20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

हाम्रो स्वाभिमान पुनःस्थापन गर्न संघर्ष गरौं ।

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार २२, २०७७  


– गौरीलाल कार्की
विश्वमा नेपाल र नेपाली स्वाभिमानी भनेर चिनिन्छ्न् । यो हाम्रा पुर्खाहरुले कमाएको गौरव गाथा हो । तर मलाई लाग्छ, क्रमशः हाम्रो स्वाभिमानमा थुप्रै प्रश्न चिन्ह पनि खडा भएका छन् । हामीले हाम्रो स्वाभिमान प्रचारप्रसार भए जसरी कायम राख्न सकेका छैनौं । अहिले हाम्रो स्वाभिमान राष्ट्रिय गितमा सीमित भएको छ तर व्यवहारमा देश दलाल र गुलामको अखाडा भएको छ । हामीले हाम्रो स्वाभिमान बचाउन सकेनौं । अब त्यसलाई पुनः स्थापना गर्न जरुरी छ ।

ब्रिटिस साम्राज्यवादले नेपालमाथि आक्रमण ग¥यो । नेपाली सपूत आफ्नो स्वाभिमान जोगाउन लडे । स्वाभिमान जोगाए । नेपालीको साहस देखेर अत्याधुनिक हातहतियार सुसज्जित ब्रिटिस सेना हायल कायल भयो । सन् १८१४ मा त्यो साम्राज्यवादी आक्रमण निर्णायक लडाइँमा बदलियो । सन् १८१५ मा युद्ध बिराम गर्ने मलौन सन्धिमा ब्रिटिस उपनिवेशी शासकले आफ्नो सेनामा सेवा गर्न पाइने प्रावधान राख्यो । अक्टरलोनीले अमरसिंह थापालाई ब्रिटिस उपनिवेशको सेनामा प्रवेश गर्न अनुरोध ग¥यो, अमरसिंह थापा रोए । उनले भनेका थिए, “म बाघको डमरू हुँ, मलाई सिनो खाने कुकुर नसम्झ ।“ उनलाई त्यो प्रावधानले नेपालको स्वाभिमान झुकेको महसुस भयो । उनले त्यो अनुरोध अस्वीकार गरे । तर आज नेपाली समाजले उनको त्यो भावना बुझेको छैन । ब्रिटिस सेनामा जानु गौरवको विषय ठान्छ । पछि सन् १८१६ को सुगौली सन्धिमा नेपालको जमिन पनि खोसियो ।

नेपालमा ब्रिटिस प्रतिनिधि बस्ने व्यवस्था भयो । उसको काम नेपालमा शासकहरुमा विभाजन ल्याउने र सत्ता बिद्रोह गराउनु थियो । भिमसेन थापा, फत्तेजङ्ग, माथवर सिंह, गगन सिंह मारिए । राणा शासकले अंग्रेजको गुलामी गरे । यहाँ जङ्ग बहादुर राणालाई राष्ट्रवादी देख्नेहरु पनि छन् । उनीहरुले बुझ्नु आवश्यक छ की उनी साम्राज्यवादको पक्षमा भारतीय जनताको बिद्रोह दबाउन आफै सेना लिएर भारत गए । तर पनि उपनिबेशी शासकको सहयोगमा उनको वंश नास गरिदिए । १८८६ मा वीर शमशेरले नेपाली युवा ब्रिटेस सेनामा बेच्ने सनद जारी गरे । उनको पालामा ब्रिटिस सेनामा नेपाली युवा भर्ती हुने व्यवस्था भयो । देव शमशेरले हरेक नेपाली युवा ब्रिटिसको सेवा गर्न जानू भन्ने हुकुम समेत जारी गरे । चन्द्र शमशेरले पनि हामी तपाईहरुको सेवामा उपस्थित छौं भनी बेलाएतको गुलामीमा निरन्तरता दिए । बेलायती सेनाको रूपमा पहिलो बिश्वयुद्धमा ८६ हजार नेपाली युद्धमा मरे । दोस्रो बिश्वयुद्धमा १ लाख ९ हजार नेपाली मरे ।

