19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

खोक्रो राष्ट्रवाद अवसरवादीको अस्त्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार १६, २०७७  


 –  गौरीलाल कार्की

यतिबेला राष्ट्रवादको बहस तातेको छ । बेलाबेलामा खोक्रा राष्ट्रवादका घटना परिघटनाले पनि राष्ट्रवादको बहस तात्ने गर्छ । विश्व तथा केही छिमेकीको ऎतिहासिक परिवेश नियालेर विचार गरौं । खोक्रो राष्ट्रवादका चर्चित सस्ता नमुना छरपस्ट छन् । युरोपियन मस्नरिज बाइबल बोकेर अफ्रिका छिरे । अफ्रिकीलाई बाइबल हातमा थमाएर भने, ‘आँखा चिम्लेर प्रार्थना गर, ईश्वरले कल्याण गर्नेछन् ।’ आँखा खोल्दा उनीहरूको हातमा बाइबल थियो, देश थिएन । यसका साक्षी थिए डेजमन्ड टुटु । झट्ट हेर्दा उनी कम्ती राष्ट्रवादी थिएनन् । तर त्यहाँ धार्मिक उवनिवेशबाट अफ्रिकाको अधिग्रहण सुरु भयो  । उनले थाम्न सकेनन् । सोझा अफ्रिकीहरू खोक्रो राष्ट्रवादको अज्ञानताको सिकार भए । देश गुम्यो, दास बने ।

अर्को उदाहरण, गिरमिटियाहरू भारतबाट फिजी पुगे । कामदारबाट नागरिकको हैसियत बनाउन थाले । अंग्रेज उपनिवेशवाद दीक्षित भारतले उस्तै उस्तै फर्मुला लगायो । सत्तामा बसेका केही फिजियनले राष्ट्रवाद भुले । फिजी आन्तरिक उवनिवेशको सिकार भयो । महेन्द्र चौधरी कार्यकारी बने । फिजीयनहरू चाकर भए । आप्रवासी (अंगीकृत) भारतीय गिरमिटिया मालिक भए । फिजियनहरूलाई गुमेपछि बल्ल थाहा भयो, के गुमायौं । आधुनिक र आन्तरिक उपनिवेशवादको बलियो उदाहरण हो, फिजीकरण । वास्तविक राष्ट्रवाद के हो ? फिजियनले चाल पाउदा माल गुमिसकेको थियो ।

खोक्रो राष्ट्रवादको आवरणमा कुख्यात राष्ट्रघात गर्ने चर्चित नाउँ हो, तत्कालीन सिक्किमे प्रधानमन्त्री लेन्डुप दोर्जे । एउटा सार्वभौम राष्ट्रका जनप्रतिनिधि गद्दार भइदिँदा जनताले मातृभूमि गुमाए । भारतले लेन्डुपलाई विद्रोहमा उतारेर निर्वाचन गरायो । जितायो । करिब २५ वर्षको भारतीय चलखेलपछि १० अप्रिल १९७५ मा सिक्किम विधानसभाले भारतमा विलय गर्ने निर्णय गर्‍यो । सिक्किम भारतको भयो । सिक्किम ब्यालेट सिजर (मतद्वारा कब्जा) बाट भारतले हडपेको मुलुक हो । यो राष्ट्रघातको सिकार भएको पछिल्लो उदाहरण पनि  हो ।

उता भुटान सुरक्षा, सैनिक-सामरिक र वैदेशिक नीति भारतलाई सुम्पेर आत्माबिनाको शरीर भएको छ । त्यहाँ कठपुतलीतन्त्रमा चलेको छ । भनिन्छ, सबैभन्दा राष्ट्रवादी राजाहरू हुन्छन् । हुँदैनन् भन्न सकिँदैन । तर, राजालाई राष्ट्रको भन्दा धेरै राजगद्दीको माया हुन्छ । सम्पत्तिको हुन्छ । राजाहरु राष्ट्रको राजगद्दीलाई पनि निजी ठान्छन् । राजाहरू राष्ट्रवादी देखिन्छन्, तर वस्तुतः हुँदैनन् । आफ्नो राजगद्दी र सम्पत्ति जोगाउन राजाहरूले पनि राष्ट्रघात गरेका हुन्छन् । हाम्रो कालापानी पनि राजकीय सिकार भएको कुरा ‘सेलेक्टेड वर्कस् अफ जवाहरलाल नेहरू’ किताबमा छ भन्नेहरू पनि छन् । त्यसको समेत खोज, अध्ययन र विश्लेषणको जरुरी छ । भुटान राजाको राजगद्दी र सम्पत्ति मोहको सिकार भएको हो । उनले राष्ट्रको तालाचाबी भारतलाई बुझाउँदा नै आफूलाई सुरक्षित ठाने । लगभग चार सय वर्षदेखि बसेका नेपाली भाषी लखेटेर झन् सुरक्षित माने । आफ्नै नेपाली भाषी जनता रातारात लखेटे ।

