25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

सम्पादकिय : विकासको गति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार २६, २०७७  

बाँकेको सबैभन्दा विकट मानिने नरैनापुर गाउँपालिकाले विस्तारै विकासमा फन्को मार्दैछ । केही समयअघि नरैनापुरलाई सुगम जिल्लाको कर्णालीको उपमा दिने गरिन्थ्यो । त्यहाँ नेपाली पैसा होइन भारतीय पैसामा कारोबार हुन्थ्यो । नेपाली टेलिफोनको भर होइन भारतीय सीम प्रयोग गरेर फोन गर्नुपर्ने बाध्यता थियो । अझ भन्नुपर्दा हर कुरामा त्यहाँका नागरिकहरु भारतमा निर्भर परेका थिए । अहिले ती सबै कुराहरु परिवर्तन भइसकेका छन् । जिल्लाको पुर्वी क्षेत्रमा रहेको यस गाउँपालिकामा अहिले धमाधम विकास निर्माणका कामहरु भइरहेका छन् । अझ पछिल्लो समय कोरोनाको हटस्पट बनेको पालिका समेत हो । अहिलेसम्म यहाँका १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १ सय १७ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् भने एक युवाको क्वारेन्टिनमा मृत्यु भयो । सबै कुराले ठगिएको नरैनापुरका कोरोना संक्रमितहरु समयमै आइसोलेसन सेन्टरसम्म पुग्न पाइनन् ।

उनीहरुलाई राख्नको लागि आइसोलेसन बनाइएका क्षेत्रका मानिसहरुले उनीलाई त्यहाँ राख्न नदिने भन्दै आन्दोलन समेत गरे । कोरोना पुष्टि भएको ४० घण्टासम्म पनी संक्रमितहरु क्वारेन्टिनमा बस्न बाध्य भए । यतीसम्म की कोहलपुर लगायतका केही मानिसहरुले दुखको बेला मानवियतासम्म देखाएनन् । त्यतीबेला नरैनापुरमा नै आइसोलेसन सेन्टर बनाउने निर्णय गरिएकाले बिजुली बत्ति लगायतका पुर्वाधार नभएकाले त्यो सम्भव भएन । अहिले भने कोरोना कहरकै बीच नरैनापुरमा विकास सम्भावनाहरु देखिएका छन् । भारतीय सीमासम्मै केही दिनअघि पक्की सडक र बिजुली पुगेको छ ।

स्वास्थ्य केन्द्रमा चिकित्सक पुगेर नियमित सेवा शुरु भइसकेको छ । मुख्य सडकबाट गाउँ गाउँमा लाइन विस्तार धमाधम भइरहेको छ । केही दिनमा नै नरैनापुरमा नै सर्पदंश उपचार केन्द्रको स्थापना गरिदैछ । अब सर्पदंशका बिरामीको उपचार सोही ठाउँमा नै भए विगतका वर्षहरुमा जस्तो मानिसहरुले अकालमा ज्यान गुमाउनुपर्ने छैन । अब कोरोनाको हटस्पट बनेको नरैनापुरमा विकासले गति पक्कै पनि लिइसकेको छ । यसको श्रेय त्यहाँबाट निर्वाचित प्रदेश सांसद, स्थानीय जनप्रतिनिधी, सुरक्षा निकाय, सरकारी अधिकारी, राजनितिक दल र स्थानीयबासीहरुलाई दिदा फरक पर्दैन । अझै पनि यहाँको विकासको लागि जनप्रतिनिधीहरुले पहल कदम लिन कुनै कम गर्नुहुँदैन ।

प्रकाशित मितिः शुक्रबार, असार २६, २०७७     9:03:10 AM  |