19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बर्दियामा बाह्य मुलुकबाट आएका व्यक्तिको खोजी गरिदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र १४, २०७६  

सुदीप अधिकारी । बर्दिया ।

कोरोना भाइरसको महामारी पैmलिन नदिन जिल्लाका स्थानीय सरकार सक्रियताका साथ लागि परेका छन् । मुलुक लक डाउन नहुँदै तथा लक डाउन कै बेला भारत तथा अन्य मुलुकबाट घर फर्केका व्यक्तिहरुको खोजी सुरु गरिएको छ । जिल्लाको ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाले घर घरै पुगेर बाहिरबाट आएका व्यक्तिहरुको पहिचान गरिरहेका छन् । यो अभियान बिहीबारबाट सुरु गरिएको
छ । ठाकुरबाबा नगरपालिकाले एक जना स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सुरक्षा निकाय गरि प्रत्येक वडामा ४ जनाको टोली खटाइएको छ ।

टोलीले बाहिरबाट आएका व्यक्तिको पहिचान गरि उसको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने, परामर्श दिने र घरमा सुरक्षित भएर बस्न आग्रह गर्ने गरेको छ । स्वास्थ्य जाँचका क्रममा कोरोनाको कुनै पनि एक लक्षण देखिए पनि तुरुन्त क्वारेन्टाइनमा लगेर राखिने बताइएको छ । ठाकुरबाबा नगरपालिकाको त्रिभुवन माध्यमिक विद्यालयमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । स्वास्थ्य जाँच तथा परामर्श टोली ठाकुरबाबा नगरपालिकाको ९ वटै वडामा परिचालन गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए । यो टोलीले २ दिन भित्रै काम सक्ने बताइएको छ । विश्वभर भयावह रुपमा फैलिरहेको कोरोना भाइरस विरुद्धको लडाईमा नगरमा यो अभियान संचालन गरिएको नगरप्रमुख श्रेष्ठले बताए । नगरप्रमुख श्रेष्ठले भने, ‘यो महामारी विरुद्धको लडाई हो ।

यसलाई रोक्न सबैले सजगता अपनाउनै छ । यस्तो अवस्थामा स्थानीय सरकार नगरबासीको स्वास्थ्य प्रति निकै संवेदनशिल छ ।’ स्थानीय सरकारले चालेको यो कदमको नगरबासीले निकै प्रशंसा गरेका छन् । स्थानीय कल्पना शर्माले भनिन्, ‘असाध्यै राम्रो कामको सुरुवात भएको छ । बाहिरबाट घर आएकाहरुको सही विवरण दिएर गाउँ टोलका सबैले यसमा सहयोग पु¥याउनु हामी नगरिकको दायित्व हो ।’ सरकारले आह्वान गरेको लक डाउनलाई पूर्णरुपले पालना गर्न स्थानीय सरकारहरुले सामाजिक सञ्जाल तथा माइकिङ्गबाट दिनहुँ जसो अनुरोध गर्ने गरेका छन् । यसैगरी बारबर्दिया नगरपालिकाले आफनो पालिकामा प्रवेश गर्ने एउटा झुलुंगे पुलमा ताला लगाएर आवागमन बन्द गरेको छ । सरकारले लक डाउन गर्दागर्दै पनि मानिसको आवतजावत नरोकिएको भन्दै बारबर्दिया नगरपालिकाले कुसुम्बा घाटको झुलुंगे पुल बन्द गरेको छ । चैत १८ गतेसम्मका लागि पुलमा तालाबन्दी गरिएको सूचनामा जनाइएको छ ।

प्रकाशित मितिः शुक्रबार, चैत्र १४, २०७६     8:04:42 AM  |