटा र ५ कक्षासम्म पठनपाठन हुने १३ ओटा गरी जम्मा ३१ ओटा सामुदायिक विद्यालयहरु रहेका छन् । जसमा एउटा सार्वजनिक गुठी अन्तरगत सञ्चालित रहेकोे छ । यी विद्यालयहरुमा १३,८६५ ( तेह्र हजार आठ सय पैसठ्ठी) विद्यार्थीहरु अध्ययनरत छन् भने स्थायी, अस्थायी, राहत तथा नगरपालिका अनुदान गरेर ३७६ जना शिक्षकहरु कार्यरत रहेको देखिन्छ । समग्र शिक्षक विद्यार्थीको अनुपातलाई हेर्दा सामुदायिक विद्यालयका एक शिक्षकको भागमा ३८ जना विद्यार्थी पर्न आउँछन् । तथापि कक्षा ६–८ सम्म झन्डै ८२ प्रति शिक्षक र ६–१० सम्म प्रति शिक्षक ६६ जना विद्यार्थी पर्न आउँछन् । निजी तथा संस्थागत विद्यालयको संख्या सामुदायिक विद्यालयभन्दा झन्डै दोब्बर रहेको छ । कोहलपुरमा रहेका ५६ ओटा निजी विद्यालयहरुमा १–१२ कक्षासम्म १५,३५० जना विद्यार्थीहरु अध्ययनरत रहेको पाइन्छ । प्लेरुप, नर्सरी, एल केजी र यु केजी अध्ययन गर्नेहरुको संख्या ७,५४६ रहेको तथ्यांकले देखाउँछ ।
कोहलपुरमा उच्च शिक्षा अध्ययनका लागि मुख्य क्याम्पस बागेश्वरी क्याम्पस हो भने अन्य क्याम्पसहरु पनि रहेका छन् । कोहलपुर मेडिकल कलेज, कोहलपुर नर्सिङ कलेज, न्यु वागेश्वरी, डायनामिक , कोहलपुर मोडल कलेज र गोर्खा युनाइटेड जस्ता शैक्षिक संस्थाहरुले उच्च शिक्षामा योगदान दिइरहेका छन् । यी कलेजहरुले टिकाऊ र बिकाऊ शिक्षामा कत्तिको योगदान दिएका छन् भन्ने कुराले पनि शैक्षिक हव बनाउनुमा महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी र संस्थाप्रति स्थानीय तह, शिक्षा शाखा र सरोकारवालाहरुको ध्यान के कति पुगेको छ भन्ने कुराले समेत अर्थ राख्दछ । कोहलपुरका कलेजहरुमा पढ्ने विद्यार्थीहरु टिकाउ र स्थानीय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्न सक्ने खालका हुन सके भने मात्रै बाहिरबाट विद्यार्थीहरु अध्धयनका लागि भित्रिने छन् जसको कारण शैक्षिक हवको आधारशीला तयार हुन पुग्ने छ ।

शिक्षाको क्षेत्रमा कोहलपुरमा निजी विद्यालयहरुको योगदानलाई नजर अन्दाज गर्न सकिँदैन तथापि स्थानीय तहको ध्यान सामुदायिक विद्यालयहरुमा बढी नै केन्द्रित हुनुपर्ने देखिन्छ । सामुदायिक विद्यालयहरु अहिले पनि अभावग्रस्त देखिन्छन् । विद्यालय व्यवस्थाको पक्ष कमजोर देखिन्छ भने पठन पाठनको संस्कृति पुरातन नै छ । दसकौंदेखि सीपमूलक शिक्षा, प्रबिधि मैत्री शिक्षा, टिकाउ र बिकाऊ शिक्षा भनेर प्रवचन दिने गरेको भए पनि हाम्रा शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना जस्ता भएका छन् । पछिल्लो समय कम्प्युटर नजानेको व्यक्तिलाई निरक्षर भन्ने परम्पराको सुरुवात भएको छ । यदि यो कुरालाई मान्ने हो भने हाम्रा सामुदायिक विद्यालयहरुमा झन्डै ५०% निरक्षर शिक्षकहरुले अध्यापन गराउँनुहुन्छ । यी शिक्षकहरुलाई योग्य र सक्षम नबनाउँदासम्म प्रविधिमैत्री शिक्षा प्राप्त हुन सक्ने सम्भावना नै छैन । त्यसैले कोहलपुर नगरपालिकाले शैक्षिक हव बनाउने नीति अगाडि सार्दै गर्दा शिक्षकहरुको पेशागत सक्षमताका लागि के कस्ता प्रयास गरेको छ भन्ने कुराले पनि अर्थ राख्दछ । शिक्षक योग्य र सक्षम नभएसम्म विद्यार्थी योग्य र सक्षम हुने कुरा नै हुदैन त्यसर्थ कोहलपुर नगरपालिकाले कोहलपुरलाई साच्चिकै शैक्षिक हव बनाउने अर्जुन दृष्टिकासाथ अगाडि बढेको हो भने तहगत र विषयगत शिक्षक नियुक्ति तथा दरबन्दी मिलान गरी शिक्षकहरुलाई योग्य र सक्षम बनाउने तर्फ क्रियाशील हुनै पर्ने देखिन्छ । हाम्रा सामुदायिक विद्यालयहरुमा विकृति र विसंगतिका अवशेषहरु कायमै छन् । हिजोदेखि आजसम्म राम्रालेभन्दा हाम्राले स्थान पाउने गरेका छन् ।

” राजनीतिक शक्तिका आडमा प्र.अ. मिलान, विषयगत मिलान तथा तहगत दरबन्दी मिलान ओझेलमा पर्ने गरेका छन् । कोहलपुरको हकमा यो बढीनै रहेको तथ्याङ्कलले देखाउँछ । कोहलपुरका १२ सामुदायिक विद्यालयहरु मध्ये तहगत प्रधानाध्यापकको संख्या कति छ ? प्रश्नको उत्तर भन्नै लाज लाग्ने खालको छ ।”

 

हुन त तल्लो तहका शिक्षक सबै असक्षम हुन्छन् त ? भन्ने प्रश्न खडा हुन सक्छ तर यस्तो प्रश्नले कुनै अर्थ राख्दैन । हाकिमभन्दा जतिसुकै सक्षम कार्यालय सहायक रहोस् उसलाई कार्यालय प्रमुखको कुर्चीमा बसेको सुहाउँदैन । विद्यालय मात्र त्यस्तो क्षेत्र हो जहाँ जो जसरी पनि बसेको देखिन्छ । यस्तो परम्परा नमिलाउँदासम्म विद्यालयका शिक्षक कर्मचारीहरु बीचमा कतै न कतै तुष रहेको हुन्छ । यो तुषको औषधि गर्न नगरपालिकाले आँट गर्न सक्नु पर्छ ।
शैक्षिक हव गफले बन्ने होइन । शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरिएको छ ।

यस्तो अवस्थामा कतिपय शैक्षिक नीति स्थानीय तहले नै बनाउन सक्छ । कार्य, त्याग र समर्पण महत्वपूर्ण कुरा हो । नीति निर्माण गरी तहगत प्र.अ. मिलान, विषयगत शिक्षक मिलान र विद्यालय तथा विद्यार्थी अनुसार शिक्षक दरबन्दी मिलान जस्ता काम गर्न के नगरपालिकाले आँट गर्ला ? शंका गर्ने ठाउँ प्रशस्त भेटिन्छ । कोहलपुर नगरपालिकामा १५ जना मा.वि.तहका दरबन्दीका शिक्षक रहँदा रहँदै पनि १२ मा.वि.मा प्र.अ. मिलान गर्ने आँट नगरेको नगरपालिकाले विषयगत, तहगत र विद्यालय र विद्यार्थी अनुसार दरबन्दी मिलान गर्ने आँट गर्ला भन्ने कल्पनासम्म पनि गर्न सकिदैन । शक्तिको आडमा पद र प्रतिष्ठा समातेर बसेकाहरुबाट त्याग र समर्पणको टुसा पलाउला नसोचे पनि भयो । तर नगरपालिकाले आँट गर्नुपर्छ ।

यस्तो पहल गर्दा धर्ती हल्लिन सक्छ, पहाड भत्किन सक्छ, दवाव र तनाव सहनु पर्ने हुन सक्छ, धम्की र घुर्कीले निद्रा बिथोलिन सक्छ । कोहलपुरलाई साँच्चिकै शैक्षिक हव बनाउने नै हो भने कुरा होइन काम गर्न खुट्टा कमाउँनु हुदैन । शिक्षक तथा कर्मचारीहरुमा त्याग र समर्पण प्रदर्शन गर्न सक्नु पर्दछ ।

“कोहलपुर शैक्षिक झलक”लाई अध्ययन गर्दा कोहलपुरलाई शैक्षिक हवमा लैजान कडा मिहिनेत गर्नु पर्ने देखिन्छ । गत शैक्षिक सत्र २०७६ बढीमा २५५ दिन र कम्तिमा २१३ दिन विद्यालय सञ्चालन भएको देखिन्छ । एउटै नगरपालिका भित्र ४२ दिन विद्यालय सञ्चालनमा फरक देखिनु राम्रो होइन । विद्यालयगत सिकाइ उपलब्धि, विषयगत सिकाइ उपलब्धि, तहगत सिकाइ उपलब्धि आदि पनि प्रशंसनीय देखिदैन । कोहलपुर शैक्षिक झलकमा दिएको तथ्यांकअनुसार गत शैक्षिक सत्रमा मात्रै विद्यालय छोड्ने विद्यार्थीको १२०६ देखिन्छ । त्यसैगरी कक्षा १२ का ५१ जना अपाङ्गता भएका विद्यार्थीहरुले विद्यालय छोडेको भेटिन्छ ।

