25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

गौरिफन्टा नाकाबाट छिरेका बाँकेका १६ क्वारेन्टाइनमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र २६, २०७६  

नेपालगञ्ज ।

नेपाल भारत सीमाको सुदुरपश्चिम प्रदेशको कैलाली स्थित गौरीफन्टा नाकाबाट छिरेका मध्ये बाँकेका १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार कञ्चनपुरका ४१ वर्षीय पुरुष, कैलालीका २१ वर्षीय युवक र कैलालीकै ४३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । ती मध्ये दुई पुरुष भारतबाट घर फर्किएका थिए ।

गौरीफन्टा नाकाबाट छिरेका एक हजार बढी हुलमध्ये १ जनामा कोरोना संक्रमण देखिएको थियो । उक्त २१ वर्षिय युवालाई कोरोना संक्रमण देखिएपछि सोही समुहमा एकैसाथ नेपाल प्रवेश गरेका १०४३ जनाको विभिन्न जिल्लाहरुमा अहिले खोजी जारी राखिएको छ ।

सो समुहमा बाँके जिल्लाका १६ जना पुरुषहरु आएको खुलेसँगै उनीहरुलाई घरबाट ल्याएर क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । व्यक्तिमा कोरोना देखिएपछि सो नाकाबाट छिरेकाहरुलाई प्रशासनले खोजेको थियो ।

यसैगरी उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय व्यक्ति चैत १३ गते कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएका थिए । २१ वर्षीय युवक कैलालीको प्रतापपुरका र ४१ वर्षीय पुरुष कञ्चनपुरको बेदकोटका बासिन्दा हुन् ।

गौरीफन्टामा नाकामा रहेका १०४३ जनालाई प्रहरीले गत चैत्र ११ गते राति २१ वटा बसमार्फत गन्तव्य पठाएको थियो । सोही समुहमध्येका एक जनालाई कोरोना संक्रमण देखिएपछि अन्यहरुलाई समेत क्यारेन्टाइनमा राखेर कोरोना परीक्षण गरिन लागेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक बीरबहादुर ओलीले कोरोना संक्रमित युवासँगै आएका बाँकेका १६ जनालाई क्यारेन्टाइनमा ल्याएर राखिएको जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, चैत्र २६, २०७६     7:45:55 AM  |