सन १९५० मा पद्म शमशेरले भारतसङ्ग सन्धी गरे । नेपालको मन्त्रीपरिषदमा भारतीय सचिब आए । नेपालमा भारतीय सेना आयो । त्यसबेला देखि नेपालको हरेक कुरा दिल्लीले निर्देश गर्न थाल्यो । त्यसको असर अहिलेसम्म पनि छ । नेपाल अर्ध उपनिवेशको शिकार भैरहेको छ । पश्चिमि साम्राज्यवादी शक्ति नेपालको विभाजनको खेल खेल्न थाल्यो । सन १९५६ मा सिल भन्ने बिदेशी संस्था आयो । यसले नेपालको भाषा समाप्त गर्ने खेल खेल्न थाल्यो । साथै सिआइएले खम्पा बिद्रोहका लागि नेपालको भूमि प्रयोग गरेको थियो । २०२८ सालमा नयाँ शिक्षाका नाममा नेपालको इतिहास, पहिचान र सबै मौलिकता समाप्त पार्ने अर्को षड्यन्त्र भयो ।

२०४७ पछि नवउदारवादका नाममा देशको उद्योग र व्यापार विदेशीका हातमा सुम्पिने काम भयो । देशका राजनीतिक दलहरु एनजीओ र आइएनजीओले चलाए । विदेशीको गुलामी गरेर सत्ता प्राप्त गर्ने खेल शुरु भए । देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई छिन्नभिन्न पार्न संघीयता भित्र्याउने काम भयो । जातीयता, क्षेत्रीयताका मुद्दाले ठाउँ पाए । मधेश फुटाउन राष्ट्रिय पार्टी छोडेर क्षेत्रीय पार्टी बने । कम्युनिस्ट र काँग्रेसले आफ्ना विचारधारालाई क्रमशः तिलान्जली दिए । राजनीति सत्तामा पुग्ने र व्यक्तिगत सम्पत्ति कमाउने थलो बन्यो । सत्ता रसस्वादनको लागि पटकपटक सरकार फेरबदल र सांसद खरिदबिक्री भए । तैपनि केहि राजनीतिक परिवर्तन त भयो तर नैतिकता र कार्यशैली परिवर्तन हुन सकेन । त्यो झन्झन् गिर्दै गयो । भ्रष्टाचार झन्झन् बढ्यो ।

अमरसिंह थापाको भावना कुल्चेर हाम्रा नेता र कर्मचारी बेलायतसँग दुइसय वर्षको इतिहास छ भन्छन् । अझ गोर्खा भर्ती जस्तो अपमानको पर्यायलाई नेपाल र बेलायतको कुटनितिको सांघु भन्ने गर्छन् । अपमानित भएको भान पनि छैन । सन् १९४७ मा भारत स्वतन्त्र भयो, तर उसले नेपालमाथि गर्ने व्यवहार उपनिवेशको भन्दा फरक थिएन । बीपीलाई धोका दिएर आपूm प्रधानमन्त्री हुन मात्रृका कोइराला दिल्ली पुगेको इतिहास हामी सङ्ग छ । स्वाभिमान हामीले बेच्यौं । क्युबामाथि अमेरिकाले के के अत्याचार गरेन । तर क्युबालीले शिर पनि झुकाएनन्, स्वाभिमान पनि बेचेनन् । उनीहरुले आफूलाई उन्नत बनाए । शिक्षालाई आधुनिक बनाए । विज्ञानलाई उन्नत बनाए । नागरिकले देशको अस्तित्वलाई नै आफ्नो अस्तित्व बनाए । क्युबालाई अमरिकाले दमन गर्न सकेन । क्युबाको जस्तो कठिन अवस्था हाम्रो होइन । तर हाम्रा नेता भनिने, राजा भनिने, र जनता भनिनेले आत्मा नै बेचिदिए ।

