20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सडकमै लेखिए ६ सय सवारी साधनका नम्बर प्लेट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज २७, २०७६  

कोहलपुर ।

पछिल्लो १५ दिनको अवधीमा प्रहरीले नम्बर प्लेट स्पष्ट नदेखिने ६ सय बढी सवारी साधनलाई पुनः नम्बर प्लेट लेख्न लगाएको छ । गत ११ गतेदेखि आइतबार साँझसम्म नम्बर प्लेट नदेखिने ६ सय बढी सवारी साधनलाई सडकमा नै नम्बर प्लेट लेख्न लगाइएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेको निर्देशनमा ट्राफिक प्रहरीले नम्बर प्लेट नदेखिएका सवारी साधनलाई रोकी तत्काल नम्बर प्लेट दुरुस्त गर्न लगाउन सुरु गरेको थियो ।

नेपालगञ्जको विपी चोकमा नेपाल प्रहरीको गाडिमा पुनः लेखिदै नम्बर प्लेट ।

उक्त अभियान अन्तर्गत आइतबार साँझसम्म जिल्लाका विभिन्न स्थानहरुमा ६ सय बढी सवारी साधनहरुलाई पुनः नम्बर प्लेट लेख्न लगाइएको जिल्ला ट्राफिक कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब निरीक्षक ओम पौडेलले जानकारी दिए । ‘नम्बर प्लेट स्पष्ट नदेखिने सवारी साधनमाथीको कारबाही अहिले पनी जारी रहेको छ’ उनले भने, ‘सबैको साथ र सहयोगले नै दशैको अवधीमा ठूलो मात्रामा नम्बर प्लेट नबुझिने सवारी साधनलाई तत्काल लेख्न लगाउन सफल भयौं ।’

बाँकेका विभिन्न स्थानहरुमा सबैभन्दा बढी मोटरसाइकलहरुको नम्बर दुरुस्त गर्न लगाइएको ट्राफिक प्रहरी नायब निरीक्षक पौडेलको भनाई रहेको छ । दशैंको अवधिमा सवारीसाधनको नम्बर प्लेट स्पष्ट रुपमा नबुझिने मोटरसाइकल, स्कुटी, प्राइभेट कार, ट्याक्टर, अटो तथा एम्बुलेन्स, एउटा सरकारी कार्यालयका गाडि र प्रहरीको गाडिमा समेत सडकमै नम्बर प्लेट पुनः लेखिएको थियो । ट्राफिक प्रहरीले त्यसको लागि एक जना पेन्टर आफुसँगै लिएर हिड्ने गरेको छ । ‘कुनै अप्रिय घटना हुँदा मेटिएका नम्बर प्लेटका कारण दोषी पत्ता लगाउन गाह्रो पर्छ’ बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले भने, ‘दुरुस्त रहेका नम्बर प्लेटका सवारी साधनबाट दुर्घटना भएमा जो कोहीले पनि नम्बर स्पष्ट देख्न सक्छन् ।’

दुर्घटना लगायतका गम्भिर प्रकृतीका अपराधमा सग्लनहरु प्राय सवारी साधनको प्रयोग गरेर नै भाग्ने गरेका कारण कहिलेकाही नम्बर प्लेट नदेखिदा अनुसन्धानमा समस्या पर्ने गरेको छ । ‘सवारी साधनका नम्बर प्लेट नबुझिदा कतिपय अवस्थामा प्रहरी अनुसन्धान समेत जटिल बन्छ’ नम्बर प्लेट दुरुस्त गर्न लगाउनुको उद्देश्यबारे जानकारी दिंदै प्रहरी उपरीक्षक ओलीले भने । असोज पहिलो साता नेपालगञ्जस्थित विपी चोक नजिकै एक युवतीलाई ठक्कर दिएर भागेको मोटरसाइकललाई प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । अती व्यवस्त समयमा नै ठक्कर दिएर युवतीको ज्यान लिने मोटरसाइकल नम्बर नबुझिदा प्रहरीलाई अहिलेसम्म चालक र मोटरसाइकल खोज्न हम्मेहम्मे परेको छ । यस्ता समस्याहरुलाई ध्यानमा राखेर बाँकेले प्रहरीले सवारी साधनका नम्बरहरु बुझिनेगरी लेख्न सुरु गरेको हो ।

सम्झाएर पठाउदा नलेख्ने गरेकाले जहाँ भेटियो तेही लेख्न लगाउने अभियानको सुरुवात गरिएको बाँके प्रहरीले जनाएको छ । यो अभियान प्रभावकारी हुँदै गएकाले निरन्तरता दिइने ट्राफिक प्रहरीले जनाएको छ । दशै तिहार जस्ता ठूला पर्वहरुमा नयाँ सवारीसाधन खरिद गर्नेको संख्या धेरै हुने र अस्थाई नम्बर प्लेट नराख्ने, चाड पर्वमा बाहिरका सवारीसाधन जिल्लामा भित्रिने भएकाले दैनिक रुपमा अभियान नै सञ्चालन गरेर स्पष्ट नबुझिने नम्बर प्लेट पुनः लेख्ने काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, अशोज २७, २०७६     9:16:54 AM  |