14 July 2020  |   मङ्लबार, असार ३०, २०७७

‘कोहलपुर गतिशिल रुपमा अघि बढ्न सकेन’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार १६, २०७७  

जिल्लामै अहिले सबैभन्दा कम बाँकेको कोहलपुर नगरपालिकामा कोरोना संक्रमित भेटिएका छन् । जिल्ला अन्य सात पालिकामा भने संख्या अली बढी नै छ । एकातिर कोरोना कहर अर्कातिर अहिले स्थानीय सरकारहरु आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएर बजेट छलफलमा समेत सक्रिय छन् । कोरोना विरुद्धको अभियान सक्रिय स्थानीय सरकार भने तत्कालिन अवस्थामा समस्या समाधानको लागि, निम्न वर्र्गीय जनताका आवश्यकता परिपुर्तिका लागि चुकेको गुनासो सुनिने गरेको छ । यसै सन्दर्भमा यहाँको राजनीतिक वृतले स्थानीय सरकारको कामलाई कसरी मुल्यांकन गरिरहेको छ ? तीन वर्षको अवधिमा के–के काम भए, के–के काम हुन सकेनन् ? कोभिड–१९ को रोकथाम र नियन्त्रणको स्थानीय तहको भूमिका कस्ता पाउनु भएको छ ? भन्ने विषयमा हामीले स्थानीय तह निर्वाचन– २०७४ मा तत्कालिन नेकपा माओवादी केन्द्रबाट कोहलपुर नगरपालिकाको मेयरका उम्मेदवार बनेका नरेन्द्र न्यौपानेसँग मिसन टुडे दैनिकले गरेको कुराकानीको सम्पादित अंश ।

१. कोभिड–१९ को रोकथाम र नियन्त्रणमा कोहलपुर नगरपालिकाको भूमिका कस्तो पाउनु भएको छ ?

कोभिड–१९ विश्वभरी नै महामारीका रुपमा फैलिएको छ । यो सिंगो मानव समुदायको चूनौतिको रुपमा समेत आएको छ । नेपालको हकमा कोभिड–१९ को समस्या विद्यामान छ । यो चाही हो चीनमा कोरोना संक्रमण देखियो । अन्य देशमा फैलिदाँ समेत हामीले यसबारे पूर्व तयारी गर्न सकेनांै । सिगंो देशले नै यस्तो कुरा बुझेको भए तयारीका कुरा अघि बढाउन सकिन्थ्यो । ढिलो गरि तयारीका कुरा भए । जहाँ सम्म स्थानीय सरकारले खेलेको भूमिकाको कुरा छ, समग्रमा हेर्दा स्थानीय सरकारको भूमिका सकारात्मक छ । जस्तो विदेशबाट आउनेहरुको व्यवस्थापन, क्वारेन्टिन, आइसोलेसन व्यवस्थापन लगाएका विषयमा । कोहलपुर नगरपालिकाको कुरा गर्दा, सुरुवाती चरणमा अन्य पालिकामा कोरोना संक्रमण देखिएकामा गर्नु पर्ने काम क्वारेन्टिन, आइसोलेसन व्यवस्थापनमा ध्यान दिइएन । यस्ता कुरामा ध्यान नदिदाँ केही जटिलता समेत आए । नगरपालिकाले जनतालाई यसबारे बुझाउन नसक्दा विरोध प्रदर्शन समेत भए । पछिल्लो चरणमा वडामा क्वारेन्टिन निर्माण गर्ने कुराले केही सहज भएको छ । नगरपालिका निरन्तर लागि परेको छ । अब कोभिड–१९ महामारीको परेका नागरिकलाई राहत उपलब्ध गरायो । जुन विवादित बन्यो । अन्य क्षेत्र समेत प्रभावित छ । यस्ता कुरामा नगरपालिकाले ध्यान दिनुपर्छ । राहत वितरणका सम्बन्धमा नगरपालिकाको भूमिका प्रभावकारी नभएकै हो । यो समस्या सबै क्षेत्रमा छ । यसले गर्दा सबै क्षेत्र धरासायी बनेको छ । हामीले एकद्धार प्रणालीबाट राहत, प्रत्येक वडामा स्वयंमसेवक यूवा परिचालन गर्न भनेको थियौं । सो गर्दा उनीहरुले विकास निर्माणका काम पनि गर्थे । रोजगारी पनि पाउँथे । ठूलो संख्यामा मानिसहरु विदेशबाट आएका छन् । रोजगारीका कार्यक्रम ल्याउन सुझाव दिएको हो । अहिले नीति तथा कार्यक्रममा समेत यस्ता कुरा छैनन् ।

२. नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट कोरोनासँग जुध्न कत्तिको प्रयाप्त छ नि ?

बजेटमा चाही कोरोनाको विषय समेटिएको छ । यसमा आइसोलेसन अस्पताल निर्माण गर्ने, क्वारेन्टिन व्यवस्थापन गर्ने, संक्रमितको उपचारको लागि बजेट छुट्याएको छ । त्यो कुरालाई सकारात्मक रुपमा लिनुपर्छ । त्यसको अलवा रोजगारी गुमाएकाहरुको अवस्थालाई नगरपालिकाले मध्यनजर गर्नैपर्छ । यहाँको आर्थिक क्षेत्र सबै भन्दा प्रभावित भएको छ । प्रधानमन्त्री रोजगारलाई संघीय सरकार र स्थानीय तहको बजेट जोडेर वृहत बनाउनु पथ्र्यो । उनीहरुलाई परिचालन गरेर रोजगारी समेत दिने विषयमा बृहत रुपमा सोच्नु पर्ने हो । त्यसो हुन सकेन । बेरोजगारी भोली अर्को समस्याको रुपमा देखा पर्ने मैले देखेको छु । नीति तथा कार्यक्रम यस्ता कुरामा केन्द्रीत हुनु पर्ने हो ।

३. संघीयतापछि कोहलपुरको समग्र अवस्थालाई कसरी हेरिरहनु भएको छ तपाईले ?

लामो समयको केन्द्रीत शासन प्रणालीपछि संघीय शासन लागु भयो । तीन तहका सरकार भए । अधिकार समेत विकेन्द्रिकरण भयो । स्थानीय सरकारलाई धेरै अधिकार समेत दिइयो । बजेट नै स्थानीय स्तरसम्म पुग्यो । यस्तो अवस्थामा धेरै विकास हुनु पथ्¥र्यो । संघीयतापछि केही हदमा विकास भएको छ । हुँदै भएन भन्ने अवस्था छैन । बाटो बनेका छन्, पीच भएका छन्, ट्याक खोलेका छन् । देशभर स्थानीय तहमा व्यापक दुरुपयोग भएको समेत देखिएको छ । कोहलपुरमा समेत यस्तो अवस्था छ । यसको पछिल्लो उदारहणका रुपमा कोहलपुर १२ र १३ को पुललाई समेत लिन सकिन्छ । एक बर्खाको समेत पानीलाई धान्न नसक्ने पुल बनाइयो । यसलाई दुरुपयोगको एक नमूनाको रुपमा लिन सकिन्छ । यस्ता यहाँ धेरै छन् । परिणाममुखी र प्रभावकारी रुपमा काम नभएको चाँही देखिएको छ । जुन स्थानीय तहले तीव्र रुपमा काम गर्नु पर्ने हो । नगरपालिकाबाट जति धेरै कुरा हुनु पर्ने हो । रणनीतिक योजनाहरु सम्पन्न हुन नसकेको अवस्था छ । शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा प्रभावकारी ढंगले काम अगाडि बढ्न नसकेको अवस्था देखिएको छ । जनप्रतिनिधि नयाँ भएर पनि होला । गतिशिल अवस्थामा अगाडि बढ्न सकेको छैन । केही गतिरोध देखिएको कोहलपुरमा ।

४. तपाईको मतलब, यहाँका नेतृत्वले अपेक्षाकृत रुपमा काम गर्न सकेन भन्ने हो ?

संघीयतापछि स्थानीय अधिकारलाई स्वायत्त सरकारको रुपमा मान्यता दिइएको छ । खासगरि अधिकार र कानुनका हिसाबले स्थानीय सरकारले आफंै निर्णय गर्न पाउँछन् । संविधानले नै उनीहरुले तोकेरै अधिकार दिएको छ । यस अर्थमा सिंहदरबारको अधिकार गाउँगाउँमा आएकै हो । जनताले पनि केही हदसम्म अनुभूत गर्न पाएका छन् । थूप्रै बजेट समेत आएको छ । संघियतापछि कोहलपुर नगरपालिकाले झण्डै एक अर्ब बजेट आउनु भनेको सानो कुरा होइन । जुन अधिकार र कानुन व्यवस्था आयो । जनताले प्रतिनिधिलाई जितेर पठाए । त्यो आधारमा काम हुन सकेन । परिणाममुखी काम गर्ने र देखाउने कुरामा कही न कही स्थानीय तह चुकेको अवस्था हो ।

५. कोहलपुरको अहिलेको अवस्थालाई हेर्दा, विकास, जनता र जनप्रतिनिधि तीन तिर छन् । यहाँको नेतृत्व असक्षम हो की काम गर्न नसकेको हो ? यहाँको राजनीतिक नेतृत्व पनि निरीह भयो की ?

पहिलो कुरा त जनप्रतिनिधिहरुका बीच एकताबद्ध रुपमा काम गर्नु पर्ने आवश्यकता हुन्छ । त्यो कुरा कही न कही समस्या देखिएको छ । राजनीतिक व्यवस्थामा पक्ष र प्रतिपक्षका बीचमा तानातानको स्थिति हुन्छ नै । त्यो स्वभाविक हो । सहमति बनाएर काम गर्नु पर्ने कुरामा असमझदारीहरु देखा परेका छन्, नगरपालिकामा । जनप्रतिनिधिका बीचमा एकताबद्ध रुपमा काम गर्न वातावरण बनेको छैन, एउटा कुरा त्यो हो । अर्को कुरा जनताको चाहना विकास निर्माण दु्रत गतिमा होस भन्ने हुन्छ । सबै जनता एकै प्रकारका हुँदैनन् । चाहाना र ईच्छा सबैका फरक फरक हुन्छन् । जनताका असहमतिको समाधानको लागि जनप्रतिनिधि कै भूमिका हो । जनता एकातिर, जनप्रतिनिधि अर्कातिरको स्थिति छ । जहाँसम्म तपाईले भने जस्तै राजनीतिक दलको भूमिका पनि महत्वपूर्ण हुन्छ नै । राजनीतिक दलको भूमिका सहयोगीको रुपमा हुन्छ । काम गर्ने भनेको त अधिकारसम्म जनप्रतिनिधिले नै हो । नरपालिकालाई हामीले भनेका छौं । हामीले नगरपालिकाको विकास र समृद्धिको लागि कहाँ काम गर्नु पर्ने हो । सहयोग गर्छांै भनिरहेका छौं । हामीले त जनताको भावना अनुसार जनप्रतिनिधिले काम गर्नु पर्छ भनेर भनिरहेको अवस्था हो । पार्टीगत हिसाब भन्दा नेकपाले निर्देशन समेत दिएको छ । असन्तुलन भनेको जनप्रनिनिधि बीच मै देखिएको छ ।

६. तपाई आफैपनि मेयरको उम्मेदवार भएको मान्छे ? कोहलपुरका हालका प्रमुखका चुनावी प्रतिबद्धता पुरा भएका छन् की छैनन् । के भन्नुहुन्छ ?

तपाईले भने जस्तै हामी हिजो चुनावको बेला फरक पार्टीमा थियांै । अहिले पनि दुवै जना एकै पार्टीमा छांै । अब उहाँका चुनावी एजेण्डा, मेरा चुनावी एजेण्डा जे भएपनि एउटै भए । एउटै पार्टीमा भइसकेपछि हामीले दुवै जनाका योजनालाई सँगै लैजाने विषयमा कुराकानी गरिरहेका छौं । हामी दुवैजनाले प्रयास समेत गरिहेका छौं । कुरा के हो भने, चुनावी एजेण्डा पुरा भएनन् । चुनावमा गरेका प्रतिबद्धता अनुसार काम गरेर जानु पर्छ भन्ने हाम्रो धारणा हो । पार्टीगत र व्यक्तिगत हिसाबमा पनि । यस विषयमा हामी छलफल र अन्तरक्रिया गरिपनि रहेका हुन्छौ । मुलभूत हिसाबमा काम नै भएको छैन भन्ने होइन । केही मुलभूत काम भएका छन् । मसिनो रुपमा केलाउने हो भने धेरै चुनावी एजेण्डा पुरा हुन सकेका छैनन् । अब दुई वर्ष मात्रै बाँकी छ । यो अवधिमा काम पुरा गर्नुपर्छ र गराउनु पर्ने हाम्रो मान्यता हो ।

७. कोहलपुर नगरपालिका पारदर्शी, सुशासन र विधि अनुसार चलेको देखिदैन ? अहिले पार्टी एउटै भएकोले विरोध गर्न नसकिएको हो की के हो स्पष्ट पारिदिनुन ?

हामीले यो कुरालाई छलफल गर्दैछांै । नीति तथा कार्यक्रम र बजेटको विषयमा समेत कसरी अघि बढ्ने विषयमा जनप्रनितिधिसँग छलफल गर्ने कार्यक्रम नै तय भएको छ । कसरी प्रभावकारी बनाउने भन्ने बारेमा । अर्कातिर अख्तियारमा योजना बारेमा मुद्धा परेको विषय छ । यताकता चर्चा हुने गरेका छन् । मिडियामा समेत आए । गलत भएको ठाउँमा अख्तियार वा अरु कुनै पनि निकायले सत्य कुरा पत्ता लगाउँनै पर्छ । नगरपालिकामा समेत वेथिति भयो भन्ने कुरा देखिएका छन् । यसमा जनप्रतिनिधि भन्दा ब्युरोक्रेसीबाट राम्रो काम हुन सकेन भन्ने कुरा आएको छ । फेरी नगरपालिकामा भएका वेथिति र विसंगतिको नैतिक जिम्मेवारी जनप्रतिनिधिले नै लिनुपर्छ । कोहलपुरमा जे कुरा देखिएको छ, त्यो सच्चाउनु पर्छ । यसको लागि नेतृत्वले नै अग्रण्ी भूमिका खेल्नु पर्छ । सरकारले भनेको भष्ट्राचारमा शुन्य सहनशिलता अपनाउनुको विकल्प छैन । पार्टीको तर्फबाट हामीले चाही मेहेनत छौं ।

८. आगामी दुई वर्षमा यस अघि पुरा हुन नसकेको समृद्धिका सपना पुरा होलान् त, जनप्रनितिधि कसरी अघि बढ्नुपर्ला ?

जनताका समग्र आवश्यकता पुरा हुन्छन् भन्ने चाँही होइन । मानिसका अपेक्षा असिमित हुन्छन् । सबै अहिले नै पुरा हुन्छन् । छोटो समयमा पुरा हुन्छन् भन्ने पनि होइन । विकास प्रक्रियागत रुपमा हुने कुरा हो । तर न्युनतम् आवश्यकताहरु पुरा गर्ने कुरामा जनताका प्रतिनिधिले हदैसम्म प्रयास गर्ने हो । कोहलपुरका आफ्नै किसिमका समस्या पनि छन्, एैलानी जग्गा व्यवस्थापन यहाँको प्रमुख समस्याको रुपमा रहेको छ । अव्यवस्थित बसोबासीको व्यवस्थापन कसरी गर्ने विषयमा लामो समय देखि बल्झिरहेको विषय हो । संघीय सरकारले पनि पछिल्लो समय स्टेपको रुपमा अघि बढाएकोले समाधान होला । भौतिक पूर्वाधार विकासको कुरा छ । कोहलपुरको रिङरोडको कुरा छ । यी र यस्ता थुप्रै कुरा जनताले प्रत्यक्ष महुशुस हुने गरि आगामी दुई वर्षको बीचमा हुनु पर्ने देखिन्छ । यस तर्फ ध्यान दिन म आग्रह गर्न चाहन्छु । तीनै तहका सरकार बीच साझेदारीमा विकासलाई गति दिन सकिन्छ । राजनीतिक रुपमा हामीले के सहयोग गर्ने पर्ने हो तयार छौं । जनप्रतिनिधिहरुलाई पनि विकासमा अघि बढ्नको लागि निर्देशन दिने कुरामा हामी अहिले पनि पछि हट्दैनौं ।

९. अन्त्यमा कोभिड–१९ को कहर विद्यामान रहेको अवस्थामा स्थानीय सरकारलाई प्रभावकारी काम गर्न, सम्पूर्णलाई सुरक्षित रहनको लागि के भन्नुहुन्छ नि ?

फेरी पनि भन्न चाहन्छु । कोभिड–१९ विश्वव्यापी समस्या हो ? योे समस्या समाधान अहिले आवश्यकता हो । विश्वका शक्ति सम्पन्न राष्ट्र समेत यसबाट निकै नराम्रोसँग प्रभावित भएका छन् । नेपालमा समेत दिनानुदिन बढ्दै गइरहेको अवस्थमा छ । तीन महिना सम्मको लकडाउनले धेरै कुरा गुमाएको छ । संक्रमित समेत बढिरहेको अवस्थामा हामी सचेत रहनुको विकल्प छैन । सबैले आफूलाई सुरक्षित राख्नको लागि व्यक्तिगत सरसफाईमा ध्यान दिन आवश्यक ठान्दछु । आवश्यक स्वास्थ्य सुरक्षा अपनाऔं । नगरपालिकाले समेत यसमा अझ प्रभावकारी रुपमा अघि बढोस् । क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा ध्यान दिन जरुरी छ । बेरोजगारीको समस्या समाधानको लागि लागि परौं । सर्वसाधारणलाई भने मास्क प्रयोग गरौं, सामाजिक दुरी कायम गरांै, सेनिटाइजर प्रयोग गरांै भन्न चाहन्छु । हामी यसबाट हराउने होइन । संयमित भएर जोगिने प्रयास गर्ने हो भन्न चाहन्छु । अवसरको लागि मिसन टुडे दैनिकलाई धन्यावाद ।

प्रकाशित मितिः मङ्लबार, असार १६, २०७७     1:55:10 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *