19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

‘अब थप सुरक्षित र संयमित हुने बेला आएको छ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३०, २०७७  

बाँकेका आठ वटै स्थानीय तहमा कोरोना फैलिसकेको छ । पछिल्लो पटक कोहलपुर नगरपालिकामा समेत चार जनामा कोरोना संक्रमण पुष्टि भएसँगै यहाँका सबै स्थानीय तहमा कोरोना संक्रमण पुष्टि भएको हो । यहाँका वडा नम्बर २ का १ र वडा नम्बर १२ का तीन जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ । सबै भन्दा बढी प्रभावित नरैनापुर गाउँपालिका भएको छ । यस गाउँपालिकामा कोरोनाका कारण एक जनाको मृत्यु समेत भइसकेको छ । पछिल्लो अन्य पालिकामा कोरोना संक्रमित निको हुँदै घर जान थालेका छन् । तर कोहलपुरमा सबै भन्दा पछि कोरोना संक्रमण पुष्टि भएको छ । यहाँका विभिन्न १७ वटा क्वारेन्टिनमा अहिले साढे ६ सयको हाराहारीमा नागरिक बसिरहेका छन् । कोहलपुरमा कोरोना संक्रमण पुष्टि भएपछि नगरको वर्तमान स्वास्थ्य अवस्था, क्वारेन्टिनमा बसेका नागरिकको व्यवस्थापन, आरडीटी, पीसीआर परीक्षण र स्वास्थ्यकर्मी परिचालन लगायतका विषयमा नगर स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलसँग मिसन टुडेका शुभाकर विश्वकर्माले गरेको कुराकानी ।

१. कोहलपुरमा समेत कोरोना संक्रमण पुष्टि भएपछिको अवस्थाका विषयमा जानकारी गराइदिनु न ?

कोरोना कहर विश्वभरी नै महामारीको रुपमा फैलिएको छ । हाम्रो देशमा समेत यसको प्रभाव बढ्दै गइरहेको अवस्था छ । यहाँका अन्य पालिकामा कोरोना पुुष्टि भएको थियो । तर कोहलपुरमा अहिलेसम्म कोरोना भाइरस संक्रमण पुष्टि भएको थिएन । बुधबार कोहलपुर १२ का तीन जना युवाहरुमा कोरोना संक्रमण देखियो । भने बिहीबार १ जनामा पुष्टि भएको छ । यसअघि गरिएको पीसीआर परीक्षण रिपोर्टमा उनीहरुको अवस्था पोजेटिभ भएको हो । यस अघि ठूलो संख्यामा आरडीटी परीक्षण गरिएको थियो । तीन जनामा कोरोना संक्रमण पुष्टि हुन बित्तिकै हामीले वडा नम्बर ९ मा रहेको कृषि विकास तालिम केन्द्रमा रहेको आइसोलेसनमा उनीहरुलाई राखिसकेका छौं । स्वास्थ्य अवस्था नर्मल छ । आत्तिनुपर्ने अवस्था छैन । स्वास्थ्यकर्मीले उनीहरुको उच्च निगरानी गरिरहेका छन् ।

२ नगरपालिका भरी भारतबाट आएका कति जना क्वारेन्टिनमा बसिरहेका छन् ?

कोहलपुरमा अहिले पनि भारतबाट केही संख्यामा आउने क्रम जारी छ । रोजगारीको शिलशिलामा भारत गएका यहाँका नागरिक विभिन्न सहरबाट सीमावर्ती रुपैडियाँ नाका हुँदै आइरहेको अवस्था छ । उनीहरुलाई नगरपालिकाले उद्धार गरिरहेको छ । पछिल्लो डाटा अनुसार कोहलपुरमा रहेका क्वारेन्टिनमा ६ सय ५१ जना नागरिक रहेका छन् । उनीहरुलाई कोहलपुर नगरपालिका भित्र रहेका विद्यालयमा निर्माण गरिएका क्वारेन्टिनमा राखिएको छ । उनीहरुको लागि अन्य व्यवस्था र व्यवस्थापन नगरपालिकाले नै गर्ने हो । हामीले भने त्यहाँका नागरिकहरुको स्वास्थ्य परीक्षण लगायतका स्वास्थ्य क्षेत्रमा गर्नु पर्ने काम निरन्तर गरिरहेका छौं । उनीहरुको १४ दिन पुग्यो भने आरडीटी जाँच गर्छांै । उक्त रिपोर्ट नेगेटिभ आएका घर पठाउने काम भइरहेको छ । तर पोजेटिभ भएको खण्डमा मात्रै पीसीआर परीक्षण हुन्छ । पीसीआर परीक्षणको क्रममा रिपोर्ट पोजेटिभ देखियो भने आइसोलेसनमा लिएर उपचार गर्ने नेगेटिभ आयो भने घर पठाउने काम भइरहेको छ । अहिलेसम्म नगरपालिकामा २ सय २९ जनाको आरडीटी जाँच भएको छ । त्यसमध्ये ८ जनाको पोजेटिभ आएपछि पीसीआर परीक्षण गरिएको थियो । तीन जनाको पीसीआर रिपोर्ट पनि पोजेटिभ देखिएको हो । आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आएका नागरिक घर फर्किसकेका छन् ।

३. नगर स्वास्थ्य शाखासँग अहिले आरडीटी र पीसीआर परीक्षणको क्षमता कति छ ?

यसमा के छ भने तपाईलाई जानकारी गराउन चाहन्छु । प्रदेश अन्र्तगतको स्वास्थ्य कार्यालय रहेको छ नेपालगञ्जमा । यस्तै जिल्लास्तरको सीसीएमसी समेत रहेको छ । स्वास्थ्य कार्यालय र सीसीएमसीको समन्वय तथा सहकार्यमा हामीले परीक्षणको लागि आवश्यक स्वास्थ्य सामग्री ल्याउने हो । कोहलपुरमा खास आरडीटीको लागि खास्सै समस्या छैन । हामीले मगाए अनुसार पाइरहेको अवस्था छ । अहिलेसम्म नगर स्वास्थ्य शाखालाई ४ सयको हाराहारीमा आरडीटी परीक्षणको लागि किट आएको छ । अबको दुईदिनमा ठूलो संख्यामा आरडीटी परीक्षण गर्दैछौं । त्यस सकियो भने फेरी उताबाट प्राप्त हुन्छ । तर यहाँ पीसीआर गर्नको लागि भिटिएमको एकदमै अभाव छ । यसले गर्दा हामीलाई समस्या हुने देखिएको छ ।

४. क्वारेन्टिनमा बसेका नागरिकको संख्यालाई हेर्दा अनिवार्य पीसीआर गर्नु पर्ने अवस्था छ, छिटो भन्दा छिटो कसरी व्यवस्थापन हुन्छ त ?

पीसीआरको लागि नगरपालिकाबाट हामीले १ सय भिटिएम खरिद गरेका छौं । अर्को तिर हामीले स्वाब संकलन गरेर पठाउन समेत कम्तिमा एक साता रोक्नुपर्ने बाध्यता रहेको छ । टेस्ट नभएर लामो समय पर्खिनुपर्ने अवस्था रहेको छ । यसले हामीलाई पनि अप्ठ्यारो अवस्था सिर्जना गरिदिएको छ । भेरीमा एउटै मात्रै ल्याब भएको र धैरै ठाउँबाट स्वाब आउने भएकोले त्यसको असर हामीलाई पनि परेको छ । त्यसले गर्दा पीसीआर ग¥यो अनि उता रोकिन्छ । नागरिक र अन्य सरोकारवाला हामीलाई प्रश्न गर्नु हुन्छ । गाह्रो अवस्था आएको छ । ल्याबको दायरा र क्षमता बढाउनुको विकल्प छैन । यसमा हामीले मातहतका निकायमा समन्वय गरिरहेका छांै ।

५. कोहलपुरका कोरोना संक्रमितको स्वास्थ्य अवस्था चाहि कस्तो छ नी ?

उहाँहरुको अवस्था जटिल छैन । तीनै जनाको स्वास्थ्य अवस्था हेर्दाखेरी एकदमै सामान्य छ । कोरोना नै कुनै पनि लक्षण छैन । परीक्षण गर्दा पोजेटिभ देखियो । संक्रमित हुनुभयो । आइसोलेसनमा राख्नैपर्ने स्थिती हुन्छ । अब उहाँहरु १४ दिन आइसोलेसनमा बस्नुहुन्छ । स्वास्थ्यकर्मीको निगरानीमा । त्यस बीचमा पीसीआर जाँच पनि हुन्छ । लगातार रिपोर्ट नेगेटिभ आयो भने हामी उहाँहरुलाई घर पठाउँछौ । अर्कातिर सबै जना युवाहरु भएकोले पनि खास्सै समस्या छैन । दीर्घ रोगी बृद्ध अवस्थाका व्यक्ति भइदिएका भए समस्या हुन्थ्यो । अब कुनै पनि बेलामा उहाँहरुको स्वास्थ्यमा थप समस्या देखियो । अवस्था थप जटिल भयो भने खजुरामा रहेको कोरोना विशेष अस्पतालमा पठाइन्छ । हामीले धेरै जटिल अवस्था देखेका छैनौं । जोखिम भने पक्कै छ । यसमा नगर स्वास्थ्य शाखा एक दमै गम्भिर भएर लागि रहेको छ । अब हामी उहाँहरुको स्वास्थ्योपचारका लागि सक्रिय हुन्छौ । त्यही अनुसार स्वास्थ्यकर्मी समेत खटिएका छन् । नियम संगत रुपमा स्वास्थ्यकर्मीको निगरानी उपचार हुन्छ । बिहीबार कोरोना देखिएकामा समेत लक्षण छैन ।

६. आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आउँदा पीसीआर नै नगरि नागरिकलाई घर पठाउँदा पछि समुदाय स्तरमा कोरोना संक्रमण फैलिने खतरा हुन्न र ?

यसमा के छ भन्ने हामीले माथिको निति निर्देशन मान्ने हो । उपप्रधानमन्त्रीको नेतृत्वमा रहेको केन्द्रीय सीसीएमसीले आरडीटी परीक्षण रिपोर्ट नेगेटिभ आएमा घर पठाउन निर्देशन गरेको छ । सोही अनुसार काम भएको हो । जहाँसम्म तपाईले भन्नु भए जस्तै देशभर अनिवार्य पीसीआर परीक्षणको माग समेत भइरहेको छ । हामीले माथिको निर्देशन मान्नैपर्छ । इन्कार गर्न मिल्दैन । हामीलाई पहिलो चरणमा आरडीटी परीक्षण गर्ने र रिपोर्ट पोजेटिभ आएमा पीसीआर गर्ने निर्देशन बमोजिम काम भइरहेको छ । पछि आरडीटी रिपोर्ट आएर घर गएमा नेपालमा कोरोना संक्रमण देखिएको अवस्था त छ । अर्कातिर फेरी डब्लुएचओले १४ दिनसम्म घरमा बसेका व्यक्तिमा कोरोना सार्ने क्षमता कमजोर हुन्छ भनेको
छ । कोरोनाको लक्षण देखिएमा समेत अरुलाई सार्न सक्ने अवस्थामा न्युन रहने कुरा गरेको छ । अब भोली ती व्यक्तिमा कोरोना देखि हाल्यो भनेछ पीसीआर गर्नु नै प¥यो नि । यसमा सबैले उच्च सुरक्षा अपनाउनु पर्छ ।

७. संक्रमण बढ्ने सम्भावना उच्च छ, स्वास्थ्य जनशक्ति कत्तिको प्रयाप्त छ ?

कोहलपुरमा कोरोना संक्रमण हुन नदिन सबै सक्रिय रुपमा लागि परेको थियो । यसमा यहाँका जनप्रतिनिधि, राजनीतिक दल, युवा, व्यापारी सम्पूर्णले नगरपालिकालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सघाइरहनु भएको अवस्था छ । जहाँसम्म स्वास्थ्य जनशक्तिको कुरा छ । हामीले अधिकतम स्वास्थ्यकर्मी घटाइरहेको अवस्था छ । कोहलपुरमा १२ वटा स्वास्थ्य संस्था, एक स्वास्थ्य शाखा रहेको यि सबै स्वास्थ्य संस्थाको जनशक्ति सक्रिय रुपमा लागि रहेको छ । क्वारेन्टिनदेखि आइसोलेसनसम्म यहाँ कै जनशक्ति खटिएको छ । न्युन जनशक्तिका बावजुत काम गरिहेका छौं । समय मिलाएर व्यवस्थापन भइरहेको छ ।

८. अन्त्यमा कोहलपुरमा उच्च स्वास्थ्य सर्तकता अपनाउनको लागि सम्पूर्ण नगरबासीमा के भन्न चाहनु हुन्छ ?

म सम्पूर्ण नगरबासीहरुलाई संयमित भएर सुरक्षित रहन आग्रह गर्न चाहन्छु । अहिले कोरोना भाइरसले विश्वभरी नै महामारीको रुपमा लिइरहेको अवस्थामा आफ्नो स्वास्थ्य अवस्थाको ख्याल गर्नु नै प्रमुख जिम्मेवारी हो । हिजोका दिनसम्म कोहलपुर अछुतो थियो । तर आज कोरोना संक्रमण देखिसकेको छ । सबैलाई सुरक्षित रहनको लागि अपिल गर्न चाहन्छु । घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गरांै । सरसफाईमा ध्यान दिउ । सरकारको नियमको पालना गरौं । सकभर घरभित्रै बस्ने, भीडभाडमा ननिस्कने गर्नुपर्छ । तपाईको सानो सहयोगले अझै सुरक्षित हुने सहयोग हुनेछ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३०, २०७७     7:07:29 AM  |