19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

‘निस्वार्थ र निष्पक्ष सेवा गरिरहेका छौँ’

यानबी साहु
प्रकाशित मितिः सोमवार, असार २२, २०७७  

रेडक्रस हरेक विपद्को समयमा अग्रपंक्तिमा खटिने संस्था हो । मानविय सेवा नै यसको मुख्य धर्म हो । यसले बाढी, पहिरो, आगलागी, डुवान, लगायतका महामारीका कारण समस्यामा परेका मानिसहरुलाई निस्वार्थ र निष्पक्ष रुपमा उद्धार तथा राहत प्रदान गर्दै आइरहेको छ । कुनै कसैलाई पक्ष विपक्ष नगरि रेडक्रसको नीति नियम र मापदण्डअनुसार निस्वार्थ काम गर्दै आइरहेकोले पनि मानिसहरुको रेडक्रसप्रति विश्वास बढेको पाइन्छ । अहिले कोरोना महामारीका बीच पनि निरन्तर मानविय सेवामा लागिरहेको पाइन्छ । रेडक्रसले विभिन्न ठाउँमा रहेका आफ्ना स्वयंसेवकहरु परिचालन गरेर विपद्मा परेकाहरुको उद्धार गर्दै आइरहेको छ । यसै सन्दर्भमा नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखाले विपद्को समयमा यहाँका नागरिकहरुका लागि के कस्ता कार्यहरु गर्दै आएको छ भनेर कोहलपुर उपशाखाका सभापति नारायण प्रसाद गौडेलसँग मिसनकर्मी यानबी साहुले गरेको कुराकानी ।

१. कोहलपुरमा रेडक्रसको स्थापना किन गरियो ?

कुनै पनि संघ–संस्था स्थापना हुनु सबैका आ–आफ्नै उद्देश्यहरु हुन्छन् । त्यसरी नै रेडक्रस पनि आफ्नो छुट्टै लक्ष्य र उद्देश्य लिएर स्थापना भएको थियो, त्यो हो मानविय सहयोग गर्नु । विपत्तिमा परेका मानिसहरुलाई सहयोग गर्नु यसको मुख्य उद्देश्य हो । यसरी विपत्तिमा परेका व्यक्तिहरुको सहयोग गर्न वि.सं.२०६१ असार ११ गते कोहलपुरमा रेडक्रसको स्थापना भयो । त्यतिबेला स्थानीय सरकार थिएन । सशस्त्र द्वन्द्वको अवस्था थियो । त्यो द्वन्द्वका कारण राज्य र विद्रोही पक्षबाट पीडित यहाँका व्यक्तिहरुको सहयोग गर्ने काम गरियो । उनीहरुको गास, बास र कपासको लागि करिव ४÷५ कोहलपुरको किरणनाला नजिकै ठूलो क्याम्प सञ्चालन गर्नु परेको थियो । यसरी रेडक्रस दुःख र पीडामा परेका व्यक्तिहरुलाई निस्वार्थ सहयोग गर्नका लागि स्थापना भएको संस्था हो । तत्कालिन समयमा पनि यसले राज्य र विद्रोही दुबै पक्षबाट पीडित व्यक्तिहरुलाई सहयोग ग¥यो भने अहिले पनि विभिन्न विपतका कारण पीडित व्यक्तिहरुको लागि सहयोग र उद्धार गर्दै आइरहेको छ । जुनसुकै विपदमा रहेका व्यक्तिहरुलाई सहयोग गर्नु रेडक्रसको धर्म हो ।

२. नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाले अहिले के कस्ता कार्यहरु गर्दै आइरहेको छ ?

अहिलेको वर्तमान अवस्थामा विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण देशमा जुन संकट उत्पन्न भएको छ । त्यसको लागि नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखाले सुरु सुरुको समयमा आफ्ना तीन वटै एम्बुलेन्स मार्फत कोरोना सम्वन्धी सचेतनामूलक जिङ्गल बनाएर प्रचार प्रसार ग¥यो । त्यसका साथै विभिन्न सञ्चार माध्यमहरु रेडियो, पत्रपत्रिकाबाट पनि सूचना तथा जिङ्गलहरु प्रचार प्रसार गरेका छौँ, भने पछिल्लो समय कोहलपुर नगरपालिकाका विभिन्न वडाहरुमा स्थापना गरिएका क्वारेन्टिनमा सरसफाइ सम्वन्धी किटहरु मास्क, सावुन, ब्रस, मन्जन लगायतका सामग्रीहरुका साथै महिला दिदी बहिनीहरुका लागि पनि डायनामिक किटहरु उपलब्ध गराएका छौँ । कोरोना महामारीका बीच एम्बुलेन्स सेवालाई पनि निरन्तरता दिइरहेका छौँ । नगरपालिकाभित्रका कुनै व्यक्तिमा कोरोना पोजेटिभ देखिएको खण्डमा सहज होस् भनेर नगरपालिकालाई एउटा एम्बुलेन्स उपलब्ध गराएका छौँ । अन्य दुई वटा एम्बुलेन्स पनि निरन्तर सेवामा लागिरहेका छन् भने रेडक्रसका कर्मचारीहरु पनि जहाँ जोखिम छ, त्यहाँ आफू सुरक्षित रहेर जोखिम कसरी न्युनिकरण गर्न सकिन्छ भनेर लागिरहनु भएको छ । यसले गर्दा कोहलपुर शाखाको तर्फबाट गर्नुपर्ने कामहरु सन्तोषजनक रुपमा नै गरिरहेको अवस्था छ ।

३. हरेक विपतमा रेडक्रसले मानवीय सहायता उपलब्ध गराउँदै आएको छ । यसको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?

हामीले हरेक विपद्मा परेका मानिसहरुलाई सहयोग गर्दै आएका छौँ । यसको मुख्य व्यवस्थापन भनेको नै दाताहरुबाट हो । हामीसँग आर्थिक एकदमै न्युन हुन्छ । तर पनि विभिन्न व्यक्ति तथा संघ–संस्था, व्यापारी, वुद्धिजिवी, सहयोगी दाताहरुबाट उपलब्ध भएको राहत पारदर्शी तरिकाले वितरण गर्ने गर्दछौँ । त्यसका साथै जिल्ला शाखा र अन्य दाताहरुबाट पनि सहयोग हुन्छ । पहिले स्थानीय सरकार नहुँदा हाम्रो स्रोतहरु धेरै हुन्थ्यो भने अहिले राहत वितरण लगायतका कामहरु स्थानीय तहबाटै हुने गरेको छ । तर पनि हामीले स्थानीय सरकारसँग सहकार्य गरेर हाम्रा स्वयंसेवकहरु खटाएका छौँ । नगरपालिकाका सबै वडाहरुमा स्वयंसेवकहरु परिचालन पनि गरेका छौँ । जुटेको सहयोग पनि क–कसले उपलब्ध गराएको उनीहरुको विवरण पत्रपत्रिका, सामाजिक सञ्जाल मार्फत प्रकाशित गर्ने गरेका छौँ ।

४. कोरोना कहरका कारण समस्यामा परेका नागरिकहरुका लागि के कस्ता सहयोग गर्नुभयो ?

बाँकेमा कोरोनाको महामारी सुरु भएदेखि नै सर्वप्रथम हामीले विभिन्न सञ्चार माध्यमबाट जनचेतनामूलक जिङ्गगलहरु प्रचार प्रसार ग¥यौँ । अनि त्यसपछि कोहलपुर नगरपालिकामा स्थापना गरिएका सबै क्वारेन्टिनहरुमा सरसफाइसम्वन्धी किट लगायत अन्य ठाउँहरुमा झुलहरु पनि वितरण गरियो । त्यसैगरी एकदमै विपन्न नागरिक जो छाक टार्न मुस्किल परेका हुनुहन्थ्यो, उहाँहरुलाई खाद्यान्न समेत वितरण गरिएको थियो । यसमा के छ भने राज्यले गर्न नसकेको कुरा हामीले गर्न सक्ने कुरा पनि भएन । तर त्यसमा हाम्रो स्रोत साधनले भ्याएसम्म सबै ठाउँमा निस्वार्थ र निष्पक्ष सहयोग गरेका छौँ ।

५. राहत वितरणलार्ई निष्पक्ष र प्रभावकारी बनाउँन के कस्ता मापदण्डमा आधारित रहेर काम गर्नु हुन्छ ?

रेडक्रस जुनसुकै प्रकोप वा विपद् आउँदा पनि उद्धार तथा राहत वितरणमा अग्रपंक्तिमा नै देखिने गरेको छ । राहत वितरण गर्दा अरुले औँला ठड्याउने गरेर वितरण गर्दैनौँ । हाम्रो एउटा मापदण्ड हुन्छ । नीति नियम हुन्छ । त्यो नीति नियम र मापदण्डमा परेकालाई हामीले राहत दिने गरेका छौँ, र त्यसको सर्वे पनि गरिने भएको हुनाले निष्पक्ष र निस्वार्थ रुपमा नै छ । म रेडक्रसमा आएको १६ वर्ष भयो अहिलेसम्म त्यस्तो कुनै वादविवाद, अनियमितता भएको अवस्था छैन ।

६. कोरोनाको संक्रमण बढ्दै गएमा विपन्न नागरिकहरुका लागि झनै मुस्किल अवस्था सिर्जना हुन सक्छ । त्यसको लागि आगामी योजनाहरु के छन् ?

अहिलेको यो कोरोनाको माहामारी छिट्टै कम हुने स्थिति देखिदैन । यसले महामारीको रुप पनि लिन सक्छ । अझै केहि महिना यसको संक्रमण लम्बिन सक्ने
देखिन्छ । यसलाई नै लक्षित गरेर हामीले कोहलपुर नगरपालिकाका क्वारेन्टिनहरुमा के अभाव वा असुविधा छ ? केलाई बढी फोकस गर्नु पर्छ भनेर नै कार्यक्रम बनाउँछौँ । विगतमा हामीले क्वारेन्टिनको अवलोकन गर्दा स्वास्थ्य सुरक्षा सामग्रीहरु मास्क, सेनिटाईजर, साबुन, मन्जन, ब्रस जस्ता सामग्रीको अभाव देखिएपछि त्यस्तो खालको कार्यक्रम ल्यायौँ । त्यसैगरी नै अब पनि हामीले हरेक हप्ता क्वारेन्टिनहरुको अनलोकन गर्छौँ । जुन कुराको अभाव देखिन्छ त्यसको व्यवस्था गरेर क्वारेन्टिनमा रहेका नागरिकहरुलाई वितरण गर्छौँ ।

७. वर्षातको समयमा बाँके जिल्लामा बाढी र डुवान जोखिम एकदमै हुने गर्दछ ? त्यसको व्यवस्थापनमा रेडक्रसको भुमिका कस्तो रहन्छ ?

हरेक विपद्हरुमा रेडक्रसको भूमिका अग्रपंक्तिमा नै हुने गरेको थियो । तर अहिले स्थानीय सरकार आइसकेपछि विपद् व्यवस्थापन समिति बनाएको छ । केहि दिन अघि मात्रै नगरपालिकामा समितिको बैठक बसेको थियो । त्यो बैठक मार्फत विपद्को बेला आवश्यक पर्ने सामग्रीहरु कोहलपुर नगरपालिकाले खरिद गर्ने निर्णय गरेको छ । खाद्यान्न तत्काल खरिद गर्न सकिने अवस्था रहेकोले अहिले नै खरिद गर्ने र अन्य सामग्रीहरु पनि डेढ सय सेट किनेर मौज्दात राख्ने भन्ने कुरा भएको छ । म्याट र कमलहरु हामीसँग मौज्दात नै छ । बाढी तथा डुवानबाट यहाँका नागरिकहरुका लागि स्थानीय सरकार, रेडक्रस लगायत सरोकारवाला निकायहरुले तयारी गरिसकेको अवस्था छ ।

८. रेडक्रसले बाढी, डुवान लगायत अन्य विपदका बारेमा कस्ता खालका सचेतना, पूर्व जानकारी, सर्तकता अपनाउने खालका कार्यक्रमहरु गर्ने गरेको
छ ?

हामीले हाम्रा स्वयंसेवकहरुबाट विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने गरेका छौँ । विगतका वर्षहरु जस्तै यो वर्ष पनि मनसुन सुरु भएदेखि नै नगरपालिकाका सबै वडाहरुमा रहेका स्वयंसेवकहरुबाट बाढी र डुवानको बढि जोखिम रहेको क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरेका छौँ । कोहलपुर शाखा अन्तर्गत पर्ने बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाका सबै वडाहरुमा सचेतना अभिवृद्धि गर्न स्वयंसेवकहरु परिचालन गरिएको छ ।

९. बाढी र डुबानका कारण समस्यामा परेका नागरिकहरुका लागि रेडक्रसले कस्ता खालका राहत र उद्धारका कार्यहरु गर्छ ?

बाढी र डुबानमा परेका नागरिकलाई सबै भन्दा पहिले उद्धार गरेर सुरक्षित ठाउँमा राख्ने काम गरिन्छ । स्थानीय सरकार, रेडक्रस, नेपाल प्रहरी, सशस्त्र प्रहरी रहेको विपद् व्यवस्थापन समितिले उनीहरुलाई डुबान तथा बाढी आएको ठाउँबाट एम्बुलेन्स वा अन्य विभिन्न माध्यमबाट उद्धार गर्ने गरेको छ । त्यसपछि सुरक्षित ठाउँमा राखिसकेपछि उनीहरुलाई खानाको लागि ड्राईफूडहरु चिउरा, भुजा, नमकिन, चाउचाउ जस्ता कुराहरु दिन्छौँ । त्यसका साथै अहिले स्थानीय सकार भएकाले उनीहरुको व्यवस्थापनमा स्थानीय सरकारले व्यवस्थापन गरिरहेको छ ।

१०. रेडक्रसले गर्ने वार्षिक गतिविधिहरुका बारेमा जानकारी गराइदिनु होस् न ?

रेडक्रसले वार्षिक रुपमा गतिविधि सञ्चालन गर्ने गरेको छ । जस्तै : रेडक्रसका विभिन्न गतिविधिहरु सञ्चालन गर्ने, जुनियर सर्कलहरु गठन गर्ने, समूहहरु गठन गर्ने, विभिन्न सामाजिक कार्यहरुमा संलग्न सहने कार्यहरु गर्दै आइरहेको छ । यस्तै सरसफाई, विभिन्न विकृति विसंगतिका बारेमा सचेतना फैलाउने, महिला वेचविखन विरुद्ध सचेतना फैलाउने जस्ता कार्यहरु पनि गर्दै आइरहेको छ । विशेष गरेर रेडक्रसले विपदमा काम गर्ने भएकाले जुनसुकै विपदमा पनि आफूलाई सोही अनुसार ढालेर काम गर्ने गरेको छ । प्रत्येक ठाउँमा हामीले तटस्थता, मानवता, स्वतन्त्रतामा आधारित रहेर स्वयंसेवकहरु खटाएर विपदमा परेका नागरिकहरुको उद्धार गर्ने गरेका छौँ । अर्को कुरा रेडक्रसको वर्षभरीको कार्यतालिका के हुन्छ भने कतिवेला के हुन्छ, त्यो कसैलाई थाहा हुँदैन । विपदमा काम गर्ने भएकाले जस्तो खालको विपद आउँछ, त्यस्तै खालका कार्यक्रम र योजनाहरु बनाउने गर्दछौँ ।

११. रेडक्रसले अन्य दातृ निकायहरुसँग कसरी सहकार्य गर्ने गरेको छ ?

दातृ निकायहरुसँग केन्द्र र जिल्ला रेडक्रसले सहकार्य गर्ने गरेका छन् । तर हामी उपशाखाहरु त स्थानीय सरकार, विभिन्न संघ–संस्था, व्यापारी, समाजसेवी, वुद्धिजिवी दाताहरुसँग सहकार्य गर्ने गरेका छौँ । दातृ निकायहरुबाट अहिलेसम्म हामीले त्यस्तो कुनै सहयोग पाएका छैनौँ । स्थानीय स्तरका एनजिओ÷आइएनजिओहरुले कुनै कार्यत्रक्रमहरु दिएपछि हो । नत्र त्यस्तो कुनै ठूला दातृ निकायहरुबाट सहयोग छैन ।

१२. रेडक्रस र स्थानीय सरकार विचको सहकार्य र समन्वय कस्तो छ ?

रेडक्रस र स्थानीय सरकार विचको समन्वय र सहकार्य एकदमै राम्रो हुन जरुरी हुन्छ, र छ पनि । रेडक्रस विशुद्ध मानविय सेवामा काम गर्ने संस्था भएकाले विभिन्न किसिमका तालिम गरेका जनशक्तिहरु पनि हामीहरुसँग छ । रेडक्रस धेरै स्वयंसेवकहरु भएको संस्था पनि हो । यसमा विभिन्न किसिमका बाढि, पहिरो, भुकम्प, आगलागी जस्ता विपदका बारेमा एनडिआरडि÷डिडिआरडि तालिम लिएको जनशक्ति छ । यो जनशक्तिलाई यहाँको स्थानीय सरकारले प्रयोग गरेर रेडक्रस र स्थानीय सरकारविच समन्वय गर्न सकियो भने ठूला ठूला विपदहरुमा पनि निकास निकाल्न सक्छौँ ।

१३. रेडक्रसले गर्ने कार्यहरुमा राजनीतिको प्रभाव कस्तो रहन्छ ?

कोहलपुरको कुरा गर्ने हो भने अहिलेसम्म रेडक्रसमा कुनै त्यस्तो राजनीतिक प्रभाव छैन । किनभने अहिलेको यो लोकतान्त्रिक गणतन्त्र र वहुदलिय व्यवस्थामा जुनसुकै व्यक्ति पनि एउटा विचार धारा र आस्थामा अवश्य हुन्छ नै । तर त्यो व्यक्ति रेडक्रसमा आइसकेपछि राजनीतिक गन्ध आउनु हुँदैन । कसैलाई पक्षपात गर्न हुँदैन । रेडक्रसका सात वटा सिद्धान्तमा आधारित रहेर काम गर्नुपर्छ । अहिलेसम्म त्यस्तो किसिमको कुनै राजनीतिक गन्ध आएको छैन । म रहुन्जेल आउन पनि
दिन्न ।

१४. अन्त्यमा, रेडक्रसको मुख्य उद्देश्य के हो ?

रेडक्रसको मुख्य उद्देश्य भनेको मानविय सेवा गर्नु हो । जुनसकुै प्रकोप, आपत, विपतमा परेका मानिसहरुको उद्धार र सहयोग गर्नु हो । विपद्का कारण समस्यामा परेका मानिसहरुलाई विभिन्न माध्यमबाट रेडक्रसले सहयोग गर्दै आइरहेको छ । यो कार्य निरन्तर रहिरहने छ । विपदको बेलामा सहयोग गर्ने भएकाले पनि यस संस्थाप्रति मानिसहरुको विश्वास बढेको छ ।

प्रकाशित मितिः सोमवार, असार २२, २०७७     7:19:25 AM  |