9 August 2020  |   आइतवार, साउन २५, २०७७

विकासमा घुस, लुट र छुटको महाभारत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन ३, २०७७  

 दामोदर पौडेल

असार मसान्त आउन केही दिन बाँकी छ । मुलुकभरि असारे विकास, भ्रष्टाचार र घुसखोरीको लखनउ लुट चलिरहेको छ । विभिन्न रुप र शैलीको यो खेलका कतिपय दृष्टान्त यस्ता छन् । एक, प्रदेश सरकारको वजेटबाट भौतिक सुधारको काम भइरहेको थियो । निरिक्षणमा टोली आयो । टोलीका एकजना सदस्यले ‘काम त निकै राम्रो भएछ । हाम्रा योजनामा सबैभन्दा राम्रो काम भएछ । विल भरपाई लिएर छिटो आउनु होला ।’ मिठो बोलीको चास्नीमा लट्ठायाए पछि फर्कने बेलामा उनले सुटुक्क उपभोक्ता समितिका अध्यक्षलाई बोलाएर भनेछन्, ‘ज्वाँइ साहेवहरुलाई, टिकाटालो गर्नु पर्छ । अडिट खर्च मिलाउनु होला । नत्र चेक साट्न सकिन्न । ’

दुई, कोहलपुर नगरपालिकाले एउटा भौतिक पूर्वाधारको योजनामा रकम विनियोजन ग¥यो । माघ महिनामा स्टेमेट र कार्ययोजनाकोलागि संस्थाले निवेदन पेश ग¥यो । वाड अध्यक्षको सिफारिस सहित कार्ययोजना पेस भयो । अध्यक्षले उपभोक्ता समिति पनि बनाए । जेठ २५ गतेसम्म प्राविधिकलाई कार्य योजना अनुसारको स्टेमेट तयार गर्न हार गुहार गरियो । मेयरले निर्देशन गर्दा पनि ईन्जिनियरले टेर पुच्छर लगाएनन् । उपभोक्ता समितिका अध्यक्ष नगरपालिका धाइरहे । तर उनी व्यस्त भएको नाटक गरिरहे । बरु विनियोजित रकम कोरोनाको लागि रकामान्तर भएको भनी उनलाई निरास बनाए । असार ५ गते काम विशेषले नगरपालिकामा गएको समयमा उनको टेवलमा पुग्दा तपाईहरुको स्टेमेट बनेको जस्तो लागेको छ भने । १५ दिनमा काम सक्ने भए लैजानुस् भनेपछि एकछिन के गर्ने के नगर्ने ? भन्ने दोमन भयो । तर महत्वपूर्ण योजना थियो । काम गर्ने मनस्थिति बनाएर अध्यक्षले सम्झौता गर्ने आँट गरे । तर संझौतापछि स्टेमेट हेर्दा उनी आश्चर्यमा परे । घरमा आएर स्टेमेट पढेपछि उनले स्टेमेट अनुसारको काम गरे जोखिम र झारा टराइको काम हुने, जनताको तारो भइने देखपछि स्टेमेटमा बाहिर गई काम गरिरहेका छन् । हचुवाको भरमा नियतबस बनाएको स्टेमेट सच्चाउने समय थिएन । त्यसलाई सच्चाउन नगरपालिका भित्रका जनआवाज बुझ्ने कर्मचारी र मेयरलाई हार गुहार गरे । उनीहरुबाट सकारात्मक उत्तर पाएपछि स्टेमेट नसच्चाई पूर्वाधार निर्माण गरिरहेका उनी इन्जिनियरले समयमै कार्यसम्पन्नताको प्रतिवेदन नदिए दुःख पाइन्छ कि भन्ने त्रासमा काम गरिरहेका छन् ।

तीन, नगरपालिकाले ठेक्कामा दिएको कोनपा १२ मा पर्ने पूल निर्माण सम्पन्न भएको केही समयपछि खोलाले बगायो । एकजना फेसबुक प्रयोग कर्ताले व्यङ्ग्य गर्दै लेखे, ‘पुलको लागि वजेट विनियोजन गर्ने नगरपालिकाको के दोष, पूल नहुँदा स्थानीयले दुःख झेलेका थिए । त्यो देखेर वजेट विनियोजन भयो । ठेकेदारको ठेक्का पाए । काम गरे । उनको के दोष ? जनप्रतिनिधिको पनि दोष छैन । किनकि उकको काम योजना पार्ने हो योजना प¥यो । प्राविधिक र अनुगमन कर्ताको पनि दोष भएन । अनुगमन कर्ताको काम अनुगमन गर्ने हो । उनले गरे । प्राविधिकले स्टेमेट अनुसार भएकोले पास गरे । दोष चाँही खोलाकोे हो । त्यो त्यसरी वर्षातमा उर्लिएर नआएको भए पूल बग्दैनथ्यो ।’

चार,कोहलपुर नगर विकासले बनाइरहेका बसपार्क नजिकै नालीहरु बनेर काम सम्पन्न भइसक्यो । ठेकेदारले भुक्तानी हात पारी सके । तर बनाएको महिना नपुग्दै नाली नै पुरिनेगरी नाली भत्किसकेका छन् ।

माथि उल्लेखित पहिलो घटना घुससँग सम्बन्धित छ । गुणस्तरीय काम गरेपनि जबसम्म विल पास हुने ठाउँमा पैसा दिइन्न दुःख पाइन्छ भन्ने जानकारी हुन्छ । दोस्रो घटना प्राविधिक कर्मचारीको चरम लापवाहीसँग सम्बन्धित छ । उनीहरुले नियतवस काम गर्दैनन् । जनप्रतिनिधिहरुलाई पनि टेर्दैनन् । उनीहरुले चाहे भने अनेक बहाना गरेर दुःख दिन्छन् भन्ने देखिन्छ । तेस्रो घटना जनप्रतिनिधि, अनुगमनकर्ता, प्राविधिक, ठेकेदारको मिलोमतोसँग सम्बन्धित छ । चौथो गुणस्तरहिन विकाससँग सम्बन्धित छ । यी घटनाहरु विकास र सुसाशनका प्रतिनिधि घटना हुन् ।

गाउँ गाउँमा सिंहदरवार भित्रिएपछि सुदिन आउलान्, विकास र सुशासन होला भनेर सपना देखेका नगरवासी यतिवेला पूर्पुरोमा हात राखेर सोचिरहेका छन् । हामीले सोँचेको र चाहेको व्यवस्था यस्तै हो त ? किन व्यवस्था बदलिए तर कार्यशैली र नातावाद, कृपावाद, चाप्लुसी, भनसुन र मुखिया प्रवृति बदलिएन । पहेँलो, हरियो, रातो जस्तो व्यवस्था आएपनि किन हाम्रा दुर्दिनहरु अझै दुरुह बनिरहेका छन् ? नगरवासीले सोँचेका थिए, उनीहरुले कल्पना गरेको सिंहदरवारमा नियम सङ्गत काम हुनेछन् । कर्मचारीहरु जनताका मालिक होइन सेवक बनेर जनताको सेवा गर्ने छन् । जनप्रतिनिधि जनप्रतिनिधि जस्ता हुनेछन् । नातावाद, घुस, लुट र कमिसनको खेल समाप्त हुनेछ । गुणस्तरीय विकासका काम हुनेछन् । जनसरोकारका कामलाई प्राथमिकता दिनेछ ।

स्थानीय सरकार बनेपछि केही राम्रा काम पनि भएका छन् । सर्व साधारण जनताको लागि भोट हाल्न र छोरा छोरीलाई नेपाली वंशजको प्रमाण दिलाउन, कोरोना जस्ता महामारीमा र आगलागि, वाढी पहिरो आउँदा राहत लिन जीवनमा तीन पटक काम लाग्ने जिनिस नागरिकताको पट्टा बनाउन सिफारिस ल्याउन टाढा जानु पर्दैन । घर नजिकै वडा कार्यालय स्थापित भएका छन् । अति विपन्न समुदायभन्दा निम्न मध्यम र मध्यम वर्गका नगरवासीले पनि स्थानीय सिंहदरवारको भरपुर उपयोग गरेका छन् ।

वर्षातमा डोजर चलाएको रहेनछ र गाउँमा अलिबढी विचौलीया टाठा बाठा र सामाजिक चेत भएका मानिस रहेछन् भने चप्पल हातमा पक्डेर, हिलोमा लर्किदै टाउकासम्म कपडा फोहर पारेर हिड्न परेको छैन । धेरै सडक ग्राबेल भएका छन् । उपभोक्ता समितिका अध्यक्ष र सदस्य बनेर अर्को निर्वाचनको उम्मेदार बन्ने र डोर हाँजिरी फारममा कामदारको संङख्या बढाएर, दुईचार टिप्पर ग्राबेलको मात्रा बढाएर, डोजरको घण्टा बढाएर लेखापाल र ईन्जिनीयरसँग बात मिलाएर नुनतेलको जोहो गर्ने मौका पनि जुरेको छ । यो मौका पहिले सातैदलका मुखियाहरु चाहिने भएकोले अलि अप्ठारो थियो । अहिले सरलीकरण भई बढीमा दुईदलका मिले पुग्छ ।

सिंहदरवारको भरपुर फाइदा अधिकांस पार्र्टीका नगर र जिल्लाका अध्यक्ष साहेब, मेयर साहेव, उपमेयर साहेब, ठेकेदार साहेब, राजनीतिक विचौलीयाहरु, विचौलीया व्यापारीहरु, कार्यालयका लेखापाल साहेव, हाकिम साहेव, ईन्जिनीयर साहेव, हाकिमका पनि हाकिम साहेवका लागि फलिफाप सावित भएको छ । राजनीतिक शक्तिको चरम दुरुपयोग गरी विभिन्न ठेक्कापट्टा आफ्नालाई दिलाउने, उनीहरुलाई नितिगत छुटको व्यवस्थागरी प्राप्त लाभांसबाट ऐश्वर्य र संवृद्धि जोड्ने उनीहरुको दिनचर्या नाङ्गो आँखाले देखिने गरी छरपष्ट भएका छन् ।

सामन्तवादी व्यवस्थामा हुर्किएको साहेव प्रवृति गणतान्त्रिक व्यवस्थामा पनि मौलाइरहेको छ । भ्रष्टाचार गर्ने, घुस खाने, समयमा काम नगर्ने, आफ्नालाई छुट दिने जस्ता अतयन्तै असामाजिक कुराहरुलाई पनि हामीले सहज रुपमा ग्रहण गरिरहेका छौँ । त्यसको प्रतिवाद गर्न सक्दैनौँ । हाम्रा जीवनशैली र संस्कृति बनिरहेका छन् ।

जनप्रतिनिधिहरु हाम्रो मतले कुर्सीमा पुगेको कुरा भुल्छौँ । उसलाई हामीले सेवा गर्न पठाएको हो भन्ने भुल्छौ । इन्जिनियर कुनै साहेव होइन । ऊ अन्य कर्मचारीभन्दा अलग होइन, उसको काम प्राविधिक हो । सरकारले दिएको तलवबाट जीवन चलाउनु पर्छ भन्ने कुरा भुल्छौँ । जब उसले आफ्नो कर्तव्य भुल्छ । कर्मचारी र लेखापालहरु जनताको करबाट , देशलाई तिरेको राजश्वबाट जागिर खाएका हुन् भन्ने चेतना हामीमा आउँदैन तबसम्म केही सामाजिक परिवर्तनको आशा गर्न सकिन्न । लुटको यो महाभारत टुलुटुलु हेरिरहन बाहेक केही गर्न सक्ने छैनौँ ।

प्रकाशित मितिः शनिबार, साउन ३, २०७७     6:14:06 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *