14 July 2020  |   मङ्लबार, असार ३०, २०७७

‘सत्ता परिवर्तन भए तर शोच परिवर्तन भएन’

यानबी साहु
प्रकाशित मितिः मङ्लबार, असार १६, २०७७  

विश्व महामारीका रुपमा फैलिएको कोरोना झाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुधिरहेका बाँकेका स्थानीय तहहरु यतिबेला आगामी वर्षको निती तथा कार्यत्रम र बजेटको तयारीमा जुटिरहेका छन् । कोरोनाको संक्रमण बढ्दै गइरहे पनि त्यसको व्यवस्थापन गर्दै आगामी आर्थिक वर्ष २०७७/०७८ को निती तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका हुन् । कोरोनाले थलिएको अर्थव्यवस्थालाई उकास्न र मानव जनजीवनलाई सहज बनाउन आगामी आर्थिक वर्षमा के कस्ता निती तथा कार्यक्रम र बजेट ल्याउन आवश्यक छ ? यसका साथै स्थानीय सरकारका काम कारवाही र कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रयासका बारे नेपाली काँग्रेस बाँकेका महासमिति सदस्य देब बहादुर खत्रीसँग यानबी साहुले गरेको कुराकानी :

१. पहिलेको बैजनाथ र स्थानीय सरकार आइसकेपछिको बैजनाथमा विकासका दृष्टिले कतिको फरक पाउनु भएको छ ?

नेपाली जनताहरुले आफ्नो हक अधिकार सुनिश्चित गर्नका लागि वि.स.२०६२/०६३ मा देशव्यपी रुपमा आन्दोलन गर्नुपर्यो । राजतन्त्र अन्त्य गरी आफ्ना हक अधिकार सुनिश्चित गर्नका लागि सुरु भएको आन्दोलन करिव २१ दिनसम्म चल्यो । त्यसको फलस्वरुप नेपाली जनताले संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरे । संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्तिसँगै केन्द्रिकृत रहेको शासन व्यवस्था र विकास विकेन्द्रीकरण भएर स्थानीय तहसम्म पुग्यो । विकास, समृद्धि र शासन व्यवस्था लगायतका कुराहरु स्थानीय तहबाटै सञ्चालन गर्न संघियता आयो । तर शासकहरुको केन्द्रिकृत मानसिकता र शासन व्यवस्थामा परिवर्तन आउन सकेन । बैजनाथको सन्दर्भमा हेर्ने हो भने पनि संघियता भन्दा पहिलेको बैजनाथ र अहिलेको बैजनाथमा केहि फरक पाउन सकिन्छ । समयअनुसार हरेक कुरामा परिवर्तन आउँछ । स्थानीय सरकार आइसकेपछि जुन जनताका आशा अपेक्षाहरु थिए । ती अझै पनि अनुभुत गर्न पाएका छैनन् । अहिलेका विकास र पूर्वाधारका योजनाहरु छन्, ती कुनै ठोस र दीर्घकालिन छैनन् । शिक्षा, स्वास्थ्य, विकास, पूर्वाधार र कृषि लगायत जुनसुकै हुन्, ठोस र दीर्घकालिन छैनन् । विनियोजन गरिएका योजनाहरु पनि असारे विकासमा आधारि छन् । अधिकांश योजनाहरु असारमै सञ्चालन गर्ने, असारमै सम्झौता गरेर असारमै फर्च्यौट गर्ने खालका छन् । बैजनाथ गाउँपालिकामा पनि हेर्दा करिव ६५ प्रतिशत भौतिक पूर्वाधारका योजनाहरु असारे विकासमा आधारित देखिन्छन् । वर्षको एघार महिना ३५ प्रतिशत मात्रै योजनाहरु सम्पन्न भएका छन् । त्यसैले पहिले जुन केन्द्रबाट मात्रै शासन व्यवस्था सञ्चालन गर्दा अपेक्षित विकास हुन नसक्नु र जनताका अपेक्षाअनुसारका काम नहुनु स्वाभाविक नै थियो । तर स्थानीय सरकार आइसकेपछि पनि अझै जन अपेक्षा अनुसार कामहरु विकास हुन सकेको छैनन् । यसको अर्थ केहि भएको छैन भन्ने होइन । समयअनुसार परिर्वतनसँगै केहि परिवर्तन भएको छ । पहिलेको बैजनाथभन्दा अहिलेको बैजनाथमा विकासका दृष्टिले हेर्दा केहि राम्रा कामहरु पनि भएका छन् । तर अझै पनि आम नागरिकहरुले प्रत्याभुत गर्ने खालका धेरै कामहरु हुन बाँकी नै छन् ।

२. स्थानीय सरकारले तीन वर्षको अवधिमा जनाताले अपेक्षा गरे अनुसार काम गर्न सक्यो कि सकेन ?

जनताले राजनितिक अधिकार त पाए तर अझै महशुस गर्न पाएका छैनन् । नागरिकहरुले विकासमा जुन अनुभुति गर्नु पर्थ्यो, प्रत्यक्ष सहभागिता हुनुपर्थ्यो, जवनफदेहिता र अपनत्व हुनु पर्थ्यो । त्यो हुन सकेको छैन् । यहाँ मात्रै के भयो भने, जो सत्तामा आयो, उसले राजनितिक पहुँचका आधारमा आफ्ना कार्यकर्ता, नजिकका मान्छे, नातागोता रिझाउने काम मात्रै भए, हरेक तहमा । अझै पनि केन्द्रिकृत मानसिकता र शासन व्यवस्था कायमै छ । स्थानीय सरकार आइसकेपछि जनताले जुन सेवा सुविधाहरु पाउनु पर्थ्यो, विकासको अनुभुति गर्न पाउनु पर्थ्यो, त्यो अझै पनि पाउन सकेका छैनन् । सत्ता परिवर्तन भयो तर काम गर्ने शोच र शैली परिवर्तन भएन । यसले गर्दा सर्वसाधारण जनता जसको पहुँच छैन, जो राजनितिक पहुँचभन्दा टाढा छ । त्यस्ता नागरिकहरुले परिवर्तनको कुनै महशुस गर्न पाएका छैनन् । यसले गर्दा नागरिकहरुमा झनै नैराश्यकता छाएको हामीले महशुस गरेका छौँ ।

३. बैजनाथवासीले प्रत्येक्ष अनुभुत गर्नका निम्ती स्थानीय सरकारले कसरी काम गर्नुपर्थ्यो अवथा कहाँ चुक्यो ?

मलाई यसमा के लाग्छ भने संघियतापछि स्थानीय तह त आयो । तर नगरिकहरुले सोचेजस्तो नभई त्यसमा पनि केन्द्रिकृत शासन प्रणाली नै हावी भयो । स्थानीय शासन प्रणाली लागू, सञ्चालन व्यवस्थाप गर्न केन्द्र सरकार नै अधिकार सम्पन्न देखिएको छ । राजनिति गर्ने नेता, राज्य व्यवस्था सञ्चालन गर्ने शासकहरु जति केन्द्रकृत प्रणालीबाट नै अघि बढिरहेका छन् । सरकार जसरी विकेन्द्रिकृत भएर स्थानीय तहसम्म पुग्नु पर्थ्यो । त्यो हुन सकेको छैन् । प्रदेश र केन्द्र सरकारले स्थानीय तहलाई जसरी मझ्वुत बनाउनु पर्थ्यो, त्यो हुन सकेको छैन । अर्को कुरा संघिय सरकारले प्रदेश र प्रदेश सरकारले स्थानीय तहलाई बन्देज गराइरहेको अवस्थामा काम गर्न पनि जटिल रहेको पाइएको छ । जुन अधिकारहरु स्थानीय सरकारलाई दिइएको छ । ति अधिकारहरु पनि केन्द्रिकृत हुँदै गएको पाइन्छ । यो विडम्वनाकै रुपमा देखिएको छ । अर्को कुरा स्थानीय नागरिकहरुले विकासको प्रत्येक्ष अनुभुत गर्नका लागि केन्द्रिकृत मानसिकता त्याग्नु पर्यो । त्यसका साथै स्थानीय तहलाई मजभुत बनाउन स्रोत साधनयुक्त बनाउँदै पहुँचमा पुर्‍याउनु पर्दछ । स्थानीय तहका प्रतिनिधिहरुले पनि त्यसको सहि सदुपयोग र प्रयोग गर्न जान्नु पर्दछ । स्थानीय तहमा भएका आम्दानीका स्रोत साधनहरुलाई स्थायी स्रोतका रुपमा बाँधेर यही उत्पादन र लगानी गर्ने वातावरण सिर्जना गर्ने सोच बनाउन जरुरी छ ।

४. बैजनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षमा कस्तो खालका निति तथा कार्यक्रमहरु ल्याउन आवश्यक छ ?

अहिलेसम्म बैजनाथ गाउँपालिकाले जुन आफm्ना निति तथा वार्षिक कार्यक्रम र बजेट ल्याइरहेको छ । ति निति तथा कार्यत्रमहरु पनि केन्द्रिकृत रुपमा नै लागु गरिएको छ । किनभने वडा कार्यालयहरुबाट सञ्चालन गर्नुपर्ने कार्यक्रमहरु पनि गाउँपालिकाले नै सञ्चालन गरिरहेको छ । लक्षित वर्गका कार्यक्रम र तिनीहरुका लागि विनियोजन गरिएको रकम सबै गाउँपालिका मार्फत नै सञ्चालन भइरहेको अवस्था छ । विकास र पूर्वाधारका कार्यक्रमहरु पनि करिव ७० प्रतिशत गाउँपालिका आफैले सञ्चालन गरेको छ । वडाकार्यालयहरुलाई निस्तेज गरेर काम गरिएको छ । त्यस्तो नगरेर वडाका जनप्रतिनिधिहरुलाई पनि थप जिम्मेवारी, कर्तव्यवोध, जवाफदेहि बनाएर विकेन्द्रिकृत शासन पद्धति र स्थानीय स्वायत्त शासन अन्तर्गत काम गराउनु पर्दछ । यसका साथै आगामी आर्थिक वर्षमा ल्याउने निति तथा कार्यक्रम र बजेट जनतालाई केन्द्रविन्दुमा राखेर ल्याउन सकियो भने सबै भन्दा लाभदायिक हुन्छ । त्यसका लागि हामीले सबैभन्दा पहिले ग्रामिण भेगमा अझ त्यसमा पनि विकट क्षेत्रका गरिव, अतिविपन्न नागरिकहरुलाई लक्षित गरेर विनियोजन गर्‍यौ भने उनीहरुले स्थानीय सरकार आएको अनुभुत गर्छ । ग्रामिणमुखी योजनाहरु, जनतालाई प्रत्येक्ष लाभ हुने खालका कार्यक्रमहरु छनौट गर्नुपर्‍यो । अहिलेको परिस्थितिमा त झनै कोभिड–१९ को संक्रमणका कारण भोकमरी, बेरोजगारी बढेको छ । जनता गास र बासबाट वञ्चित हुने अवस्था छ । यो अवस्थामा जनताले प्रत्येक्ष लाभ लिने खालका कार्यक्रम तथा बजेट ल्याउन आवश्यक छ ।

५. यस आर्थिक वर्षको बजेट तथा कार्यक्रमहरु विशेष गरी कुन क्षेत्रमा केन्द्रित गर्न जरुरी छ ?

अहिलेको कोरोना महामारीको यो विषम परिस्थितिमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमहरु विशेष गरेर स्वास्थ्य क्षेत्रलाई लक्षित गर्न जरुरी छ । मानिसको स्वास्थ्य सबै भन्दा ठूलो भएकाले स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्छ । किनभने विकास भन्ने कुरा मानव जीवित रहे फेरी पनि गर्न सकिन्छ । तर मानव नै रहेन भने विकास केका लागि ? त्यसैले सबैभन्दा पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रलाई दिन आवश्यक छ भने दोस्रो प्राथमिकता जनताको जनजिविकालाई अथवा आय आर्जनमूलक कार्यक्रमहरु ल्याउनु पर्यो । मानिसलाई अतिआवश्यक पर्ने गास, बास र जीवन रक्षाका लागि चाहिने कार्यहरुमा बजेट खर्च गर्न आवश्यक हुन्छ ।

६. अहिलेसम्म गाउँपालिकाले ल्याउने निति, कार्यक्रम र बजेट कार्यान्वयनको अवस्था कस्तो पाउनु भएको छ ?

वास्तवमा भन्ने हो भने गाउँपालिकाले अहिलेसम्म जुन बजेट तथा कार्यक्रमहरु ल्याएको छ । त्यो नितान्त आफ्नो कार्यकर्ताहरुको संरक्षण गर्ने, जहाँ आफ्ना कार्यकर्ताहरुको नेतृत्व छ, त्यहाँ बजेट विनियोजन गर्ने, जसको राजनितिक पहुँच छ, त्यस्ता ठाउँहरुमा माक्रै अत्याधिक बजेट विनियोजन हुन्छ । त्यसले गर्दा सन्तुलित विकास हुन सकेको छैन । त्यस्तै लक्षित वर्गका लगि सञ्चालन गरिएका कार्यत्रमहरु उनीहरुसम्म पुर्‍याउन खोजिएको छ तर पुग्न सकेका छैनन् । उनीहरुका लागि छुट्याइएको रकम बिचौलियाहरुले नै फर्च्यौट गर्ने, खर्च गर्ने परम्परा हिजो पनि थियो र आज पनि कायमै छ । यस्तै गाउँपालिकाले ल्याएका कयौँ योजनाहरु लागू हुन नसकेर कागजमै सिमित भएको अवस्था छ । योजनाहरु ल्याउनु मात्रै ठूलो होइन । ति योजनाहरुलाई लागु गरेर कार्यान्वयन गर्न सक्नु ठूलो हो । गाउँपालिकाबाट वडा कार्यालयहरुका लागि विनियोजन गरिने बजेटमा पनि ठूलो अन्तर हुने गरेको पाइएको छ । जसको गाउँपालिकामा बढी पहुँच छ, त्यो वडामा धरै बजेट जाने गरेको छ । यसले गर्दा विकासमा असन्तुलन भएर क्षेत्रिय विद्रोह हुन सक्ने खतरा बढेको छ ।

७. यहाँका नागरिकहरुले शिक्षा, स्वास्थ्य, कृषि लगायत विकासका क्षेत्रमा कतिको अनुभुति गर्न पाएका छन् ?

केहि राम्रो प्रभावहरु पनि परेका छन् । हिजो कुनै सानो सिफारिस लिनु पर्यो भने पनि घण्टौ हिडेर टाढा टाढा जानुपर्ने वाध्यता थियो । अहिले त्यस्तो नभएर घर आँगनबाट नै विभिन्न सेवाहरु सरल र सहज रुपमा पाउन सकिएको छ । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरु पनि विकेन्द्रिकृत हुने क्रममा छन् । अहिले हरेक वडामा स्वास्थ्यचौकी स्थापना गर्ने, विद्यालय तथा कृषि सेवा केन्द्रहरु सञ्चालन भइरहेको अवस्था छ । हिजो भन्दा जनताले केहि प्रत्येक्ष विकासको अनुभुत गर्न पाएका छन् । उनीहरुको सहभागिता पनि बढेको छ । सेवा प्रवाह पनि द्रुत गतिमा छ । त्यसका साथै कृषकहरुलाई अनुदानका कार्यक्रमहरु ल्याएको छ । यो राम्रो पक्ष हो । अझै पनि सुधार गर्नुपर्ने पक्षहरु पनि धेरै छन् । र अहिले सबैभन्दा ठूलो समस्या भनेको शुसासन कायम गर्न नसक्नु र भ्रष्टाचार मौलाउनु हो । यी दुई कुरामा सुधार गर्न सकियो भने पनि ठूलो उपलब्धी हुन्छ ।

८. कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा बैजनाथ गाउँपालिका कतिको सफल भयो ? यहाँको विचारमा के लाग्छ ?

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सिमित स्रोत साधन हुँदा हुँदै पनि बैजनाथ गाउँपालिकाले जुन किसिमको व्यवस्थापन गरेको छ । त्यो राम्रो नै छ । जस्तो भारतबाट आएका व्यक्तिहरुलाई विझिन्न क्वारेन्टिन तथा संक्रमित व्यत्तिहरुका लागि आइसोलेशनको व्यवस्था, चेक जाँच, उपचार लगायतका कार्यहरु सिमित स्रोत साधनको प्रयोग गरेर गरेर सेवा प्रवाह गरिरहेको छ । तथापी सबै ठाउँहरुमा त्यस्तो हुन सकेको छैन । कतिपय ठाउँहरुमा व्यवस्थापन एकदमै कमजोर देखिएको छ । राहत वितरण कार्यमा नै आग्रह पूर्वाग्रह देखिन्छ । जनप्रतिनिधिहरु कहि कतै त एकदमै संकुचित ढङ्गले अघि बढेको पाइन्छ । त्यसकारण त्यसो नभइदिए हुन्थयो भन्ने हाम्रो सुझाव हो । यति हुँदाहुँदै पनि पछिल्लो समय बैजनाथ गाउँपालिकाले केहि राम्रा कामहरु पनि गरेको हामीले अनुभुति गरेका छौँ । जस्तो अन्य गाउँपालिका भन्दा अग्रता त लियो तर जति लिनुपर्ने हो त्यति लिन सकेन ।

९. कोरोना भाइरसका कारण समस्यामा परेका नागरिकहरुको लागि नेपाली काँग्रेसले बैजनाथमा के कस्ता सहयोग गर्‍यो ?

नेपाली काँग्रेसले कुनै त्यस्तो अभियान नै चलाएर कार्यक्रम त गरेन । तर पनि पार्टीप्रति आस्था र विचार मिल्ने केहि साथीहरु मिलेर राहत संकलन गरेर वितरण गरेका छौँ । गाउँपालिकाले हामीलाई नसमेटेता पनि यो महामारीको समयमा हामी पनि सहभागी हुन पाउनु पर्छ भनेर केहि राहत संकलन गरेर सबैभन्दा पहिले युवाहरु मार्फत वितरण गर्‍र्यौ । हामीले त्यसरी राहत वितरण गर्दा जनप्रतिनिधिहरुबाट केहि आपत्ती पनि आयो । गाउँपालिकामा गएर हामीले उहाँहरुलाई यस्ता कार्यक्रमहरु रोक्नु हुँदैन भनेर सुझाव पनि दियौँ । विपतको बेलामा सहयोग गर्नु नितान्त मानविय सेवा भएकाले राजनितिक आग्रह पूर्वाग्रह नराखेर काम गर्नु पाउनु पर्छ भनेर उहाँहरुसँग तर्क गर्यौँ । यधपी हामीले राहत पाउनबाट छुटेका अथवा वञ्चित भएका तर पाउनै पर्ने अवस्थाका परिवारका लागि संकलन गरेर वितरण पनि गरेका छौँ ।

१०. अन्त्यमा गाउँपालिकालाई तपाइ र तपाइको पार्टी नेपाली काँग्रेसको तर्फबाट के दिन चाहनु हुन्छ ?

अहिलेको कोरोना महामारीको समयमा रोग र भोकले त्रसित हुने अवस्था छ । रोजगारी तथा कमाउनका लागि अन्य मुलुकमा गएका नागरिकहरु पनि रोग र भोकको त्रासका कारण घर फर्किरहेको अवस्था छ । घरमा आइसकेपछि पनि बेरोजगार भएर बस्नु पर्ने बाध्यता छ । त्यसकारण गाउँपालिकाले आगामी आर्थिक वर्षमा ल्याउने बजेट तथा कार्यक्रम विशेष गरेर स्वास्थ्य क्षेत्रमा सहयोग पुग्ने तथा कृषि र रोजगारमुखी ल्याउन जरुरी छ । यस्ता कार्यक्रमहरुबाट जनताले पनि प्रत्यक्षे लाभ लिन सक्ने र कृषि क्षेत्रमा उत्पादन पनि बढ्ने भएकाले जनताले प्रत्यक्षे अनुभुत गर्ने र लाभ हुने गरी बजेट र कार्यक्रम केन्द्रित गर्न जरुरी देखिन्छ । यसले गर्दा बैजनाथ गाउँपालिकालाई भविष्यमा समृद्ध बैजनाथ बन्न सहयोग पुग्ने भएकाले यस्ता कार्यक्रमहरु ल्याउन म र हाम्रो पार्टीको तर्फबाट सुझाव दिन चाहन्छु । –धन्यवाद !

प्रकाशित मितिः मङ्लबार, असार १६, २०७७     4:10:14 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *