25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

महाशिला खोपी १०८ फिट अग्लो अर्धनारेश्वर महादेवको मूर्ति बनाइदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ५, २०७७  

पर्वत ।

पर्वतको महाशिला गाउँपालिकामा पर्ने महाशिला ढुंगा अर्धनारेश्वर महादेवको मूर्ति कुद्ने कार्यका कारण विवादमा आएको छ । लकडाउनको मौका छोपी गैह्रकानुनी तवरमा महाशिलामा मूर्ति कुद्ने काम भएको स्थानीयको आरोप छ ।

महाशिला गाउँपालिकाका ५ का वडाध्यक्ष जीवन उचाइ ठकुरीले ऐतिहासिक महत्व बोकेको संयुक्त राष्ट्र संघ, युनेस्कोको सूचीमा सूचीकृत हुने सम्भावना बोकेको एसियाकै ठूलो विशाल महाशिलाको अग्रभागमा खोपी १०८ फिटको अर्धनारेश्वर महादेवको मूर्ति कुद्ने कामको सुरुवात हुदैछ भनी सामाजिक सञ्जालमार्फत् राय सुझाव मागेका थिए । जसकारण पछिल्लो समय स्थानीयबासी, बुद्धिजीवीबाट नैं यसको बिरोध हुँदै आएको छ ।

केही समय अगाडि महाशिला गाउँपालिका-५, का वडाध्यक्ष जीवन उचाइ ठकुरीले न्युज करोबारसँग कुरा गर्दै दीर्घकालिन योजना अन्तर्गत महाशिला परिधिभित्र नै १०८ फिट अग्लो शिवको मूर्ति निर्माण गरेर यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउने, शिला परिक्रममा गर्नका लागि सिसाको पुल बनाउने, संस्कृति विद्यालयको स्थापना गर्ने, २०० ज्येष्ठ नागरिक राख्न सकिने वृद्धाश्रम बनाउने, महाशिला क्षेत्रमा १०८ धाराको निर्माण गर्ने बताएका थिए । तर शिलालाई नै तोडमोड गरेर बनाउने भनेका चाहिँ होइनन् ।

अहिले आएर उपभोक्ता समितिले शिलालाई खोपी अर्धनारेश्वरको मूर्ति बनाउने कार्य अगाडि बढाउने या नबढाउने सम्बन्धमा स्थानीयको भेलामा छलफल गरेपश्चात् मात्र निर्णय गर्ने भनि कार्य स्थगित गरेको छ ।

कानून के भन्छ त ?

मुलुकी अपराधसंहिता, २०७४ को दफा १४८ ले देवस्थल, सार्वजनिक सम्पदाको हानी, नोक्सानी वा क्षति पुर्‍याएमा ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुन्छ । ऐ. को दफा १४९ मा प्राकृतिक सम्पदामाथि त्यसको प्राकृतिक बनावट वा सौन्दर्यमा कुनै किसिमले हानी, नोक्सानी वा क्षति पुर्‍याएमा गर्ने वा गराउने व्यक्तिलाई १० वर्षसम्म कैद र बिगो नखुलेको भएमा १० लाख रुपैयाँसम्म जरिवाना हुन्छ ।

प्राचिन स्मारक संरक्षण ऐन, २०१३ को दफा ८ ले यस्ता पुरातत्व महत्व राख्ने वस्तुको संरक्षणको लागि जमिन पनि खन्न नपाइने र नोक्सानी गरेमा १ लाख रूपैयाँसम्म जरिवाना र ५ वर्षसम्म कैद वा दुवै सजाय हुने समेत उल्लेख गरेको पाइन्छ ।

कोरोनो भाइरस (कोभिड १९) को महामारी फैलिई देश बन्दाबन्दी रहेको अवधिमा ऐतिहासिक सम्पदा महाशिलामा काम भइरहेको छ । तर, बिरोधसहित । महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले २/३ वर्षदेखि नैं प्रदेश, स्थानीय, केन्द्र सरकारको समन्वयमा नै काम सुरु भएको बताए । विकास विरोधीहरूले नै शिला विकास या व्यवस्थापनमा विरोध गरेको उनले आरोप लगाए । उनले भने, महाशिला आहिलेसम्म विश्व सम्पदामा सूचीकत नभएको तर विकास विरोधी व्यक्ति ले नै यसको बिरोध गरेका हुन् ।

शिलालाई बिगार्ने कुरा होइन, व्यक्तिगत कालिगढद्वारा शीलाको पूर्व तिरको भागलाई खोपी मूर्ति कुद्ने भन्ने मात्रै हो काटेर फाल्ने भनेको होइन, बिध्वंश पार्ने भनेको होइन जस् आकार मात्रा दिने भनेको हो, उनले भने । व्यक्तिगत स्वार्थको कुराले यसको बिरोध भएको उनले बताए । विश्व सम्पदामा सुचीकृत वस्तु पनि मानिसले फुटाएर बनाएका वस्तु छन्, तेस्तै महाशिलामा पनि १०८ फिटको मूर्ति निर्माण गर्न सकेमा विश्व सम्पदामा सुचीकृत हुने प्रबल सम्भावना रहेको उनको भनाइ छ । अहिले भइरहेको काम पनि पुरातात्विक विभागको नियमानुसार भएको उनले बताए । पूर्व भागमा नै रहेको प्राकृतिक रुपलाई परिवर्तन गरी अर्धनारेश्वरको कृतिम मुर्ति पुरातात्विक नियमानुसार भएको पौडेलको भनाइ छ ।

अबको बाँकी काम गाउँपालिकामा छलफलपछि मूर्ति कुद्ने लगायतका कार्यलाई निरन्तरता दिने उनको भनाई छ । पछिल्लो समयमा महाशिलाको विकासको लागि चासो देखाएको पाहिन्छ । गत वर्ष नै १०.८ फिट शिवको मूर्ति निर्माण कार्य सम्पन्न भैसकेको छ । अहिले चाहिँ डिपिआरमा रहेर बाँकी कामहरू हुने तरखरमा रहेका छन् । स्थानीय सरकार तथा निर्माण समितिले शिला खोप्ने कार्य लकडाउनका कारण रोकेको छ । #www.newskarobar.com

प्रकाशित मितिः सोमवार, जेष्ठ ५, २०७७     2:41:06 PM  |