18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

‘आधुनिकताको नाममा विकृति र विकृतिका नाममा अति नगरौँ’

यानबी साहु
प्रकाशित मितिः बिहिबार, माघ ९, २०७६  

कलाकारलाई राज्यले गहनाको दृष्टिकोणले हेरेको छ । देशको होइन्, लगाउने गहनाको । लगाउने गहना जसरी लगाउन मन लागे खोजतलास गरेर लगाइन्छ अनि आवश्यक नपरेको बेला फुकालेर राखिन्छ । त्यसरी नै राज्यले पनि कलाकारहरुलाई त्यही लगाउने गहनाको रुपमा हेरको छ । चुनाव आउँदा भोटका लागि र आवश्यक पर्दा मात्रै सम्झने गरेको छ, अघिपछि वास्ता गरेको देखिदैन । 

१. अहिले पछिल्लो समय कत्तिको व्यस्त हुनुहुन्छ ?

  • मैले दर्शक श्रोताहरुबाट एकदमै माया, सद्भाव र स्नेह पाएकी छु । दर्शक श्रोताहरुको मागको आधारमा नै धेरै स्टेज कार्यक्रमहरु पनि पाएकी छु । अहिले यो सिजन भनेको नै मेला महोत्सवको समय हो । यो समयमा त झनै विभिन्न ठाउँमा आयोजना हुने मेला महोत्सवहरुमा नै व्यस्त छु । त्यसले गर्दा पनि अहिले प्रायजसो काठमाण्डौँ बाहिर नै हुन्छु । साथ साथै गित रेकर्डको कामलाई पनि निरन्तरता पनि दिइरहेकी छु । समग्रमा भन्नुपर्दा दर्शक श्रोताहरुको माया र सद्भावले व्यस्त नै छु ।

२. पछिल्लो समय स्टेज कार्यक्रम कलाकारहरुको आम्दानीको राम्रो श्रोत पनि बनेको छ । तपाईको स्टेज कार्यक्रममा कतिको माग छ ?

  • अहिले कलाकाहरुको लागि आउने आम्दानीको राम्रो श्रोत स्टेज कार्यक्रम नै हो । यसको अर्थ अन्य क्षेत्रबाट आउँदैन भन्न खोजेको पनि होइन् । अन्य क्षेत्रबाट पनि आउँछ । स्टेज कार्यक्रमबाट आउने आम्दानी भनेको सिजनमा अलि धेरै हुने हो । अघिपछिको सयममा आउने भनेको त गित संगित रेकर्ड, शब्द, संगित जस्ता माध्यमबाट नै हो । त्योसंगै आफ्नै लगानीमा राम्रो गित संगित बजारमा ल्याउन सकियो भने पनि श्रोता दर्शकहरुको राजाई अनुसार युट्युबका माध्यममा श्रोता दर्शकहरुले जति धेरै हुनु हुन्छ, त्यसकै आधारमा पाउने हो । अर्को कुरा स्टेज कार्यक्रमहरुमा माग पनि धेरै नै छ । यो क्षेत्रमा हुने प्रायः सबैजसो मेला महोत्सवहरुमा आयोजकले बोलाउनु हुन्छ । एकदमै माया गर्नहुन्छ । दर्शक श्रोताको माया पनि उत्तिकै पाएकी छु । अन्य ठाउँमा हुने स्टेज कार्यक्रमहरुमा पनि राम्रै माग छ ।

३. तपाई गित संगितको शिलशिलामा काठमाण्डौको बसिरहँदा आफू जन्मेको गाउँ ठाउँको माया लाग्दैन ?

  • आफू जन्मे हुर्केको गाउँ ठाउँ मन नपर्ने को होला र ? आफ्नो काम वा जागिरको शिलशिलाले आफू जन्मेको ठाउँ भन्दा बाहिर भएपनि एकदमै माया लाग्छ । यहाँ आउँदा आफू जन्मेको गाउँठाउँ अनि साथीसङ्गी आफन्तहरुसंग भेटघाट हुन्छ । सुख, दुःखका कुराहरु साट्न पाइन्छ । त्यस्तै विभिन्न समयमा हुने मेला महोत्सवमा पनि आयोजहरुले सम्झनु हुन्छ, बोलाउनु हुन्छ । एकदमै खुसी लाग्छ । त्यसमा पनि झनै यस क्षेत्रका दर्शक श्रोताहरुको माया र सद्भाव उत्तिकै छ । आफू जन्मे हुर्केको ठाउँ भएर पनि होला यतातिर  आउँदा आनन्द महशुस हुन्छ । काडमाण्डौँ हुँदा एकदमै व्यस्त भइन्छ । फुर्सद पनि कम हुन्छ । त्यसमा झनै कोलाहल धेरै हुने भएकाले पनि यता आउँदा छुट्टै आनन्द महशुस हुन्छ ।

४.तपाईले लोक गित संगितको क्षेत्रमा आफूलाई चिनाउँदा कसरी चिनाउन हुन्छ ?

