20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कर्णाली उत्सव : कर्णाली चिनाउने बौद्धिक बहस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन ११, २०७६  

फागुन १९ देखि २१ गतेसम्म सुर्खेतको बुलबुले उद्यानमा कर्णाली उत्सव हुने भएको छ । सुर्खेतस्थित ऋति फाउण्डेशनले विभिन्न व्यक्ति तथा निकायसंग सहकार्य गरी उक्त उत्सवको आयोजना गर्न लागेको हो । बौद्धिक बहस हुने यस्तो कार्यक्रम कर्णालीमै पहिलोपटक सञ्चालन हुन लागेको आयोजकले जनाएको छ । उत्सवमा प्रवेश निःशुल्क गरिएको छ । कार्यक्रममा साहित्यका अलावा आर्थिक, सामाजिक, राजनीतिक तथा ऐतिहासिक विषयमा बहस हुन्छ । ‘कुडा कर्णालीका’ मुख्य नारा रहेको उक्त उत्सवले वास्तविक कर्णालीलाई चिन्ने र चिनाउने उद्धेश्य लिएको कर्णाली उत्सवका संयोजक कमलराज लम्सालले बताए । छलफलमा कर्णालीका सम्भावना तथा गौरव गर्नलायक पहिचानका विषयवस्तु समेटिने उत्सव तयारी समिति सदस्य तिलक पौडेलले बताए । आयोजक संस्थाका संस्थापक सदस्य रेशम बिष्टले कर्णालीको भाषा, संस्कृति, सभ्यता र पुरातत्वको उत्खननका लागि बहस सिर्जना गर्न उत्सव महत्वपूर्ण हुने बताए । उत्सवमा देशविदेशमा रहेका कर्णालीप्रेमी चर्चित साहित्यकार, कलाकार, लेखक, पत्रकार, बुद्धिजीवि एवं विशिष्ट व्यक्तित्वलाई वक्ताका रूपमा आमन्त्रित गरिने आयोजकले जनाएको छ । सयौं वक्ता र हजारौं दर्शक सहभागीहरुबीच हुने उक्त अन्र्तक्रियाले कर्णालीको मौलिक इतिहासलाई कोट्याउने, कर्णालीको यथार्थ चित्र प्रस्तुत गर्ने तथा अबको बाटो देखाउन सहयोग गर्ने आयोजकको विश्वास रहेको छ । ‘हाम्रो कुरा हामीले नै गर्ने हो । हामीले नगरे अरु कसैले पनि गर्दैन ।’ आयोजक समिति सदस्य दिनेश गौतमले बताए । उत्सवमा बौद्धिक बहसका साथै कविता तथा गजल बाचन समेत राखिएको छ । कार्यक्रममा विभिन्न चर्चित गजलकार तथा कविहरुको उपस्थिति रहनेछ ।

गाउँगाउँमा सिंहदरवार पुग्यो या पुगेन ?

उत्सवको पहिलो दिन ‘सरकारका तीन तह ः बगाउन्या कर्णालीका बह’ शीर्षकको सेसन रहनेछ । जसमा संघ, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधिहरुबीच बहस हुनेछ । उक्त सेसनमा संघीय तहहरुबीचको आपसी सम्बन्ध, गाउँगाउँमा सिंहदरवार पुग्यो वा पुगेन ? तीन तहका सरकारबीच स्रोत–साधनको बाँडफाँट तथा संघीयता र समृद्धि लगायतका विषयवस्तुमाथि विमर्श हुने आयोजकले जनाएको छ । खस सभ्यताको बिरासत, खस भाषाको विकास र संरक्षण, सामाजिक परिवेश र खसका गर्व गर्नलायक विषयहरुमाथि बहस गर्न ‘खसका खासखुस’ सेसन निर्माण गरिएको छ । उक्त सेसनमा खस भाषाको शव्दकोश खसिया आखरका लेखक संस्कृतिविद रमानन्द आचार्य, डा. विपिन अधिकारी लगायतको सहभागिता रहनेछ । संस्कार र समानता नामक सेसनमा विद्यमान सामाजिक संरचनाले निर्माण गरेको लैंगिक विभेद, कर्णालीका महिलाहरुको सामाजिक अवस्था तथा भोग्नुपरेको हिंसा, विभेद र हिंसाको कारण, समानता र समानुपातिक सहभागिता लगायतका विषयबस्तुमाथि बहस हुनेछ ।

काला पहाडका तोडा

कर्णालीमा उद्यमशीलता, बेरोजगारी, वैदेशिक रोजगारी युवा तथा श्रम आप्रवासनको अवस्थामाथि विमर्श गर्न ‘काला पहाडका तोडा’ नामक सेसन तय गरिएको छ । उक्त सेसनमा युवा तथा उद्यमशीलताका जानकारहरुले बहस गर्नेछन् । कर्णाली क्यानाम घुमेर हेर्दा कर्णाली किन घुम्ने ? कर्णालीका पर्यटकीय गन्तव्यहरुको चर्चा, पर्यटन प्रवद्र्धनका नीतिगत व्यवस्था र वर्तमान अवस्था तथा अब गर्नुपर्ने कामबारे बहस गर्न ‘कर्णाली क्यानाम घुमेर हेर्दा’ नामक सेसन निर्माण गरिएको आयोजकले जनाएको छ । उक्त सेसनमा फोटो पत्रकार भरतबन्धु थापा, मोहन मैनाली लगायतले बहस गर्नेछन् ।

मुख्य माण्ठ : मूल कुडा

कार्यक्रमको दोस्रो दिन पश्चिम नेपालका तीन प्रदेशका सरकारी प्रतिनिधिहरुबीच बहस हुने भएको छ । कर्णाली आसपासका सूदुरपश्चिम र प्रदेश नं. ५ का मुख्यमन्त्री वा मन्त्रीहरुबीच अन्तरप्रदेश सम्बन्धमा बहस गर्ने तयारी रहेको आयोजकले जनाएको छ । पत्रकार निर्मला शर्माले सञ्चालन गर्ने उक्त छलफलमा तीन प्रदेशबीचको भू–राजनीतिक सम्बन्ध, विकास अन्तरसम्बन्ध, सहकार्य, साझा समस्या र समाधान लगायतका विषयमा बहस हुनेछ । उत्सवमा सिमान्तकृत समूदायको अवस्था, समानता र सहभागिता तथा नेतृत्वमा पहुँचबारे छलफल हुनेछ । सिमान्त स्वर नामक उक्त सेसनमा डा. शिवमाया तुम्बाहाङ्फे, मोहमदी सिद्धिकी, दुर्गा शोब र चन्द्रकिशोर झाले बहस गर्नेछन् ।

दबाई र देउता,भोक र भकारी

कर्णालीको स्वास्थ्य र खाद्यान्नलाइ समेटेर निर्माण गरिएको ‘दबाई र देउता, भोक र भकारी’ सेसनमा लेखक तथा जनस्वास्थ्यविज्ञ डा.अरुणा उप्रेती, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा. डा. राजेन्द्रराज वाग्ले तथा कृषिविज्ञ डा. कृष्णप्रसाद पौडेलबीच बहस हुने आयोजकले जनाएको छ । नेपाली साहित्यमा कर्णालीको स्थान, कर्णालीबारे लेखिएका कथा, साहित्यमा कर्णालीका विम्ब लगायतका विषयमा पनि बहस हुने तय भएको छ । जसमा कर्णालीका साहित्यकार श्यामल, बुद्धिसागर लगायतले बहस गर्नेछन् ।

कर्णालीको ११ औं जिल्ला !

कर्णाली प्रदेशमा १० जिल्ला छन् । तर कर्णाली उत्सवमा कर्णालीको एघारौं जिल्लामाथि बहस हुनेछ । आखिर कुन हो त ११ औं जिल्ला? उक्त सेसनमा नेपालकै एकमात्र घुमन्ते जाति राउटे समूदायबारे छलफल गरिनेछ । कुनै निश्चित क्षेत्रमा बसोबास नगर्ने राउटेको व्यवस्थापन कर्णाली प्रदेशकै महत्वपूर्ण विषय हो । सेसनमा लोपोन्मुख राउटे जातिको अवस्था, जीवनशैली, सामाजिक रुपान्तरण, राज्यको दायित्व लगायतका विषयमाथि बहस हुनेछ । उत्सवमा प्रदेशको विकासको वर्तमान अवस्था, पछाडि पारिनुका कारण, अबको बाटो, सार्वजनिक सरोकारका विषयहरुमा नागरिकहरुले प्रश्न गर्नुपर्ने कारण लगायतका विषय समेटेर प्रश्न किन गर्नै ? भन्ने सेसन निर्माण गरिएको छ । प्रदेशको अर्थतन्त्रका मुख्य आधार, लगानीका प्रमुख क्षेत्र, कर्णालीमा लगानी कसरी भित्र्याउन सकिन्छ ? जस्ता विषयले पनि उत्सवमा स्थान पाउने छन् ।

प्रकाशित मितिः आइतवार, फाल्गुन ११, २०७६     9:50:16 AM  |