20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

तीतो सत्य

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार १२, २०७७  


  • महानन्द ढकाल ।

भनाई र गराई फरक कुरा हुन् । मुख भनाइसङ्ग सम्बन्धित छ भने हात गराइसङ्ग । मुखले भन्छ हातले गर्छ । ‘भन्नेले गर्दैन, गर्नेले भन्दैन’ यो उखान त्यसै बनेको होइन । भनाई र गराइको तारतम्य सजिलो तरिकाले मिल्दै मिल्दैन । मुख र हातको प्रकृति, कार्य र स्थान फरक फरक छन् । गति र यति फरक
छन् । जिम्मेवारी र संरचना फरक छन् त्यसैले मुखले भने जस्तो हातलाई गर्न कठिन हुन्छ भने हातले चाहे जस्तो मुखले परिपुराउन सक्दैन । मुख र हातको सहकार्य भयो भने मात्रै कामले पूर्णता पाउँछ ।

उद्देश्यले मूर्त रुप लिन्छ । यो कुरा हरेक क्षेत्रमा लागू हुन्छ । शिक्षा क्षेत्रमा हेर्ने हो भने शिक्षकले मुखको काम गरिरहेका हुन्छन् भने हातले विद्यार्थीको । शिक्षकले जति सिकाउन् जब विद्यार्थीले मन लगाएर शिक्षकका कुराहरुलाई मनन गर्न सकेनन् भने विद्यार्थी फेल खान्छन् । शिक्षकहरु फेल खान्छन् । पाठ्यक्रम फेल खान्छ । शिक्षा नीति फेल खान्छ र अन्तिममा सरकार र राज्य नै फेल खान्छ । त्यसैले शिक्षकको भनाई र बिद्यार्थीको गराइमा तालमेल मिल्नु जरुरी हुन्छ । जब तालमेल मिल्छ नतिजा आफै पछयाउँदै आउँछ ।

स्वास्थ्य नीति एउटाले बनाउँछ कार्यान्वयन गर्ने अर्को हुन्छ । नीति बनाउनेले काम गर्नेको मनोभावलाई बुझ्न सकेन, वस्तु स्थिति , समय र सन्दर्भ पहिचान गर्न सकेन भने स्वास्थ नीति फेल खान्छ । राज्य कमजोर हुन्छ । कमजोर राज्यले दह्रा तथा दीर्घकालीन नीति निर्माण गर्नै सक्दैन । उद्योग, व्यापार तथा व्यवसायमा पनि यो नीति लागू हुन्छ । लगानी लगाउँदैमा कसैले सफल भएको सपना देख्छ भने त्यो दिवा सपना हो । कोरा सपना हो । कोरा सपना क्षणिक हुन्छ । दिवा सपनाहरु आखाँ उघार्नु पूर्व नै विलय हुन्छन् । घर बिग्रने, समाज बिग्रने, समुदाय बिग्रने र देश बिग्रने भनाई र गराईको तारतम्य नमिलेर नै हो । हाम्रै वरिपरिका छरछिमेकीहरु मध्ये कतिपय परिवारहरुको बिचल्ली भएका घटनाहरु हामीसँग उदाहरण बनेर बसेका छन् । बाबुआमाको भनाई र छोरा छोरीको गराइमा तारतम्य नमिलेर कतिपय बाबुआमाहरु वृद्धाश्रम पुर्याइएका छन् भने कतिपय छोराछोरीको बास सडकमा हुन पुगेको छ ।

