25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

भाइरस, लकडाउन र भर्चुअल लर्निङ्ग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख १०, २०७७  

 बेगम थापा ‘निश्चल’  कोरोना भाइरसले निम्त्याएको लकडाउनले अर्थतन्त्रलाई त डामाडोल पारेकै छ त्यत्तिकै यसले शिक्षा क्षेत्रलाई पनि नराम्ररी प्रभावित गरेको छ । माध्यमिक शिक्षाको फलामे ढोका मानिने एस.ई.ई. परीक्षा चैत्र ६ गतेदेखि अनिश्चित समयका लागी रोकिँदा करिब पाँच लाख विद्यार्थीहरु प्रभावित भएका छन् भने वैशाष ८ गतेदेखि हुने भनिएको कक्षा ११ र कक्षा १२ को परीक्षा रोकिदा पनि लाखौँ विद्यार्थीहरु यसको चपेटामा परेका छन् ।

बाल कक्षादेखी कक्षा ९ सम्मका करीव ५१ लाख विद्यार्थीहरु वैशाष ५ गतेदेखी परीक्षा सकेर अन्तिम नतिजाको पर्र्खाइमा बसेका छन् ।तैपनी कोरना भाइरस र लकडाउनका कारण न त कक्षा १० ,११ र १२ को परीक्षाको मिती तोक्ने स्थिति छ न बाल कक्षादेखी कक्षा ९ सम्मको नतिजा प्रकाशन गर्ने स्थिति बनेको छ । हाम्रो देश नेपालमा पनि यस परिस्थितिमा शिक्षा क्षेत्रमा केही गर्न सकिन्छ भनेर केही शिक्षाविदका विभिन्न पत्रपत्रिकामा आशावादी लेखहरु पनि आइरहेका छन् । कतिपयले भने अहिले भर्चुअल लर्निङ्गका लागी नेपालमा तयारी नपुगेको भनेर समस्या देखाइरहेको पाइन्छ ।नेपाल सरकारको तथ्याङ्कमा करिव अधिकांश माध्यमिक विद्यालयहरुमा कम्युटरको व्यवस्था गरीसकेको तथ्याङ्क छ । शिक्षक सेवा आयोगले पनि कम्युटरलाई विशेष प्राथमिकता दिएको पाइन्छ ।

अहिले हामीमाथी शिक्षामा बाधक भाइरस र लकडाउन पहाड बनेर खडा भएको छ । तैपनी,नहुने मामा भन्दा कानो मामा नै जातीू भने झँै हामी शिक्षक र विद्यार्थी मिलेर यस कठिन परिस्थितिमा घरमै बसेर भएनि केही न केही रचनात्मक कार्य भने गर्न सकिन्छ भन्ने तर्कहरु पनि आइरहेका छन् । जसले लकडाउनको समयमा विद्यार्थीहरुको नैराश्यता हटाउनुका साथै यस समयको पनि उपयोग हुन सक्छ र विद्यार्थीहरुलाई थप केही राहत हुन सक्छ ।

जस्तैः नेट,ईन्टरनेट पहुँच नभएका ठाऊँमा नेपाल सरकारको सहयोग भएमा रेडियो र टेलिभिजनबाट शिक्षण गर्न सकिन्छ भने नेट र ईन्टरनेट पहुँच भएका ठाऊँहरुमा भने जुम र अन्य गुगल एप्सबाट भर्चुअल लर्निङ्गको सुरुवात गर्न सकिन्छ । विश्वभरी फैलिएको यस महामारी तत्कालै नियन्त्रन हने सम्भावना भने कहिँकतै देखिदैन । त्यसैले, यस समयमा हामी शिक्षण पेशामा आवद्ध व्यक्तिहरुले स्थानिय सरकारको सहयोगमा आफ्ना विद्यार्थीहरुलाई मोबाइल , रेडियो र टेलिभिजनबाट विभिन्न शैक्षिक सामाग्रीहरु प्रशारण गरी रेडियो र टेलिभिजनमा राम्रा–राम्रा शैक्षिक कार्यक्रम सुन्ने र हेर्ने बानीको विकाश गराउँन सकिन्छ ।

