25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

कोरोना संक्रमित नवौं युवा महाकाली ट्युवबाट तरेका थिए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र २३, २०७६  

कञ्चनपुर

सुदूरपश्चिममा शनिबार कोरोना संक्रमित तेस्रा युवा अवैध नाकाबाट नेपाल छिरेको खुल्न आएको छ । उनका साथमा ११ जनाको टोलीले लोहाघाट हुँदै खल्लाबाट नेपाल प्रवेश गरेको थियो ।

भारतसँगको नाका बन्द भएपछि लकडाउनको अवधिमा उनी उत्तराखण्डको लुहाघाटबाट हिँडेर चैत १३ गते राति टनकपुर पुगेका थिए । दोस्रो दिन चैत १४ मा बिहानै भीमदत्त नगरपालिका–९ को खल्ला क्षेत्रबाट ट्युबबाट तरेर संक्रमित सँगै ११ जना नेपाल प्रवेश गरेका हुन् ।

उनीहरूलाई नदी तर्दै गर्दा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएर गड्डाचौकी पुर्‍याएको थियो । गड्डाचौकीस्थित हेल्थ डेस्कमा जाँचपछि सार्वजनिक गाडीमा राखेर वेदकोट नगरपालिका–१० सुन्दरपुरको कृषि पाइलट फर्ममा बनाइएको क्वारेन्टाइनमा राखिएको हो ।

‘ट्युबबाट तरेर वारि पुग्दै थिए, हाम्रो टोलीले देखिहाल्यो,’ सशस्त्र प्रहरीको ३५ नं। गणका एसपी वीर सिंह साहुले भने, ‘त्यसपछि हामीले नियन्त्रणमा लिएर गड्डाचौकी पुर्‍यायौं, त्यहाँ जाँचपछि क्वारेन्टाइनमा पठाइएको हो ।’

एसपी साहुका अनुसार उनीहरूलाई नियन्त्रणमा लिने सुरक्षाकर्मीलाई पनि शनिबारदेखि नै क्वारेन्टाइनमा राखिएको छ । संक्रमितसँग जोडिन पुगेका १५ जना जतिको थ्रोट स्वाब संकलनको तयारी भइरहेको छ । महाकाली अस्पतालसँग स्वाब संकलनका लागि आग्रह गरिएको उनले जानकारी दिए ।

‘ब्रह्मदेव नाकाबाट सशस्त्र प्रहरीले ल्याएका ११ जना सबैलाई चैत १४ गतेदेखि क्वारेन्टाइनमा राखिएको हो,’ वेदकोट नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिसा पालले भनिन्, ‘तिनै मध्येका एकजनामा संक्रमण देखिएको सुनिएको छ, तर आधिकारिक जानकारी भने आएको छैन ।’ उनका अनुसार संक्रमतिसँगै आएका ११ जना सबै वेदकोट नगरपालिका भित्रकै हुन् । उनीहरू लुहाघाटबाट सँगै आएका हुन् ।

संक्रमित भएका ४२ वर्षीय व्यक्तिलाई शनिबार बिहानै धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको छ । संक्रमित र एक अर्का व्यक्ति क्वारेन्टाइनमा एउटै कोठामा बस्थे । ११ जनामध्ये ९ जना एउटै वडाका एकै कोठामा बसेका थिए भने २ जना फरक वडाका एउटै कोठामा बसेका थिए ।

चैत २० गते नेपाली सेनाको छाउनी अस्पतालका स्वास्थ्यकर्मीको टोलीले लुहाघाटबाट आएका ११ जनासँगै त्यसपछि क्वारेन्टाइनमा आएका अन्य २ गरी १३ जनाको थ्रोट स्वाब संकलन गरेर लगेको थियो ।

कृषि पाइलट फार्मको क्वारेन्टाइनमा अहिले १७ जना राखिएका छन् । यहाँ रहेका सबै वेदकोट नगरपालिका क्षेत्रकै हुन् । यसैगरी भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारमै रहेका वैजनाथ माविमा राखिएका १० जनाको पनि सेनाको टोलीले स्वाब संकलन गरेको थियो ।

‘हामीले नदेखेर उनीहरू सिधै गाउँ पसेको भए, अवस्था फरक हुन्थ्यो,’ एसपी साहुले भने, ‘नाका बन्द सँगै लकडाउन भएपछि हामीले करिब तीन हजारलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएका छौं ।’ उनका अनुसार यो अवधिमा आएका अधिकांशले अवैध नाका प्रयोग गरेका छन् ।

चैत २३ देखि लकडाउन हुँदासम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट ७५ हजार बढी नेपालीहरू भारतका विभिन्न ठाउँबाट आएका छन् । लकडाउन सुरु भएपछि मात्रै विभिन्न नाकाबाट ३ हजार नेपालीहरू दोधारा चांँदनी, गड्डाचौकी र ब्रह्मदेव क्षेत्रबाट नेपाल प्रवेश गरेका छन् । यसमा कतिपय ट्युबबाटै नेपाल प्रवेश गरेका पनि छन् ।

‘लकडाउनको अवधिमा आएकाहरूबाट बढी जोखिम हुन सक्ने देखिन्छ,’ एसपी साहुले भने, ‘हामीले उनीहरूलाई क्वारेन्टाइनमा राख्ने सर्तमा मात्रै छाडेका छौं, उनीहरू क्वारेन्टाइनमै भए संक्रमण बढ्दैन ।’

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले संक्रमित व्यक्ति नेपाल प्रवेश गरेदेखि नै क्वारेन्टाइनमा भएकाले धेरै अन्य व्यक्तिमा संक्रमणको जोखिम कम रहेको बताए ।

आधिकारिक रूपमा रिपोर्ट आइनसकेकाले अहिले नै केही गर्न सकिने अवस्था नरहेको उनले बताए ।

प्रकाशित मितिः आइतवार, चैत्र २३, २०७६     9:13:39 AM  |