बाबुआमासँग छोराछोरी डराउने र छोराछोरीसँग बाबुआमा डराउने भनाई र गराईको तारतम्य नमिलेर नै हो । परिवारभित्र भन्ने र गर्नेको तारतम्य मिल्न पुग्यो भने स्वर्ग खोज्न अन्त धाइरहनु पर्दैन । बोलाई र गराइको तारतम्य नमिलाएर दुनियाले दुख पाएका छन् । कुनै बेला परिश्रमले सिखर पुगेकाहरु क्षणभरमा गर्ल्याम गुर्लुम्मै ढलेर वेसीमा थन्किएका छन् । कुनै बेला फस्टाएको व्यवसाय टाट पल्टिनुको मुख्य जड बोलाई र गराईमा तारतम्य नमिल्नु नै हो । संघ संस्थाहरुप्रति विश्वास घट्नुको कारण पनि यही हो । राजनीतिक पार्टी तथा नेताहरुप्रति मोह घट्नु पछाडिको कारण पनि यही हो । सरकारप्रति विश्वास घट्नु, नारा जुलुस हुनु, भूमिगत जीवन स्वीकार्नु बोलाई र गराईप्रतिको दुरी बढ्दै जानु हो ।

राजनीतिक दलहरुले आफ्ना घोषणापत्रमा एउटा बोल्छन् । जितेर जान्छन् तर घोषणापत्रलाई सिरानीमा थन्काउँछन् र अर्कै गर्छन् । प्रतिपक्ष भए सरकारलाई दोष लगाउँछन् । सरकारकै भए आफ्नै पार्टीमा लाइन फरक पर्यो भन्न समेत लाज मान्दैनन् । अचम्म लाग्छ सरकारको खेदो खन्नेहरु मध्येका अधिकाशं दुई चार पटक मन्त्री भएकाहरु नै हुन्छन् । म के बोल्दै छु र म हुदाँ के के गरें भन्ने हेक्का कसैले राखेको छैन जस्तो गर्दछन् । वास्तवमा बोलाई र गराइको तारतम्य न त सत्ता पक्षको देखियो न त विपक्षको नै । बोलाईमा माहिर गराईमा बाहिर । ‘भुक्ने कुकुरले टोक्दैन’ यो भनाई ठिक हो जस्तो पनि लाग्छ । बोलीलाई प्रथामिकता दिनेहरुले कामलाई प्राथमिकता कहिल्यै दिदैनन् ।

संसदमा चर्को बोल्नेहरु नै पटक पटक विवादमा परेका घटनाहरु जनताले राम्रोसँग देखेका छन् । घाँटीमाथि ‘एक्टिभ’ हुनेहरु घाटीमुनि ‘प्यासिव’ नै देखिन्छन् त्यसैगरी घाटीमुनि ‘एक्टिभ’ हुनेहरु घाँटीमाथि ‘प्यासिभ’ । शोषक र शाषित एवम् मालिक र मजदुरमा यो कुरा हदैसम्म लागू हुन्छ । सफलताको कडी भनेकै बोली अनुसारको काम नै हो । ‘म थोरै बोल्छु धेरै गर्छु’ भन्ने भावनाको विकास भयो भने न त नेताले दुख पाउँछन् न त जनताले नै । न त घर बिग्रिन्छ न त देश नै । बोलाई र गराईको तारतम्यताले विश्वास जगाउँछ । विश्वासले नै हो आत्मियता बढाउने । आत्मियता र इमान्दारिताले नै मानिसलाई सफल बनाउछ ।

सफल बन्ने रहर नपालेको को नै हुन्छ र ? मान्छेका इच्छा र आकांक्षाहरु अनगिन्ति छन् । एउटा सफलता हात पर्नासाथ मान्छेले अर्को सफलताको सपना देख्न थाल्छ । यो मानवीय स्वभाव पनि हो । हरेक सपनालाई साकार पार्न र सबैको मन जित्न बोलाई र गराईको तारतम्य मिलाउनै पर्छ । जनता सबैको मनमा एउटै खाले प्रश्न छ त्यो हो हाम्रा नेताहरु, सत्तापक्ष र प्रतिपक्षहरु जिम्मेवार भएर बोलाई र गराईको तारतम्य कहिले मिलाउलान् ?

प्रकाशित मितिः शुक्रबार, असार १२, २०७७     7:59:03 AM  |