19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बाँकेमा खुकुलो बन्दै लकडाउन, दिउँसो अत्यावश्यकीय पसल खोल्न पाइने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख २६, २०७७  

कोहलपुर ।

बाँकेमा आज शुक्रबारदेखि दैनिक चार घण्टा अत्यावश्यकीय साम्रगीका पसलहरु खोल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार एक सूचना जारी गरेर दैनिक ११ बजेदेखि दिउँसो ३ बजेसम्म अत्यावश्यकीय साम्रगीका पसलहरु खोल्न पाइने जानकारी दिएको हो । नेपालगञ्ज क्षेत्रभित्र स्थानीय प्रशासनले लगाएको निशेधाज्ञा समेत बिहीबार राती १२ बजेदेखि सकिएको छ । अब सिल गरिएका क्षेत्रमा मात्र निशेधाज्ञा लागू हुने स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहीबार भएको सर्वदलीय, सर्वपक्षीय बैठकले अत्यावश्यकीय सामाग्री खरिदका लागि बिहान ११ बजेदेखि ३ बजेसम्म खुकुलो बनाउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । यसअघि सिल गरिएका कोरोना संक्रमित क्षेत्रमा निषेधित क्षेत्रको आदेश कायमै रहनेछ । प्रमुख जिल्ला अधिकारी खड्काले रानी तलाउ, त्रिभुवन चोक र वि.पि. चोकमा रहेका सब्जी मण्डी अर्को निर्णय नभएसम्म बन्द रहने निर्णय गरिएको बताए । ‘यहाँ रहेका सब्जी मण्डीहरुमा भिडभाड हुने भएकाले अर्को निर्णय नहुँदासम्म बन्द गर्ने निर्णय भएको छ’ उनले भने, ‘तीन वटा सब्जी मण्डीहरु अर्को निर्णय भएपछि मात्र खुल्नेछन् ।’

जिल्लामा अत्यावश्यक सेवा सञ्चालन र दैनिक उपभोग्य वस्तु विक्री वितरणका पसल व्यवसाय विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उच्च स्वास्थ्य सजगता र सामाजिक दुरी कायम गरी सञ्चालन गर्ने, अत्यावश्यक काममा बाहेक कोही पनि व्यक्ति घर बाहिर ननिस्कने, सवारी अनुमति प्राप्त र अत्यावश्यक वस्तु तथा सेवामा प्रयोग हुने बाहेकका कुनै पनि सवारी साधन सञ्चालन नगर्ने लगायतका निर्णय भएको थियो ।

लकडाउनका बेला जिल्ला प्रशासनले जारी गरेको पास बाहेकका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिए । बैठकमा जिल्ला सुरक्षा समितिका सदस्य, बाँकेका राजनीतिक दलका प्रतिनिधि तथा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीबास्तव, नेपालगञ्ज उपमहानगरका मेयर डा. धवलशम्शेर राणा लगायतको सहभागिता रहेको थियो । २३ जना कोरोना संक्रमित फेला परेपछि स्थानीय प्रशासनले गत मंगलबार बिहान ११ बजेदेखि बिहीबार राती १२ बजेसम्म नेपालगञ्ज क्षेत्रभित्र निशेधाज्ञा जारी गरेको थियो ।

प्रकाशित मितिः शुक्रबार, बैशाख २६, २०७७     7:52:18 AM  |