  • विशेषगरी, म आफूलाई ‘कल्चरल’ गायिका भन्न रुचाउँछु । किनभने म गित संगितको क्षेत्रमा आउँदा पहिले पनि ‘कल्चरल’ पृष्ठभूमीबाट नै आएको हुँ । सुर्खेतमा रहेको बागिना समुह छ । त्यो भनेको सिङ्गो मध्यपश्चिम क्षेत्रकै मौलिक कला साँस्कति जोगाउने उद्देश्यले सञ्चालन गरिएको थियो । म त्यस बागिना समुहको उत्पादन पनि हुँ । सुरुदेखि नै म धेरै जसो मौलिक गितहरुमा नै गाउने नाच्ने गर्थे । मेरा हरेक गितहरुमा मौलिकपन छ । अहिले पनि मेरा धेरैजसो गितहरु नेपाली मौलिक कला संस्कृतिको संरक्षण सम्वद्र्धनमा टेवा पु¥याउने खालका नै छन् । यो मेरो अनि हामी सबै नेपालीको पहिचान पनि हो ।

५. तपाई गित संगितको क्षेत्रमा कहिलेदेखि लाग्नु भयो ?

  • गित संगितको क्षेत्रमा मेरो बाल्यकालदेखि नै एकदमै रुची थियो । सानै उमेरदेखि स्कुल तथा गाउँघरमा हुने विभिन्न कार्यक्रम मेलापातहरुमा पनि म गितहरु गाउँथे । सबैले मेरो आवाज मन पराउनु हुन्थ्यो । त्यसपछि सुर्खेतमा रहेको बागिना समुहमा काम गर्ने अवसर पाए । त्यहाँ हुँदा धेरै सिक्ने अवसरहरु पनि पाइयो । विभिन्न मेला महोत्सव तथा कार्यक्रमहरुमा गित गाउने अवसर मिल्यो । काडमाण्डौमा गएर पनि करिव ९ वर्ष दोहारी साँझमा काम गरे । यसरी लामो समय गितसंगितकै क्षेत्रमा काम गर्दै जाँदा वि.सं.२०६५ सालदेखि मैले व्यवसायिक रुपमा काम गर्न थालेकी हुँ ।

६. तपाईलाई यो क्षेत्रमा ल्याउनको लागि ठूलो भूमिका खेल्ने श्रेय कसलाई दिनु हुन्छ ?

  • सबैभन्दा पहिले त मलाई यो क्षेत्रमा ल्याउने पहिलो श्रेय भनेको मेरो आमालाई नै जान्छ । मेरा आमाले पनि मिठो गित गाउनु हुन्थ्यो । उहाँबाट नै म प्रेरित भएर यो क्षेत्रमा आउन सफल भए । त्यसैगरी मलाई यहाँसम्म ल्याउन मेरो बुवाको पनि हात उत्तिकै छ । उहाँको सोच नै मलाई एउटा ठूलो गायिका बनाउने थियो । संगसंगै म सानो हुँदा स्कुलमा हुने हरेक कार्यक्रममा भाग लिएर प्रथम हुन्थे । त्यसले झनै मलाई प्रेरणा प्रदान गर्यो । त्यसपछि जब म व्यवसायिक रुपमा गितसंगितमा लागे त्यसपछि मेरा प्ररणा भनेका श्रोता दर्शकहरु नै हुनुहन्छ ।

७. तपाई गित संगितमा लागिरहँदा घरपरिवारको साथ सहयोग कत्तिको पाउनु भएको छ ?

  • कयौँ प्रतिभावान व्यक्तिहरु आफूसंग प्रतिभा, क्षमता र चाहना भएर पनि धरपरिवारले साथ नदिएर यो क्षेत्रमा आउन नसकिरहेको अवस्था पनि छ । तर मलाई मेरो घरपरिवारबाट एकदमै राम्रो साथ सहयोग छ । घरपरिवारको साथ सहयोग नपाएको भए सायद आज म यो ठाउँमा नै हुने थिइन होला । उहाँहरुको साथ सहयोगले नै म अहिले यो ठाउँसम्म पुगेको छु । त्यसैले मलाई उहाँहरुबाट कुनै त्यस्तो रोकावट अथवा गाह्रो अप्ठेरो छैन । महशुस नै भएन ।

८. यो क्षेत्रमा लाग्दा कतिको संघर्ष गर्नुप¥यो ? अहिले सजिलो अप्ठेरो के छ ?

  • मैले यो क्षेत्रमा लामो सङ्घर्ष गरेको छु । सङ्घर्ष गर्ने क्रममा थुप्रै चुनौतीहरु पनि सामना गर्नुप¥यो । सानै उमेरदेखि सङ्घर्ष गरेर म यहाँसम्म आएकी हुँ । उतिबेला पनि कयौँ दुःख, कष्ट र चुनौतीहरुको सामना गर्दै अघि बढिरहे । पछि काठमाण्डौँ गइसकेपछि पनि धेरै सङ्घर्ष गरेकी छु । त्यहाँ गइसकेपछि त्यतिबेला विशेष गरी पश्चिमाञ्चलतर्फकाले लोक संस्कृति भनेको त हाम्रो हो, हामीबाहेक कसैले गाउन सक्दैन भन्ने उनीहरुमा भ्रम थियो । म थिए साविकको मध्यपश्चिमकी । पहिले पहिले त उनीहरुले हामीलाई एल्वमा गाउन पनि पत्याउदैनथे । जब मैले २०६५ सालमा ‘जलेसी जमुना’ बजारमा ल्याए, अनि मेरो खोजि हुन थाल्यो । यस्तो राम्रो गित गाउने को रहेछ ? कहाँको रहेछ भन्नेबारे एकदमै चर्चा नै चल्यो । त्यसपछि म निरन्तर गित रेकर्ड गर्ने, विभिन्न कार्यक्रम व्यस्त हुन थाले । यसै क्षेत्रमा आफूलाई टिकाई राख्नका लागि करिव ९ वर्ष मैले काठमाण्डौका दोहारी साँझमा काम पनि गरे । त्यतिबेला सपोट गर्ने कोही पनि थिएन । दत्यही दोहोरी साँझमा कमाएको ‘टिप्स’ बाट नै मेरो पहिलो एल्वम जलेसी जमुना पनि निकालेकी थिए ।

९. अहिलेसम्म कति वटा गितहरु रेकर्ड गर्नुभयो ?

  • हजुर मैले आफूले गाएका सबै गितहरु एकदमै सुरक्षितसंग राखेकी छु । अहिलेसम्म करिब ४ हजार ५ सयको हाराहारीमा गित रेकर्ड गरेकी छु । त्यसमा पनि एक बढी एल्वम मेरो आफ्नै लगानीमा तयार पारेकी छु । प्रायजसो मेरा सबै गितहरु नेपाली मौलिकपन झल्कने खालका नै छन् ।

१०. यो क्षेत्रमा लाग्न चाहने र यसमै लागरे आफ्नो भविष्य खोज्न चाहनेहरुलाई के भन्नु हुन्छ ?

  • यो क्षेत्रमा आउने चाहनेहरुलाई म के भन्न चाहन्छु भने, सर्वप्रथम त यसमा टिकिरहनका लागि तपाईमा प्रतिभा हुनुप¥यो, गित गाउन सक्ने खुबी र क्षमता हुनुप¥यो । त्योसंगै निरन्तरता पनि चाहियो । एउटा निकाल्यो, नचलेपछि चलेन भनेर त्यसबाट पछि हट्ने होइन, त्यसलाई अझ निरन्तरता दिन सक्नुपर्छ अनि मात्र सफल भइन्छ । अर्को कुरा ‘भाईरल’ बन्ने भन्दा पनि कसरी जिवन्त र सदावहार बन्ने भन्ने सपना बोकेर अघि बढ्नुहोस् । पैसाले मात्र हुँदैन, आफूसंग प्रतिभा र क्षमता पनि चाहिन्छ । अनि मात्र यो क्षेत्रमा सदावहार, जिवन्त र सफल भइन्छ ।

११. कयौँ व्यक्तिहरु संगित नसिकेर नै यो क्षेत्रमा लागेको देखिन्छ । नयाँ आउनेहरुले संगित सिक्न कत्तिको जरुरी छ ?