साथै यतिबेला हौसला बढाउने खालका मनोवैज्ञानिक ज्ञान पनि दिन सकिन्छ ,जुन हाम्रो पेशागत धर्म पनि हो । कोर्स भदौबाट या त मंसिरबाट पढाउदा पनि सकिन्छ भनेर यतिबेला हामी घरबाटै साना कामहरु गर्ने स्थिति हुँदाहँुदै पनि सुतेर बस्न मिल्दैन । किनकी बर्षभरी पढाउदा पनि नेपालका अधिकांश विद्यालयहरुबाट गणित, विज्ञान, अंग्रजी, सामाजिक आदि विषयका कोर्स पुरा नभएका गुनासाहरु बर्षेनि सुन्नमा पाइन्छ । शिक्षामा निरन्तर कलम चलाउदैँ आउनुभएका शिक्षाका उपसचिव मिसन टुडे दैनिकको एक लेखमा ‘लकडाउन थप तयारी र ज्ञान वृद्धि गर्ने अवसर हो, भन्नुहुन्छ ।

शिक्षाविद् डा. मन प्रसाद वाग्ले अनलाइन खबरमा एक लेख लेख्दै भन्नुहुन्छ, ‘बार्षिक परीक्षाको नतिजा नआउँदा विद्यार्थीहरुमा उकुस मुकुस भएकाले अब नतिजा प्रकाशन गर्दा उनिहरुमा उत्साह आउँछ ।’ साथै एस.ई.ई.परीक्षा सधैँका लागी हटाउने तर्क गर्नुहुन्छ । साउन–भदौबाट शैक्षिक सत्र सुरु गर्न सकिएतापनि गणित, विज्ञान र अंग्रेजी विद्यार्थीहरुले कभर गर्न नसक्ने उहाँको तर्क छ । त्यसैगरी विभिन्न पत्रपत्रिकामा अन्तरवार्ता र लेख लेख्दै डा. विद्यानाथ कोइराला पनि बिद्यार्थीहरुको नतिजा नरोकौँ, प्रविधिबाट पढाऔँ भन्ने कुरामा जोड दिनहुन्छ । अहिले प्रसिद्ध नेपाल अंग्रजी भाषा शिक्षक संघ नेल्टाका विभिन्न शाखा नेल्टा बागमती प्रदेश, नेल्टा बाँकेले देश विदेशका प्रशिक्षकहरुद्धारा भर्चुअल लर्निङ्ग संचालन गरिरहेका छन् । रेडियो मिसनकोहलपुर,सामुदायिक रेडियो मदन पोखरा आदि विभिन्न एम.एम रेडियोहरुले अहिले एस.ई.ई. विशेष कक्षाहरु संचालन गर्दै आइरहेका छन् ।

यसै गरी पाँचखाल नगरपालिकाले यहि पन्ध्र गते सामुदायिक तथा संस्थागत विद्यालयहरुको बार्षिक नतिजा फोन तथा विभिन्न सञ्चारका माध्यमहरुद्धारा सुनाएर घरमा बसिरहेका विद्यार्थीहरुलाई मोबाईल, रेडियो, टेलिभिजन र इन्टरनेटको पहुँच भएका विद्यार्थीहरुलाई भर्चुअल कक्षा दिने गरी निर्णय गरेको छ । अन्तमा, विन्सट चर्चिलले भनेझैँ ‘निराशावादीहरु अवसरमा समस्या देख्दछन् भने आशावादीहरु समस्यामा पनि अवसर देख्दछन् ।’

तथापि यस विपत्तीमा पनि हामीले खाली समयको सदुपयोग गर्दै शिक्षामा केही गर्न सक्यौँ भने यस्ता कार्यक्रमहरु पाठ्यक्रम अघि बढाउने औपचारिक नभएतापनि लाखौँ विद्याथीहरुका लागी शैक्षिक राहत कार्यक्रम सावित हुन सक्छन् । वास्तवमा हामीलाई अहिले कोरोना भाइरसले दिएको सन्देश पनि हामी ढिला या चाँडो अब भर्चुअल लर्निङ्गमा जानु नै हो ।

सायद कोरोना पछिको संसार पनि डिजिटल तिर जान्छ कि ?आशा गरौँ सायद नेपाल सरकारको पनि अब ध्यान यता जाला कि ? त्यसो भए आजैदेखि हामीले प्रयास किन नगर्ने ?आखिर गरे असम्भव के छ होला र? सायद एन्थानी जे डिएञ्जेलोले त्यसै भनेनन् होला ‘सिकाइ र शिक्षाको लागि रुची बनाइराख्यौ भने तिमीलाई अगाडी बढ्नको लागि कसैले रोक्न सक्दैन ।’

प्रकाशित मितिः बुधबार, बैशाख १०, २०७७     6:17:51 PM  |