हामी कस्तो राष्ट्रको अभ्यास गर्दैछौं ? माथिका यी जिउँदा घटनासँग हाम्रा अहिलेका कुन नेताको चरित्र नमिल्ला ? संघीयता र नेपालका राजनीतिक घटना-परिघटना हेर्दा सिक्किममा प्रयोग भएको भारतीय ‘फर्मुला’ले नै सबै कुरा भित्रभित्र सूत्रबद्ध गर्दैछ । यहाँको इसाई योजना र नागरिकता नीति हेर्दा धार्मिक उपनिवेश र फिजीकरण पनि एकसाथ हुर्कदै गएको बुझ्न गार्‍हो छैन । नक्सामा भुमि समेटियो । धन्यवाद छ । यो राम्रो कुरा हो । के यत्ति कामले ओलि राष्ट्रवादी भनेर ठोकुवा गर्न मिल्छ ? उनले राष्ट्रवादी कार्यकारीको हैसियतले गर्नुपर्ने सबै काम गरिसके त । मलाई लाग्छ, यत्ति गर्दैमा राष्ट्रवादको श्रेष्ठताको उपमा दिनु व्यक्तिवाद हो । उनले गरेका राष्ट्रघातको पनि समिक्षा हुनुपर्छ । एमसीसीबारे उनले के सोच्दै होलान् ? उनी अब्बल राष्ट्रवादी भए एमसीसीबारे राष्ट्रवादी निर्णय लिनुपर्ने होइन र । संसदमा छिट्टै एमसीसी पास गर्न नमिलेर किन छट्पटी भएको होला । संसदमा पास गर्न नपाएको छट्पटी न्यून गर्न एमसीसीको म्याद थप्न तुरुन्तै एमसीएसँग सहमति गर्न सफल भए । एक्लै राष्ट्रवादी बन्ने, नयाँ नक्साको जस एक्लै लिने ? महाकाली सम्झौताको समिक्षा नगर्ने ? वामदेवले बैठकमा ठिकै कुरा उठाए ।

अर्काथरी जसले मधेस मुक्तिको मन्त्रले मधेसकै शोषण गरे । जीवनभर देश विखण्डन र विभाजनको धम्की दिए । देशद्रोहको योजना बनाए । भारतीय विस्तारवादी नीतिमा मलजल हाले । तर एकदिन के बाध्यता आइलाग्यो उनले संसदमा चर्को राष्ट्रवादी भाषण ठोके । म त भन्छु, उनले राष्ट्रवादको नाउँमा बाध्यताको रोष पोखे । संसदमा उनले अवसर छोपेर खोक्रो राष्ट्रवादको अवसरवादी अस्त्र प्रहार गरे । तर धेरैको नजरमा उनी तुरुन्तै राष्ट्रवादी बने । मधेसी मसिहा र भारतीय खेतालाको उपमा छिनभरमै मेटाए । हामी यति कमजोर दृष्टिकोणीय धरातलमा खडा भएका रहेछौं कि राजेन्द्र महतो समेत राष्ट्रवादी देख्न शुरु भैहाल्यो ।

वास्तवमा कुनै पनि सत्ता, पद, लालसा र सम्मानमा लिप्त नभई राष्ट्र र जनताका लागि आफ्नो बलिदान गर्नसक्ने निष्ठावान् र आस्थावान् व्यक्ति मात्र सच्चा राष्ट्रवादी हुन सक्छ । कुनै पनि स्वार्थसँग राष्ट्रवादको  सौदाबाजी हुन्छ भने त्यो खोक्रो राष्ट्रवाद हो । देशको स्वाभिमान, सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता र पहिचानको संरक्षण गर्ने कुरा आम नागरिक कर्तव्य हो । कतिलाई लाग्छ होला, राष्ट्रवाद भनेको राष्ट्रियता पक्षको चर्को अभिव्यक्ति हो । जुन संकुचित र गलत हो । देश, जनता, सार्वभौमसत्ता, स्वाभिमान र संस्कृतिको खातिर जो आफुलाई निस्वार्थ भावनाले बलिदान गर्न तयार हुन्छ त्यो सच्चा राष्ट्रवाद हो । राष्ट्रवादले यो कुराको श्रेष्ठता दाबी गर्छ । खोक्रो राष्ट्रवाद शासकले आफ्नो अनुकूलताका लागि प्रयोग गर्दै आएको एउटा अस्त्र हो । त्यहाँ श्रेष्ठताको हल्लाखल्ला गरिन्छ । राष्ट्रवादको लेपनले अन्य सबै कमजोरी छोप्ने प्रयत्न गरिन्छ । राष्ट्रवाद र देशभक्ति एउटा नागरिकले गरेको आफ्नो जिम्मेवारी र कर्तव्यबोधसँंग सम्बन्धित हुन्छ । जसको पालना गर्दा अरुको सहअस्तित्व, मर्यादा र समानता उपेक्षित हुँदैन । त्यहाँ श्रेष्ठताको कुरा हुन्न । श्रेष्ठताको दाबीले अर्कोको अस्तित्वलाई गौण बनाउँछ । न्युनीकरण गर्छ । राष्ट्रवादमा श्रेष्ठता खोज्नु स्वयं खोक्रो राष्ट्रवाद हो ।

भारतीयले सप्तरीको तिलाठीमा बाँध बाँध्न थाले । दसगजामा निरन्तर भइरहेको भारतीय थिचोमिचो झन् बढ्यो । तिलाठीवासीले नेता गुहारे । सरकार गुहारे । प्रहरी-प्रशासन गुहारे । कतैबाट केही भएन । बाँध रोकिएन । विकल्प भएन, जनता आफैं जागे । भारतीयहरूसँग भिडे । मातृभूमिको रक्षा गरे । किनभने स्वाभिमानको कुरा थियो । देशको धरतीको रक्षाको कुरा थियो । तिलाठीका राष्ट्रवादी नायक देवनारायण यादव गर्व गर्छन् । उनलाई सत्तामा पुग्न राजनीतिको हैन, आफ्नो राष्ट्रको चिन्ता छ । उनलाई प्रदेश चाहिएको छैन, आफ्नो देश चाहिएको छ । माटो चाहिएको छ । उनले निस्वार्थ भावनाले भने, ‘म त मेरो ज्यानमा एक थोप रगत भएसम्म सिमानामा केही हुन दिन्न । एक मिनेट आँखा चिम्लियो भने तिलाठी भारत बनिसक्छ ।’ त्यहाँका जनता मातृभूमिको छातीमा परचक्री पाउ पर्न नदिन देवनारायण सँगै रक्ताम्मे हुँदै लडे  ।भारतीय लखेटिए । यो हो सच्चा, अच्छा र खास राष्ट्रवादको उदाहरण ।

तराई क्षेत्रमा भारतीय थिचोमिचो सधैं छ । यस क्षेत्रका जनता सधैं लुटिएका छन् । जंगे पिलरहरू उखेलिएका छन् । रातारात भूमि गुमाएर सुकुमबासी बन्नेको लेखाजोखा छैन । ‘मधेसीयो का मधेस’ भनेर भाषण गर्नेले आजसम्म के गरे ? तराईका राष्ट्रवादी जनताले हिसाबकिताब राखेका छन् । हिजोसम्म ढाकाटोपी ढल्काएर दरबार छिर्नेहरू आज धोती लगाएर मधेसका ‘नयाँ मुल्ला’ भएका छन् । सधैं नेपाली बोल्नेहरू आज पान चपाएर हिन्दीमा भाषण गर्दैछन् । मलाई लाग्छ राष्ट्रवाद र राष्ट्रियता टोपीमा हुँदैन, धोतीमा पनि हुँदैन । भाषामा मात्रै पनि हुँदैन । कोहि टोपीमा राष्ट्रवाद खोज्छन् त कोहि धोतीमा । टोपीमा र धोतीमा मात्रै राष्ट्रवाद खोज्नेहरु खोक्रा राष्ट्रवादी हुन् । माफिया, दलाल र कार्टेलरलाई राज्य सञ्चालनको ठेक्का दिन्छन् । धोती र टोपीमा राष्ट्रवाद खोज्छन् । राष्ट्रिय विधि विधान मृत बनाइन्छ । दलाल अर्थतन्त्रलाई अंगालो मार्छ्न् । कमिसनको खेलमा डुब्छ्न् । राष्ट्रिय अर्थतन्त्र मार्छ्न् सँगसँगै राष्ट्रवाद मर्छ । राष्ट्र लुट्नु पनि ठूलो राष्ट्रघात हो । राष्ट्रघात र मातृघात एकै हो । कहाँ हुन्छ राष्ट्रवाद ? राष्ट्रवाद आत्मामा हुन्छ । देशभक्ति भावनामा हुन्छ । देवनारायण यादवलाई सोधे हुन्छ, गोविन्द गौतमको बलिदानलाई सोधे हुन्छ । कहाँ हुन्छ राष्ट्रवाद ? के हो राष्ट्रवाद ?

राष्ट्रवाद भित्तामा कोरिने नारा होइन । आत्मामा अंकित हुने जीवन्त चेतना हो । राष्ट्रवाद राष्ट्रवासीको प्राण हो । त्यसका साक्षी राजेन्द्र महतोदेखि केपी ओलिहरू कदापि हुँन सक्दैनन्, देवनारायणहरू गोविन्द गौतमहरु हुन् । सामन्त, दलाल तथा नोकरशाहहरु साम्राज्यवाद र विस्तारवादसँग सम्झौता गर्न लालायित हुन्छन् र चर्का चर्का राष्ट्रवादका कुरा गर्छन् । कांग्रेसको राष्ट्रवाद, झापा काण्ड देखि भारतविरुद्ध सुरुङयुद्धको उद्घोष गरेर नेपाली भुमि फिर्ता लिन्छौं भन्नेसम्मका राष्ट्रवाद निस्किएको उहिल्यै हो । तर ती सबै कपट थिए । सत्तामा पुग्ने तरिका थियो । धेरै नेपाली तन्नेरी कपटको सिकार भए । कतिका पत्नी विधुवा बने । कति लालाबाला टुहुरा भए । ती सबै अन्धराष्ट्रवाद र उग्रराष्ट्रवादका नाटक थिए । यी नाटक जनप्रीय बन्ने र सत्ता क्यारिरिस्टको अभ्यासका रूपमा धेरै वर्ष चले । अन्ततः ती सबै खोक्रो राष्ट्रवादभित्र उम्रिएका राष्ट्रघातका असल नमुना साबित भए । उनीहरुको खोक्रो राष्ट्रवाद महाकाली, कोशी, गण्डक, माथिल्लो कर्णाली र नौमुरे सम्झौतामा छताछुल्ल पोखिए । अझै सबै छर्लंग भएन र ।

