19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बलात्कारी हत्यारा १९ वर्षपछी अमेरिकाबाट पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६  

ललितपुर । १९ वर्षअघि एक किशोरीमाथि सामूहिक बलात्कारपछि रुखमा झुन्डाएर हत्या गर्नेलाई नेपाल प्रहरीले अमेरिकाबाट ल्याएको छ । झापा स्थायी घर भएका ४२ वर्षीय लिलाराज गौतमलाई नेपाल प्रहरीले अमेरिकाबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

अन्तराष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल) र अमेरिकी प्रहरीको सहयोगमा उनलाई अमेरिकाबाट डिपोर्ट गराई नेपाल ल्याइएको हो । गौतमलाई इन्टरपोल शाखाका प्रहरीले बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार गौतमसहित मनोज खड्का र सीताराम बस्नेत मिलेर २९ असोज २०५७ मा झापा चन्द्रगढी– ३ की सन्ध्या राजबंशीलाई सामूहिक बलात्कारपछि रुखमा झुन्डाएर हत्या गरेका थिए । घटना खुल्ने डरले युवतीले आत्महत्या गरेको देखाउन उनीहरूले झुन्डाएर हत्या गरेका थिए ।

त्यसयता फरार रहेका गौतम अमेरिकामा रहेको खुलेपछि नेपाल प्रहरीले उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गराएको थियो । सोहीअनुसार १३ फेब्रुअरी २०१८ मा उनलाई अमेरिकाको होमल्याण्ड सेक्युरिटीले पक्राउ गरेको थियो । करिब दुई वर्ष लामो प्रयासपछि उनलाई नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ । -महिला खबर

प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६     3:12:57 PM  |