16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

साना बढे, ठूला घटे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज २९, २०७६  

कोहलपुर ।
बाँके जिल्लामा यस वर्ष दसैंको अवधिमा ३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । गत असोज १२ देखी २६ गते सम्म मृत्यु हुनेमा २ पुरुष र १ महिला रहेको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

मृत्यु हुनेमा दाङ तुल्सीपुरका जनक केसी र बाँकेको खजुरा गाउँपालिकाका कृष्ण थापा रहेका छन् । यस्तै बाँकेको कुसुममा एम्बुलेन्स दुर्घटना हुँदा पश्चिम रुकुमकी एक महिलाको मृत्यु भएको थियो ।

जिल्ला ट्राफिक कार्यालय कोहलपुर बाँकेका प्रमुख ट्राफिक प्रहरी निरीक्षक पविन्द्र बमले दसैको अवधिमा ५२ वटा साना ठूला दुर्घटना भएको जानकारी दिए । उक्त अवधीमा सबैभन्दा बढि मोटरसाईकल २३, कार, जिप ११ , ४÷४ वटा ट्रक र बस दुर्घटनामा परेको उनले बताए ।

अटो ८ र साईकल २ वटा दुर्घटनामा परेका थिए । दसैको अवधीमा भएका दुर्घटनामा परेर ५१ जना पुरुष र २३ जना महिला गरी जम्मा ७४ जना घाईते भएको ट्राफिक प्रहरी निरीक्षक बमले जानकारी दिए ।

उक्त अवधिमा ८ सय ७१ वटा साना ठूला सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । उक्त क्रममा तीव्र गतिमा सवारी चलाएका, आवश्यक कागजपत्र नबोकेका, बढि यात्रु बोकेका सवारी साधनलाई कारबाही गरिएको थियो ।

विगतका दसैभन्दा यस पटकको दसैँमा साना सवारी साधन बढि दुर्घटनामा परेको ट्राफिक प्रहरी निरीक्षक बमले जानकारी दिए । विगतमा ठुला सवारी दुर्घटना हुने गरेको भएपनि यस पटक भने ठूला सवारी साधन धेरै दुर्घटनामा नपरेको उनले दाबी गरे ।

‘प्रमुख प्राथमिकता नागरिकको सुरक्षा हो, चाडपर्व लक्षित सुरक्षा अपनाएका छौ’ उनले भने, ‘दसैँ, तिहार र छठ जस्ता पर्वहरुमा दुःख नपरोस् भन्ने हाम्रो मान्यता हो । सोही अनुसार काम पनि भईरहेको छ ।’

ठूला सवारी साधनको चेकिङमा कडाई गरिएका कारण पनि ठूला सवारी साधन कम दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ । साना सवारी मध्ये मोटरसाईकल दुर्घटना तीव्र गतिका कारण हुने गरेको ट्राफिक प्रहरी बताउँछन् ।

प्रकाशित मितिः बुधबार, अशोज २९, २०७६     11:44:01 AM  |