यस्तै परिपाटीको कारण आज पनि देश गरिब छ । विभेद छ । आज पनि गरिबले खान पाँउदैन । शिक्षा ब्यापार भएको छ । स्वास्थ ब्यापार भएको छ । आज पनि हाम्रा नागरिक विदेशीका सेनामा काम गर्छ्न् । देशमा रोजगारको व्यवस्था नहुँदा नेपाली युवा विदेशमा सस्तो मुल्यमा श्रम बेच्न बाध्य छ । हाम्रो देशको जमिन बाँझो छ । सिमानाभित्र बिदेशी सेना सडक खन्ने र देशको कानुनभन्दा अमेरिकी संस्थाको नियम ठूलो हुने सम्झौता हुन्छ ।

वास्तवमा देश अपमानित छ । राजनीति गणतन्त्र आए पनि नेतृत्व फेरिएन । देशको राजनीति केही मानिसका लागि प्रधानमन्त्री बन्ने खेल मात्र बन्यो । देशको यस अपमानित हैसियतभित्र अहिले पनि सामन्तवादी चिन्तन यथावत छ । जबसम्म देशको स्वाभिमान स्थापित हुँदैन तबसम्म विदेशीका हस्तक्षेप रोकिदैनन् । अब नेपालीले स्वाभिमानको पाठ सिक्नु आवश्यक छ । नेपाली युवा भारत र बेलायतको सेनामा भर्ना हुन अहिले पनि कुद्छन् । खाडीमा श्रम गर्छन् तर आफ्नो खेत र बारीमा उन्नत खेती गर्ने सीप सिक्ने जाँगर छैन । लाहुरे संस्कृति राष्ट्रको अपमानका रुपमा हुर्केको छ । जबसम्म आफ्नो स्वाभिमानको अपमान भएको महसुस गर्न सकिन्न अरुले हेप्छन् । त्यसैले भारतले हाम्रो भूमिमा आफू खुस गर्छ ।

नेपाली समाजको मानसिकता बदल्नु जरुरी छ । यहाँ देशका वकिल विदेशीको गुलामी गर्छन् । विदेशीले पैसा दियो भने देशको अस्तित्वकै विरुद्ध तर्क दिन तयार छन् । उनीहरु विदेशीका लागि जासुसी गर्ने संस्थालाई सहयोग समेत गर्न तयार हुन्छन् । देशका कतिपय पत्रकार विदेशीका पैसा लिएर देशका विरुद्ध लेख्न तयार छन् । त्यस्ताका पछाडी नेता लाग्छन् । देशका इन्जिनियर सीमानामा पिलर राख्दा आफ्नो भूमी त्याग्न तयार छन् । देशका कर्मचारी राष्ट्रघात गरेर विदेशीको गुलामी गर्न तयार छन् । देशका नेता आफू मन्त्री हुन विदेशीका पाउमा शीर राख्न तयार छन् । देशका जनता चौकिदारी र सिपाहीका लागि परिवार र खेत त्याग्न तयार छन् । यी सबै हाम्रो स्वाभिमानको विरुद्धका प्रवृत्ति हुन् । यस्ता प्रवृत्तिले हामी अपमानित राष्ट्रका नागरिक भएका छौं । राष्ट्र परनिर्भर र कमजोर भए पछि यस्तै हुन्छ । यो सबै दलाल तथा नोकरशाही प्रणालीको उपज हो ।

