20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

‘लकडाउन’पछि कर्णाली प्रदेशमा मात्रै विदेशबाट नौ हजार भित्रिए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र १६, २०७६  

सुर्खेत ।

कर्णाली प्रदेशमा लकडाउनको अवधिमा विदेशबाट नौ हजारको हाराहारीमा सर्वसाधारण फिर्ता भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशमा विदेश गएका झण्डै नौ हजार नागरिक भित्रिएको जनाएको हो।

प्रदेशका १० वटै जिल्लामा कोराना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न र पूर्वतयारीको पछिल्लो अवस्था सार्वजनिक गर्दै मन्त्रालयले हालसम्म आठ हजार ६५० जना भित्रिएको जनाएको हो।

कर्णालीमा भित्रनेमध्ये सबैभन्दा बढी रोजगारीका लागि भारत गएका धेरै छन्। कतिपय तराईका जिल्लाबाट नै हिडेर गाँउ गाँउ सम्म पुगेकोले प्रदेशमा भित्रने संख्या अझै बढी हुन सक्ने मन्त्रालयले जनाएको छ। सामाजिक विकासमन्त्री दल रावलले सबै जिल्लाबाट विदेशबाट आएकाहरुको रिर्पोट आउन बाँकी रहेको बताए।

‘सबै जिल्लाबाट रिर्पोट आउन बाँकी नै रहेको छ’, उनले भने ‘हामीलाई प्राप्त रिपोर्टअनुसार नौ हजारको हाराहारीमा बिदेशबाट लकडाउन घोषणा पछि आएका छन्, अझै बढी नै आएका होलान्।’ मन्त्री रावलका अनुसार प्रदेशमा आकस्मिक अवस्थाको तयारीका लागि दुई हजार ५ सय २८ बेडको क्वारेन्टाईन निर्माण गरिएको छ।

प्रदेशमा तीन सय ३९ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। उनका अनुसार कर्णालीमा १७ वटा आइसियु तयारी अवस्थामा छन् भने ७ वटा मात्रै भेन्टिलेटर रहेका छन्। स्थानीय तहमा दुईहजार २८ बेडको क्वारेन्टाईन र ३२ वटा आइसोलेसन बेड तयार गरिएको छ।

प्रदेश तथा जिल्लामा पाँच सय क्वारेन्टाइन, तीनसय सात वटा आइसोलेसन बेड तयारी अवस्थामा छन्। यसैबीच, कर्णालीबाट कोरोनाको आशंकामा परिक्षण गर्न पठाईएको १३ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

सामाजिक बिकास मन्त्री रावलका अनुसार १७ जनाको स्वाब परिक्षण गर्न पठाईएकोमा १३ जनाको रिपोर्ट नेगेटिभ आएको हो। बाँकी ४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

प्रकाशित मितिः आइतवार, चैत्र १६, २०७६     7:39:59 PM  |