19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

अमेरिकन अटोमेटिक पेस्तोलसहित नेता पक्राउको विरोधमा कोहलपुर चौराहामा तरुण दलको चक्काजाम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक १६, २०७६  

कोहलपुर ।

नेपाल तरुण दल बाँकेले अमेरिकन अटोमेटिक पेस्तोलसहित आफ्ना नेता कार्यकर्ता पक्राउ परेको विरोधमा कोहलपुर चौराहामा चक्काजाम गरेको छ । नेपाली काँग्रेसका नेता कार्यकर्ता जम्मा भएर यातायात अवरुद्द पारेका हुन् ।

उनीहरुले आफ्ना नेता तथा कार्यकर्तालाई प्रहरीले फसाएको भन्दै सरकार र प्रहरीविरुद्द चर्का नाराबाजी गरिरहेका छन् । नेपाल दरुण दल नेपालगञ्ज नगरका सभापति सन्दीपजंग शाह लगायतलाई बिहीबार राति अत्याधुनिक हतियारसहित कोहलपुर प्रहरीले पक्राउ गरेको थियो । सोहीको विरोधमा तरुण दल बाँकेले चौराहामा प्रदर्शन गरेको हो ।

कोहलपुर प्रहरीले जानकी गाउँपालिका ६ गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टबाट अत्याधुनिक पेस्तोल र सोमा लाग्ने गोली तरुण दलका ६ जना नेता कार्यकर्तालाई पक्राउ गरेको थियो ।

रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा १८ च ४२११ नम्बरको मारुती सुजुकी कारको बायाँतर्फको सिटमा फल्ट बटम बनाई लुकाइछिपाइ राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली लोड गरिराखेको म्यागेजिनसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उपमहानगरपालिका–१३ निवासी तरुण दल नगर सभापति शाह निर्माण व्यवसायीसमेत हुन् ।

तरुण दलका नेता कार्यकर्ताले सडक अवरुद्द पारेपछि यातायात साधनहरु भने चल्न सकेका छैनन् । कोहलपुर प्रहरीले अवरुद्द सडक खुलाउने प्रयास भइरहेको जनाएको छ ।

प्रकाशित मितिः शनिबार, कार्तिक १६, २०७६     1:55:01 PM  |