हिटलरले आक्रमण गर्दा रसियामा पचास लाख मानिसले सिपाहीका रुपमा निसंकोच ज्यान दिए । चीनमा आफ्नो स्वतन्त्रता लागि कतिले ज्यान दिए सबैलाई थाह छ । किनकि उनीहरुलाई राष्ट्र अपमानित हुँदा पोल्यो । हामीलाई राष्ट्रको अपमान हुँदा पीडा हुँदैन, हामीलाई पीडा डिभी नपर्दा, विदेशी सेनामा भर्ती हुन नपाउँदा, र अरबमा शोषण हुन जान नपाउँदा हुन्छ । हाम्रोमा नेता जति सबैलाई प्रधानमन्त्री हुने धोको रहन्छ । कसैलाई त एक दर्जन पटक प्रधानमन्त्री हुन मन छ । मसँग प्रधानमन्त्री हुने के क्षमता छ भन्ने सोच्न उनीहरु तयार छैनन् । हाम्रा नेता जनताका संरक्षक हुन चाहँदैनन् । उनीहरु जनताका मालिक माननीय हुन चाहन्छन् । उनीहरुलाई आफ्नो विचारको माया लाग्दैन । उनीहरुलाई घुस दिने माफियाको बढी माया लाग्छ । राष्ट्रघातीहरु प्रती रिस उठ्दैन बरु देशलाई माया गर्नेप्रति रिस उठ्छ । लुट्नेहरु आफ्ना बनाउछन्, आफ्नो स्वाभिमान बचाउन खोज्नेहरु पराइ हुन्छन् । केही मानिस राजनितिका नाममा छलकपट मात्र गर्छन् ।

यो दलाल तथा नोकरशाहीहरुको व्यवस्था हो । यसमा देशका कानुन विदेशीका लागि बन्छन् । सन्धि र सम्झौता विदेशी हितका लागि हुन्छन् । हाम्रो दराजका कागजपत्र बिदेशीले निकालेर लैजान्छन् । देशको नक्सा फेरिन्छ । विदेशमा राजदूतहरु सेवाबापत पेन्सन खान जान्छन् तर राष्ट्रको रक्षाका लागि होइन । विदेशीले मन पराएका मानिस आयोग र कार्यदलमा रहन्छन् । त्यसैले विदेशीले हामीलाई अपमान गरिरहन्छन् । उनीहरु हामीलाई राष्ट्र नै मान्दैनन् । त्यसैले हेप्ने आँट गर्छन् । हाम्रो आफ्नै चीज हामीसँग छैन । हाम्रा कागज ब्रिटिस म्युजियममा छन् । हामीसँग हाम्रै सन्धी छैनन् । हामीले गुगलबाट नक्सा प्रिन्ट गरेका छौँ । हामीसँग तर्क होइन गाली गलौज मात्रै छ । देशको बौद्धिकता माथि जबर्जस्त दमन गरिएको छ । दोग्ला मानिस विज्ञ बनाइएका छन् ।

हामीले हाम्रो स्वाभिमान पुनःस्थापन गर्न संघर्ष गर्नुपर्छ । हाम्रा वीर पुर्खाले आर्जेको स्वाभिमान हरेक व्यक्तिमा पु¥याउन आवश्यक छ । हाम्रो इतिहासको बध गर्नेहरुको खोजी हुनुपर्छ । हाम्रा नदिनाला, माटो र सीमाना बेच्ने, हाम्रा नक्सा बदल्ने, राष्ट्रघाती सन्धि सम्झौता गर्ने र विदेशी एजेन्सीका लागि काम गर्ने दलालहरुको नकाब खोल्नु पर्छ । शिक्षा र स्वास्थ्यमा कमिसन खाने, विदेशीलाई नागरिकता बेच्ने र देशको उत्पादन र अर्थतन्त्र समाप्त गर्नेहरुको खोजी गर्नु आवश्यक छ । हामीले हाम्रो स्वाभिमानका लागि आत्मनिर्भर बन्न सिक्नुपर्छ । हामीसँग श्रोतको कमि छैन । सहि नीति तर्जुमा, योजना र जाँगरको कमि छ । अब युवा विदेश पलायन हुने होइन । जे सकिन्छ आफ्नै भूमिमा गर्नुपर्छ । अब हाम्रो स्वाभिमानको पुनः स्थापन गरौं । त्यसको लागि अब नेपालको अपमान समाप्त गर्ने आन्दोलन गर्नुको विकल्प छैन । अब देश कसैको कठपुतली हुनु हुँदैन । अनिमात्र स्वाभिमानको संरक्षण र सम्वर्दधन गर्न सकिन्छ ।

प्रकाशित मितिः सोमवार, असार २२, २०७७     8:27:26 AM  |