  • एकदमै जरुरी छ । किनकी हामीले गित, शब्द हेरेर अनि लय पाएर मात्रै हुँदैन । त्यसलाई संगितमा ढाल्नका लागि शूर, ताल पनि त थाहा पाउनु प¥यो । त्यस कारण पनि संगित सिक्नु, अभ्यास र साधना गर्नु एकदमै जरुरी छ । पछिल्लो चरणमा झन एकदमै आवश्यक देखिएको छ । अहिले एकदमै प्रतिस्पर्धा छ । त्यसमा आफूलाई अब्बल सावित गर्न टिकाई राख्न पनि संगित सिक्न जरुरी छ ।

१२. पछिल्लो समय नेपालमा पाश्चात्य संस्कृति भित्रिएसंगै नेपाली मौलिक कला, संस्कृति अलि ओझलमा परेको हो ?

  • हाम्रो मौलिक कला, संस्कृति ओझलमा परेको छैन । र कहिल्यै पर्दैन पनि । यसलाई ओझेल पारिएको हो । गलत प्रचारप्रसारले गर्दा ओझेलमा परेजस्तो भएको हो । राम्रा कुराहरुको कम र नराम्राको प्रचारप्रसार धेरै गरियो । त्यस्तै हाम्रा मौलिक कला संस्कृतिको कम र पाश्चात्य परम्पराबाट आएका नराम्रा पक्षहरुलाई बढी प्रचारप्रसार गर्नले पनि नेपाली मौलिक कला संस्कृति आझेलमा परेपस्तो देखिएका हुन् । अर्को कुरा अहिलेको सुन्ने भन्दा पनि हेर्ने जमाना हो । विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जालमा नराम्रा कुराहरु बढी आउने भएकाले हामी लगायत हाम्रा बच्चाबच्चीहरुले पनि त्यस्ता कुराहरु हेर्ने र सिक्ने गरेकोले पनि नेपाली मौलिक कला संस्कृति ओझेलमा परेजस्तो देखिएको हो । केहि समय ओझेलमा पारिएका मौलिक गित संगितदेखि लिएर हामीले लगाउने गुन्यु चोली, ढुङ्ग्री, तिरहरीहरु अहिले पछिल्लो समय फेरि खोजिदैछ नि । मौलिकता के हो भन्ने कुराको वास्तविकता बल्ल हामी बुझ्दैछौ । जे होस् अहिले पछिल्लो समय मौलिकतालाई सबैले खोजिरहनु भएको छ । खोज्नु पनि पर्छ र हामी को हाँै, कहाँबाट आएका हाँै भन्ने कुरा पनि त बिसर्नु हुँदैन नि । हो म मान्छु, समय अनुसार परिवर्तन हुने हो तर परिवर्तनको नाममा विकृति भित्र्याउने होइन ।

१३. आधुनिकताको नाममा पछिल्लो समय यो क्षेत्रमा विभिन्न विकृतिहरु भित्रिएको पनि देखिन्छ नि ?

  • कतिपय कलाकारहरुले आफू ‘भाइरल’ चर्चित बन्नका लागि अंग प्रदर्शन गर्ने, त्यस्तै गित संगितहरु गाउने, शब्दहरु पनि त्यस्तै प्रयोग गर्ने, समाजमा अपाच्य गतिविधिहरु गर्नले यस्ता विकृतिहरु भित्रिएका हुन् भने अर्कोतर्फ कतिपय दर्शक श्रोताहरु पनि त्यस्ता कुराहरुलाई मन पराउने, खोज्ने हुनुहुन्छ । त्यसले गर्दा पनि केहि विकृतिहरु भित्रिएको हो । अहिले सुन्ने भन्दा पनि हेर्नेका जमाना भएकाले त्यस्ता गतिविधिहरु मन पराउने दर्शक श्रोताहरु पनि अधिक नै पाइएको छ । म उहाँहरुलाई के भन्न चाहन्छु भने, दर्शक श्रोताहरुले मौलिकता खोजिरहेका छन्, आधुनिकताको नाममा विकृति र विकृतिका नाममा पनि अति नगरौँ ।

१४. राज्यले कालाकार र यस क्षेत्रलाई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?

  • राज्यले कलाकारहरुलाई गहनाको रुपमा मात्र हेरेको छ । त्यो पनि देशको होइन्, लगाउने गहनाको रुपमा मात्र । लगाउने गहनाहरु जसरी जतिबेला लगाउन मन लाग्छ, त्यतिबेला खोजतलास गरेर लगाइन्छ अनि फुकालेर राखिन्छ । त्यसरी नै सरकाले पनि हामी कलाकारहरुलाई त्यही रुपमा हेरको छ । जतिबेला चुनाव आउँछ, त्यतिबेला भोटका रुपमा प्रयोग गर्ने, आवश्यक पर्दा मात्रै सम्झने हुन्छ । अघिपछि त बेवास्ता नै हुन्छ । वास्तमा यो कला क्षेत्रलाई राज्यले पहिले देखिनै वास्ता नगरेको देखिन्छ । राज्यले यो क्षेत्रलाई साथ सहयोग अथवा एउटा सम्पतिको रुपमा मात्रै संरक्षण गरिदिएको भएपनि अहिले कलाकारहरुलाई यो क्षेत्रमा लागेर मात्रै पनि बाँच्न निकै सहज हुथ्यो । यति विकृतिहरु आउने थिएन । किनभने राज्यको लगानी भइदिएको भए त्यहाँ सेन्सर वोर्ड हुन्थ्यो, कस्ता गिहरु गाउन पाउने अथवा बजारमा ल्याउन पाउने, कस्ता नपाउने भन्ने पनि हुन्थ्यो नि । त्यो नभएको हिसाब गर्दा पनि अहिले जसले जे गर्दा पनि हुन्छ, जस्तो गित गाउँदा पनि हुन्छ भन्ने भएकाले पनि विकृतिम मौलाउँदै गएको पाइन्छ । अर्को कुरा हामी कलाकारहरु विदश हुने कार्यक्रमहरुमा जाँदा पनि आफ्नो देशका, कला, संस्कृतिको चर्चा परिचर्चा गर्ने गर्छौँ । त्यसमा पनि सरकारले कहिल्यै ख्याल गरेन । समग्रमा भन्दा सरकारले यो क्षेत्रप्रति आफ्नो कुनै दायित्व नै नभएको जस्तो गरेको देखिन्छ ।

१५. थुप्रै नाम चलेका कलाकारहरु पनि आफ्नो भविष्य नदेखेर यो क्षेत्रबाट पलायन भएको पनि देखिन्छ । राज्यले के गरिदियो भने उनीहरुलाई यसमै टिकाई राख्न सकिन्थ्यो होला ?

  • सर्वप्रथम त राज्यले यस क्षेत्रका लागि एउटा स्पष्ठ निती बनाउन जरुरी छ । निती बनाइसकेपछि बरु कलाकारहरुबाट पनि उनीहरुले गर्ने आम्दानीबाट केहि प्रतिशत ट्याक्स (कर) उठाओस् । जस्तो एक जना कलाकार कुनै मेला महोत्सव जान्छ भने त्यहाँबाट उसलाई आउने आम्दानीको केहि प्रतिशत कर राज्यलाई तिर्ने निती नियम बनोस् । त्यसबाट जम्मा भएको रकमले कलाकारहरुलाई थोरै भएपनि सेवा सुविधा भइदियो । र बाँकी बचेको पैसा पनि कला, संस्कृति संरक्षण, सम्वद्र्धनमा खर्च गरियो भने कलाकारहरुलाई सायद विदेश पलायन हुनु पर्ने अवस्था आउने थिएन होला । अर्को कुरा कलाकारहरु गित गाउन्जेल चर्चित हुने, खुबी कला हुन्जेल कमाउने खाने अनि उमेर ढल्किन्छ, काम गर्न नसकिने अवस्था हुन्छ, त्यसपछि हामीले गर्ने के ? कहाँ छ आउने आम्दानी ? त्यस कारण पनि उनीहरु ‘फ्रस्टेशन’ र अभावले आफ्नो पेशाबाट पलायन हुने अवस्था आउँछ । मानौँ आज आम्दानी छ, चार हजार रुपैयाँको जुत्ता लगाइन्छ, भोलि आम्दानी नहुँदा बाँटा चप्पल लगाएर त हिड्नु भएन । त्यो अभावलाई पूर्ति गर्नका लागि पनि विदेशिनु पर्ने वाध्यता हुन्छ ।

१६. अन्त्यमा दर्शक तथा श्रोताहरुलाई के भन्न चाहनु हुन्छ ?

  • नेपाली गित संगितलाई सबैले माया गरौँ । हामीले आफ्नो मौलिक कला, संस्कृतिलाई सबैले जर्गेना गर्नुपर्छ । साथै तपाइहरुकै माया र आर्शिवादले आज म टिका पुन बनेको हो । मेरा हरेक गितहरुलाई यहाँहरुले एकदमै मन पराई दिनु भएको छ । तपाईहरुप्रति एकदमै आभारी छु । आगामी दिनमा पनि मेरा आउने गितहरुलाई पनि यसरी नै माया गरिदिनु होला । अब छिट्टै फेरी एउटा अर्को नयाँ एकल एल्वम आउँदै छ । त्यसलाई पनि माया गर्नु हुने छ भन्ने विश्वास लिएकी छु ।
प्रकाशित मितिः बिहिबार, माघ ९, २०७६     12:17:35 PM  |