हरेक विद्यालयमा थारु समुदायका विद्यार्थीहरुको बाहुल्यता रहेको भएपनि ११–१२ कक्षामा १५६ जना बिद्यार्थीको उपस्थिति रहनु आफैमा चिन्ताको विषय हो । शैक्षिक हवको कुरा गर्दै गर्दा थारु समुदायका दस कक्षासम्म पढेका विद्यार्थीहरु किन +२ मा भर्ना हुन सकेनन् खोजिको विषय बन्नु जरुरी छ । विद्यालय छोड्ने दर किन रोक्न सकिएन ? अपाङ्गहरु के कारणले विद्यालय अनुपस्थित हुने गरेका छन् ? एउटै नगरपालिकाभित्र विद्यालय सञ्चालनमा किन फरक देखियो ? प्रश्नहरुको सामाधान खोज्नु जरुरी छ ।

अतः मन, वचन र कर्मले कोहलपुरलाई शैक्षिक हव बनाउन चाहेकै हो भने नगरपालिकाले अलि बढी नै कसरत गर्नु पर्ने देखिन्छ । कुनै विद्यालयमा धेरै र कुनैमा थोरै त कुनैमा एउटा पनि दरबन्दी नदेखिएकोले यसलाई तुरुन्तै मिलाउनु पर्दछ । विषयगत, तहगत र शिक्षक विद्यार्थी अनुपातका आधारमा दरबन्दी मिलानमा खुट्टा कमाउनु हुदैन । शिक्षकहरुको पेशागत हक हित र सक्षमताका लागि पहल गर्नु पर्दछ । विद्यार्थीको प्रतिभा पहिचान गर्ने खालका अतिरिक्त कार्यक्रमहरु सञ्चालनमा जोड दिनु पर्दछ । हरेक मा वि हरुमा फरक फरक किसिमका प्राबिधिक धारका कक्षा सञ्चालन गर्न प्रोत्साहन गर्नु पर्ने देखिन्छ । सबै निजी विद्यालयमा एउटै किसिमको पोषाकको व्यवस्था गर्न लगाउनु पर्दछ । निजी विद्यालयमा पढ्ने विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गराउन सामुहिक प्याकेजहरु तयार गरी सहयोग गर्नु पर्दछ । निजी क्षेत्रको लगानी सुरक्षाको ग्यारेन्टी गर्दै निजी क्षेत्रलाई शिक्षाको मूलधारमा ल्याउन सकेमा शैक्षिक हव बनाउन सहयोग मिल्न सक्दछ ।

कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्रलाई शैक्षिक हवका रुपमा विकसित गर्ने महत्वपूर्ण उद्देश्य बोकेको छ । शिक्षा क्षेत्रमा प्रवेश गरेको ५९ वर्षको अवधिमा पहिलो पटक शिक्षा, युवा तथा खेलकुद शाखाले “कोहलपुरको शैक्षिक झलक” प्रकाशनमा ल्याएको छ । नगरपालिका तथा शिक्षा क्षेत्रमा काम गर्न चाहानेहरुका लागि यो पुस्तक मार्गदर्शन हुने देखिन्छ । पुस्तकभित्र समावेश गरिएका ४२ सूचकहरु हरेक दृष्टिकोणले महत्वपूर्ण छन् ।

यीनै सूचकहरुलाई आधार मानेर नगरपालिकाले काम गर्ने नै हो भने नगर शिक्षा, शिक्षक महासंघ, शिक्षक संघ संगठनका केन्द्रीयदेखि नगरस्तरका नेताहरु, शैक्षिक संघसंस्था एवम् प्रधानाध्यापकहरुको सहयोगमा यही लकडाउनको समयावधिभित्र परिवर्तनको खाका तयार गर्न सक्नु पर्दछ । गपैmमात्र गने हो भने त जहाँ र जहिले गर्दा पनि फरक पर्दैन । लकडाउनको समय सदुपयोग गरी महत्वपूर्ण सूचना सहितको पुस्तक तयार गर्ने कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख अनन्त कुमार पौडेल लगायत सिङ्गो टिमलाई बधाई छ

प्रकाशित मितिः आइतवार, साउन ४, २०७७     5:37:34 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *