20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

र्‍यापर ‘भिटेन’लाई पक्राउ, अभद्र व्यवहारमा कारबाही गरिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७६  

काठमाण्डौं ।

र्‍यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ लाई प्रहरीले अभद्र व्यवहार कसूरमा मुद्दा अघि बढाउने भएको छ।

घिसिङलाई ‘जरूरी पक्राउ पूर्जी’ अन्तर्गत बिहीबार बिहान जावलाखेलबाट महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो।

‘जरूरी पूर्जी’ अपराध र अपराधी नियन्त्रणका क्रममा प्रयोग गरिन्छ। घिसिङ पक्राउ गर्दा पनि प्रहरीले यही पूर्जी दिएको छ। ‘यो पूर्जीमा मान्छे पक्राउ गर्न अदालतको आदेश लिइरहन पर्दैन,’ महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने।

रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएका थिए। नेपाली र्‍यापर गिरीश खतिवडाले आफ्नो ब्लगमा उनलाई ल्याएपछि भिटेन थप चर्चित भए। यस्तै ‘हामी यस्तै त हो नि ब्रो’ गीत ल्याएर युवामाझ चर्चित बनेका थिए।
सो गीतको भिडिओ युट्युबमा चर्चित छ। उक्त भिडिओ र गीतका शब्दले सामाजिक विकृतिलाई मलजल गर्ने भएकाले घिसिङलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी थापाले बताए।
घिसिङले अश्लील शब्द प्रयोग गरेको र सामाजिक विकृति बढाएको थापाले बताए। घिसिङविरूद्ध कसैले जाहेरी भने दिएका थिएनन्। अर्को, घिसिङले नेपाल प्रहरीको बर्दीमा असईको फुलीसमेत लगाएर चुरोट ओठमा च्यापेको र हातले गाँजा मोलिरहेको दृश्य राखेको थापाले बताए। ‘नेपाल प्रहरीको बर्दी लगाएर गाँजा मोलिरहेको दृश्य आपत्तिजनक छ, सामाजिक विकृति बढ्ने खालको उक्त गीत प्रसारण गर्न दिइने छैन,’ उनले भने। घिसिङलाई अब उक्त गीतको भिडिओ युट्युबबाट हटाउन लगाइने र अभद्र व्यवहारमा मुद्दा चलाइने उनले बताए।

अभद्र व्यवहार कसूरमा महानगरीय प्रहरी परिसर ललितपुरबाट घिसिङलाई मुद्दा चलाइने थापाले बताए। यसअघि मंगलबार पनि गायक दुर्गेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

रिलिज गरेको पछिल्लो ‘ह्यापी तिहार’ नामक गीतले लागुऔषध प्रयोगलाई प्रवर्द्धन गरेको देउसी भैलोको गीतलाई बङ्ग्याएको उजुरीपछि उनी पक्राउ परेका थिए।

गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरू प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न सरकारले निर्देशन दिएको थियो।

सो निर्देशनलगत्तै प्रहरीले थापालाई गीत युट्युबबाट हटाउन लगाएर छोडेको थियो।

उक्त गीतमा कानुनबमोजिम नेपालमा प्रतिबन्धित लागुऔषध गाँजा सेवनलाई युवामा प्रोत्साहन हुने गरी सङ्गीत भरेर दृश्य छायाङ्कन गरी समाजमा गलत सन्देश फैलाउने कार्य गरेकाले प्रतिबन्ध गर्न निर्देशन दिइएको भनिएको थियो।

प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७६     4:57:12 PM  |