19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

रित्तिदैँ क्वारेन्टिन,भरिँदै गाउँ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार १८, २०७७  

सुदीप अधिकारी । बर्दिया ।

बर्दिया जिल्लाका विभिन्न पालिकामा रहेका करिब १ सय ५० क्वारेन्टिन रित्तिदै छन् । कोरोना कहरका कारण भारत लगायतका क्षेत्रबाट घर फर्किएका नागरिकको व्यवस्थापनका लागि बनाइएका क्वारेन्टिन रित्तिदै जान थालेका हुन् । जेठ महिनाको मध्यतिर जिल्लाका क्वारेन्टिन भरिभराउँ थिए । क्वारेन्टिन रित्तिदै जान थालेसँगै गाउँ भने भरिभराउँ हुँदै गएको छ । सरकारी मापदण्ड भन्दै १४ दिन क्वारेन्टिनमा बसेकाहरुलाई कोरोना भाइरसको कुनै लक्षण नदेखिए पछि धमाधम घर फर्काउन थालिएसँगै क्वारेन्टिन बिस्तारै रित्तिदै गएका हुन् । स्वास्थ्य कार्यालय बर्दियाको पछिल्लो तथ्याङ्ग अनुसार हाल ९ सय ७५ जना मात्र क्वारेन्टिनमा जबकी जेठ महिनाको मध्य तिर जिल्लाका विभिन्न क्वारेन्टाइनमा करिब साढे ५ हजार जना थिए ।

भारत लगाएत अन्य स्थानबाट आउने क्रम पनि बिस्तारै कम हुने र सरकारी मापदण्ड पुरा गरि मासिनहरु घर पर्किन थालेपछि क्वारेन्टिन रित्तिदै गएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । पछिल्लो विवरण अनुसार गेरुवा गाउँपालिकाको क्वारेन्टिनमा १ सय जना, गुलरियामा १ सय ७२ जना, बासगढीमा ८७ जना र बारबर्दियामा ६९ जना छन् । यसैगरि ठाकुरबाबामा १ सय ५६, राजापुरमा ९०, मधुवनमा १ सय ४० र बढैयातालमा १ सय ६१ जना क्वारेन्टिनमा रहेका छन् । क्वारेन्टिनमा बसेका नागरिक घर फर्किन थालेपनि केही क्वारेन्टिन बन्द गरिएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीका अनुसार जिल्लामा हालसम्म ३ हजार ७९ जनाको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गरिएको छ । जसमा हालसम्म १ सय ६३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

जसमध्ये ८० जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । बाँकीको जिल्ला तथा जिल्ला बाहिर विभिन्न स्थानमा उपचार भइरहेको छ । पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएका मध्ये हालसम्म १ सय ८० जनाको रिपोर्ट आउन बाँकी छ । सरकारको पछिल्लो निर्देशनअनुसार १४ दिनसम्म आइसोलेसनमा बसेका व्यक्तिमा कोरोनाको कुनै पनि लक्षण नदेखिएपछि निको भएको भन्दै घर पठाउन थालिएको छ । जसका कारण समुदायमा कोरोना फैलन सक्ने भन्दै स्थानीय त्रसित भएका छन् ।

क्वारेन्टिनमा बसेकाहरुको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गरेर मात्र घर पठाउन चौतर्फी माग गरिए पनि केन्द्रको कार्यविधि भन्दै आरडीटी गरेर मात्र घर पठाउने गरिएको छ । क्वारेन्टिनबाट घर फर्केकाहरु मध्ये केही एक साताको होम क्वारेन्टिनमा बस्ने गर्छन् भने केही बस्दैनन् । क्वारेन्टिनबाट फर्केकाहरु बिस्तारै घरको कामकाजमा लाग्न थालेका छन् । गाउँमा चहलपहल बढ्दो छ । मजदुरी तथा अन्य कामका लागि घर बाहिर गएकाहरु क्वारेन्टिन बसाईको अवधि सकेर घर खेतीपातीमा लागेका छन् ।

प्रकाशित मितिः बिहिबार, असार १८, २०७७     7:44:07 AM  |