28 March 2024  |   बिहिबार, चैत्र १५, २०८०

कोहलपुरमा कोरोनाबारे पूर्वतयारी, पहिला सरसफाई पछि सेवा

यानबी साहु
प्रकाशित मितिः शनिबार, चैत्र ८, २०७६  

कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिकाका प्रत्येक वडामा कोरोना भाइरस संक्रमण रोक्नको लागि सर्तकताका क्रियाकलाप तीव्र पारिएको छ । कर्णाली, सुदूरपश्चिम र प्रदेश पाँचको प्रवेश बिन्दु समेत रहेको कोहलपुरमा यसबारे उच्च सर्तकता अपनाइएको हो । मानिसहरुको अत्यधिक भिडभाड हुने सार्वजनिक स्थल, बसपार्क क्षेत्रदेखि नगरपालिकाका १५ वटै वडामा पूर्वतयारी तथा उच्च सर्तकता क्रियाकलाप सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरस्तरीय आकस्मिक उद्धार समिति गठन देखि सबै वडामा वडास्तरीय समिति गठन गरिएको छ । १ देखि १५ नम्बर वडामा वडा अध्यक्षको संयोजकत्वमा समाजसेवी, बालक्लब, समूह तथा महिला स्वास्थ्यसेविका सम्मिलित आकस्मिक उद्धार समिति गठन गरिएको हो । वडास्तरका सेवाग्राहीको बढि भिडभाड हुने सेवा प्रदायक निकायमा हात धुने व्यवस्था गरिएको छ । यस्तै कोहलपुर वडा नम्बर १२ र १३ ले वडाका विभिन्न टोलहरुमा गएर सचेतनामूलक अभियान नै चलाइरहेका छन् । दुवै वडा कार्यालयमा हात धोएर कार्यालय प्रवेश अनिवार्य गरिएको छ । त्यसका लागि वडा कार्यालय परिसरमा व्यवस्था मिलाइएको वडा कार्यालयहरुले जनाएका छन् । यस्तै कोहलपुर नगरपालिका वडा नम्बर १२ र १३ मा वडा कार्यालयमा साबुन पानी सहित हात धुने व्यवस्था गरिएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको आवश्यकता र सुरक्षालाई मध्यनजर गर्दै वडा कार्यालयमा उक्त व्यवस्था मिलाइएको हो ।

वडा कार्यालयहरुमा भिडभाड हुने भएकाले कार्यालय आउने कर्मचारी र सेवाग्राहीहरुका लागि हात धोएर कार्यलय प्रवेश गर्न अनिवार्य गरिएको वडा नम्बर १३ का सचिव बखत बहादुर कार्कीले बताए । त्यसका साथै सम्भावित जोखिम न्यूनिकरण तथा पूर्व तयारी स्वरुप प्रचारप्रसारलाई पनि तीव्र पारिएको उनले बताए । ‘टोलटोलमा गएर पर्चा पम्पलेट वितरणसँगै कोरोनाका बारेमा जानकारी दिने गरेका छौँ’उनले भने,‘यसका लक्षण, बच्ने उपाय, लागिसकेपछि के गर्ने भन्ने बारेमा पनि उहाँहरुलाई बुझाउने गरेका छौ ।’

वडा नम्बर १३ का वडा अध्यक्ष ओमप्रकाश वलीले कोरोना भाइरस नियन्त्रण तथा पूर्वतयारीका लागि नगरस्तरीय आकस्मिक उद्धार समितिसँगै वडामा पनि समिति गठन गरिएको बताए । सम्बन्धित सरोकारवालाहरुलाई समेटेर कोरोना नियन्त्रणका लागि वडा स्तरमा छुट्टै समिति निर्माण गरेको उनले बताए । ‘वडा कार्यालय परिसरमा हात धुने व्यवस्था गरिएको छ’ वडाअध्यक्ष ओलीले भने, ‘त्यसका साथै वडाका विभिन्न टोलहरुमा चेतनासँगै पर्चापम्पलेट वितरण पनि गरिरहेका छौँ ।’

यस्तै वडा नम्बर १२ ले पनि कोरोना भाइरस भित्रिन नदिन विशेष सर्तकता अपनाएको छ । कार्यालय परिसरमा हात धुने व्यवस्था मिलाइएकोले कर्मचारी र सेवाग्राहीलाई हात धोएर कार्यालय प्रवेश अनिवार्य वडा सचिव श्याम बहादुर रानाले जानकारी दिए । यसका साथै टोलटोलमा गएर माईकिङ तथा पर्चा पम्पलेट वितरणलाई तीव्र पारिएको उनले बताए । ‘अहिलेसम्म त्यस्तो कुनै संक्रमित व्यक्ति नभेटिएपनि सचेत बन्न जरुरी रहेको उनको जोड रहेको छ । यदि कसैलाई कोरोनाको संक्रमण देखिहालेमा उपचारको लागि पनि आवश्यक संयन्त्र तयारीमा अवस्थामा रहेको उनको भनाई छ ।

कार्यबाहक अध्यक्ष शाहीले सम्पूर्ण नागरिकलाई कोरोनाबाट बच्नको लागि सरसफाईमा ध्यान दिन आग्रह गरेका छन् । उनले भने–‘वडा कार्यालयबाट गरिने सबै पूर्व तयारीका कामहरु भइरहेका छन्, नगरिकहरुको स्वास्थ्यप्रति वडा कार्यालय सचेत छ ।’

यता कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले नगरपालिकाले समेत गम्भीरताका साथ पुर्वतयारी गरिरहेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेका गरेका छन् । कोरोना संक्रमण रोक्ने तयारी स्वरुप कोहलपुर बसपार्कमा हेल्थ डेस्क स्थापना गरिएको छ । भने यस्तो अवस्थामा कृत्रिम अभाव र कालोबजारी गरिएको भेटिएमा कारबाही गर्ने चेतावनी समेत दिइसकेको छ । विभिन्न माध्यमबाट प्रचारप्रसारलाई समेत तीव्र बनाइएको छ ।

प्रकाशित मितिः शनिबार, चैत्र ८, २०७६     9:08:28 AM  |