20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सिटी बसपार्क सञ्चालनको तयारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर १, २०७६  

चेत नारायण पाण्डेय । सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण सम्पन्न भएको ५ महिनापछि सिटी बसपार्क सञ्चालनको तयारी गरिएको छ । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको सिटी बसपार्कलाई सञ्चालनमा ल्याउने लागि तयारी थालिएको हो ।

यसका लागि वीरेन्द्रनगर नगरपालिकाले बसपार्क सञ्चालन कार्यविधि पारित गरेको छ । गत असारमा नै यो बसपार्क निर्माण सम्पन्न भएपनी आवश्यक कार्यविधि नहुँदा सञ्चालनमा आउन सकेको थिएन । नगर कार्यपालिकाको बैठकले कार्यविधि पारित गरेसँगै अब पुसबाट यो बसपार्क सञ्चालनमा आउने छ ।

बसपार्क सञ्चालनको मुख्य गाँठो फुकेपछि अब बसपार्क सञ्चालनका लागि टेण्डर आव्हान गरीने र बाँकी रहेका प्रक्रिया पूरा गरेर पुसबाट बसपार्क पूर्णरुपमा सञ्चालनमा ल्याइने नगरपालिकाले जनाएको छ । ६ करोड ८२ लाख ७५ हजार आठ सय ८९ रुपैयाँमा बसपार्क निर्माण सम्झौता भएको थियो । तर तोकिएको समयमा काम नहुँदा बसपार्कको लागत अनुमानभन्दा ६२ लाख रुपैयाँ बढी खर्च भएको हो ।

सात करोड ४४ लाख रुपैयाँको लागतमा बसपार्कको निर्माण कार्य सकिएको नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले जानकारी दिए । उनका अनुसार नगर विकास कोषको सात करोड ४५ लाख ऋण अनुदानमा बसपार्क निर्माण गरिएको हो ।

बसपार्क सञ्चालन भएपछि वीरेन्द्रनगर नगरपालिकाले कोषको ऋण रकम तिर्ने सम्झौता छ । निर्माण भएको सिटी बसपार्कमा यात्रुहरूलाई बस्नका लागि छुट्टाछुट्टै टर्मिनल भवन, गाडी मर्मतका लागि वर्कसप भवन, टिकट काउन्टर, महिला र पुरुषका लागि शौचालय र उत्तर–दक्षिण दुईवटा गेटसमेत रहेका छन् । हाल सिटी बसपार्क सञ्चालनमा आइनसकेकाले अस्थायी बसपार्कबाट काम चलाइएको छ ।

मंगलगढी चोक नजिक खालि रहेको जग्गालाई बसपार्कको रुपमा प्रयोग गरिएका कारण बजारको सुन्दरतामा नै कुरुपता आएको छ । यसकारण पनि बारम्बार सिटी बसपार्क सञ्चालन हुनुपर्ने माग उठ्दै आएको थियो । कानुनी प्रक्रिया पूरा गर्न समय लागेका कारण बसपार्क सञ्चालनमा ढिलाई भएको नगरपालिकाको भनाई छ ।

१५ महिनामा निर्माण कार्य सम्पन्न गर्नेगरी २०७३ सालबाट काम थालिएको बसपार्क निर्माण कार्य दुईपटक म्याद थपगरी बल्लतल्ल निर्माण सम्पन्न भएको हो । २०७४ जेठ १४ मा बसपार्क निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्नेगरी २०७२ माघ १४ गते चांगमिला नरसिंह–जेभीसँग नगरपालिकाले बसपार्क निर्माणको सम्झौता गरेको थियो ।

प्रकाशित मितिः आइतवार, मंसिर १, २०७६     8:27:47 AM  |