18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

कोरोना भाइरसको महामारी सुरू भएको चीनको वुहानबाट लकडाउन हटाइयो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र २६, २०७६  

एजेन्सी

कोरोना भाइरसको महामारी सुरु भएको चीनको हुबे प्रान्तको वुहान शहरमा लगाइएको लकडाउन हटाइएको छ।

लकडाउन हटेसँगै अब स्मार्टफोनमा व्यापकरुपमा प्रयोग हुने स्वास्थ्य एपमा हरियो कोड भएकाहरू जनवरी २३ यता पहिलोपटक वुहान शहर बाहिर जान पाउनेछन्।

यसैगरी लकटाउन हटाएपछि यातायातका सेवाहरू पनि संचालनमा आएका छन्।

मंगलबार वुहानमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्य भएपछि लकडाउन हटाइएको हो।

कोरोना भाइरसको संक्रमण सुरु भएपछि १ करोड १० लाख मानिसको बसोबास रहेको वुहानमा संक्रमण रोकथामका लागि यसअघि कहिल्यै नलगाइएका प्रतिबन्धहरू लगाइएको थियो।

गत महिनामा साताभरमा कोरोना भाइरसका नयाँ संक्रमित नभेटिएपछि त्यहाँका किनमेल केन्द्रहरू खोलिएको थियो भने संक्रमण नभएका आवासिय क्षेत्रका केही मानिसहरूलाई दुई घण्टाका लागि बाहिर जाने अनुमति दिइएको थियो।

बुधबारबाट अनुमति प्रदान गरिएका बासिन्दाले सार्वजनिक यातायात प्रयोग गर्न पाउनेछन्।

यसका लागि उनीहरूले क्यूआर कोड स्क्यान गर्नुपर्नेछ। उनीहरूको स्वास्थ्यसँग सम्बन्धित हुने ती क्यू आर कोड मानिसपिच्छे फरक हुनेछ। सो कोड हरियो देखिएकाहरूलाई आवागमनमा कुनै रोक हुनेछैन।

त्यहाँ सिमितरुपमा हवाइसेवा पनि सुरु हुने भएको छ। वुहानबाट करिब २ सय वटा उडानहरूको तालिका तय भएको छ।

यातायातमा केही सीमाहरू तय गरिएका छन् भने स्कूलहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द नै रहनेछन्।

यसैगरी चीनका अन्य क्षेत्रहरूमा लकडाउन कायमै रहेको छ।

राजधानी बेइजिङ्गमा सोमबार कोरोना भाइरसका ४५ जना नयाँ संक्रमित भेटिएपछि त्यहाँका अधिकारीहरूले नयाँ कडा नियमहरूको घोषणा गरेका छन्। घोषणा अनुसार शहर प्रवेश गर्ने जोकोही क्वारेन्टाइनमा बस्नुपर्नेछ र स्वास्थ्य जाँच गराउनुपर्नेछ।

प्रकाशित मितिः बुधबार, चैत्र २६, २०७६     7:28:16 AM  |