माथि नै भनियो, नयाँ नक्सामा भुमि समेटियो । धन्यवाद छ । यो राम्रो कुरा हो । यसैमा राष्ट्रवादको श्रेष्ठता मापन गर्नु उचित होइन । अब्बल समर्थनमा बलियो सरकार बनेको छ । भारतसँगको १९५० को असमान सन्धि खारेजीको कुरा खोइ । हामी नागरिकताको कुरा गर्छौ । नागरिकता नेपाली छ, तर हामी गोर्खा भएर काश्मिरमा पाकिस्तानीसँग लड्न बाध्य छौं । जो सँग दुश्मनी छैन उसैसँग लड्छौ । जसले हाम्रो छातीमा कुच्छ । सिमा मिच्छ । जनता हेप्छ र थिच्छ । उसैको राष्ट्र बचाउन हामी भिड्नुपर्ने । यो नागरिकताको अपमान भएन र । यो कस्तो राष्ट्रवाद हो । भारतीय सेनाले कालापानी छोड्न मानेन भने के होला ? मानौं, हामी हाम्रो भुमिबाट भारतीय सेना हटाउन लड्नु पर्ने भयो भने के एउटै आमाको कोखमा जन्मेका दुइ भाइ लड्ने ? पाकिस्तानसँग भिड्दा थुप्रै दाजुभाइ मरे । नेपालले के पायो ? न त भारतले सम्मान गर्छ । खोइ राष्ट्रवाद ? गोर्खा भर्तीकेन्द्र बन्द गर्नु पर्दैन । नागरिकता नीति कडा बनाइनु पर्छ । हाम्रो जस्तो मुलुकमा त्यस सम्बन्धि कडा नीति आवश्यक छ । छलफल हुनु राम्रो हो । तर नागरिकताको अपमान भएकोमा छलफल किन हुँदैन ? नेपाली नागरिकताको अपमान गर्नेहरु नै सत्तामा छन् । त्यही वर्गले नागरिकताबारे बहस गर्छन् जो आफ्ना छोराछोरीलाई नेपालको नागरिकता त्यागेर अमेरिकाको ग्रीनकार्ड, अष्ट्रेलियाको पीआर र बेलायतको रेसिडेन्सी हत्याउन लालायित हुन्छन् । नेपाली नागरिकता त्यागेको दिन हर्षोउल्लास मनाउछ्न् । त्यहीँ वर्ग राष्ट्रवादी ठहरिएर नागरिकता नीति कस्तो हुने भन्ने बहस गर्छन् । यो खोक्रो राष्ट्रवाद भएन र । त्यसैले असली राष्ट्रवाद स्वार्थमा होइन, देशभक्ति र स्वाभिमानमा हुन्छ । राम्रो दक्ष जनशक्ति सबै बाहिर गए देश कसरी बन्ला ? खोइ रोकेको ।

देशभक्ति र राष्ट्रवाद सिमानामा मात्र हुँदैन, त्योभन्दा ठूलो देशभक्ति भावनामा पनि हुन्छ । नेपाली जनता नेपाली मूलका भारतीय प्रशान्त तामाङ हुन् वा हाम्री तेरिया मगर हुन्, इन्डियन आइडल बनाएर जिताउँदा आफूले जितेको महसुस गर्छन् । पुष्षा बस्नेत हुन् वा अनुराधा कोइराला हुन्, सीएनएन सुपरहिरो र हिरो बनाउन रातारात नसुती भोटिङ गर्छन् । नेपाली जनता जातजाति, भाषाभाषी र क्षेत्रीयताभन्दा धेरै माथि छन् जुन छवि नेताले कायम गर्न सकेनन् । यो पनि जनताको सच्चा राष्ट्रवादको नमुना हो । जनस्तरमा नेपाली जनता चाहे मधेसी, पहाडी र हिमाली जे सुकै होस् सच्चा राष्ट्रवाद अंगालेर संघर्ष गरिरहे । नत्रभने देशका नीतिनिर्माता र सत्तामा बस्नेहरुले उहिले नै देशको तालाचाबी बुझाउने थिए । अझै भर छैन । संघीयता छिरेको छ । जातीयता, क्षेत्रियता र बहुराष्ट्रवादका मतियार सल्बलाइ रहेकै छन् । यदि शासकहरु वास्तविक राष्ट्रवादी हौं भने संघीयता खारेज गरौं । देश विखण्डन हुनबाट जोगाऔं । मुलुक सिक्किम, फिजी र भुटान हुनबाट बचाऔं । नक्साले मात्रै होइन । कालापानी बाट भारतीय सेना फिर्ता गरौं । १९५० लगायतका सबै असमान सन्धि खारेज गरौं । गोर्खा भर्ती खारेज गरौं । नेपाली नागरिकता त्यागेर विदेश पलायन हुने जनशक्ति रोक्न पहल गरौं आदि इत्यादी । होइन भने तिम्रो राष्ट्रवाद, राष्ट्रवाद होइन खोक्रो राष्ट्रवाद नै रहनेछ ।

प्रकाशित मितिः मङ्लबार, असार १६, २०७७     11:54:28 AM  |