19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कोहलपुरमा थारु बालबालिकाको तथ्यांक संकलन गरिदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक ४, २०७६  

कोहलपुर ।

देशभर झै बाँके जिल्लामा पनि बिद्यार्थीले बीच मै विद्यालय छोड्ने समस्या छ । नाजुक आर्थिक अवस्था र अशिक्षाका कारण बिद्यार्थीहरुले बीचैमा विद्यालय छोड्ने समस्या रहेको छ । थारु समुदायका विद्यार्थीहरुले वर्षेनी कति संख्यामा विद्यालय छाड्छन् भन्ने अहिले सम्म कुनै आधिकारिक तथ्यांक छैन । आधिकारिक तथ्यांक नहुँदा नीति निर्माणमा समेत समस्या रहेको सरोकारवाला बताउँछन् । यहाँ कोहलपुर नगरपालिकाले चालु आर्थिक वर्षको शिक्षा क्षेत्रमा प्राथमिकतामा राखेको छ ।

यही समस्यालाई मध्यनजर गर्दै बीच मै विद्यालय छोड्नेहरुको तथ्यांक संकलन गरिने भएको छ । कोहलपुर नगरपालिकाको शिक्षा शाखाले सामुदायिक विद्यालयमा अध्ययनरत थारु समुदायका बालबालिकाको तथ्यांक संकलन गर्ने भएको हो । तथ्यांक संकलन गरी बीचमै विद्यालय छोड्ने समस्या न्युनिकरणको लागि आगामी योजना निर्माण गर्ने शाखाले जनाएको छ । तथ्यांक संकलनको लागि कोहलपुर क्षेत्रमा रहेका सामुदायिक विद्यालयलाई पत्राचार गरिएको शिक्षा शाखा प्रमुख अन्नत कुमार पौड्यालले बताए । उनका अनुसार अहिले सम्म कोहलपुर नगरपालिका क्षेत्रमा रहेका थारु समुदायका बालबालिकाको समस्याको बारेमा योजना बनाईएको छैन् ।

तथ्यांक संकलनपछि विद्यालय छोड्ने कारणको समस्या समाधानको लागि सरोकारवाला बीच व्यापक छलफल गरिने उनले बताए । शाखाको प्रारम्भिक अनुसन्धानमा थारु समुदायका बालबालिकाले बीचमै विद्यालय छोड्ने समस्या रहेको पाईएको पनि उनको भनाई थियो । समुदाय, विद्यार्थी र विद्यालयमा देखिएका समस्या समाधानको लागि नयाँ ढंगबाट अघि बढ्न खोजिएको पनि प्रमुख पौड्यालले बताए । कोहलपुर नगरपालिकामा अहिले ३० वटा सामुदायिक विद्यालय रहेका छन् । सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुलाई पत्राचार गरिसकिएको जनाईएको छ । ती विद्यालयका प्राथामिक, निम्न माध्यामिक र माध्यमिक तहका विद्यार्थीको संख्या पत्ता लगाईने बताईएको छ ।

प्रकाशित मितिः सोमवार, कार्तिक ४, २०७६     8:59:36 AM  |