बाँसगढी, बर्दिया ।
बर्दिया बाँसगढीको ककौरामा सामुदायिक पुस्तकालयको संस्थागत विकासका लागि स्थानिय सरकारको भुमिका बिषयक अन्तरक्रिया गरिएको छ । त्रिभुवन सामुदायिक पुस्तकालय ककौरा, बाँसगढी र कालिका सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा बिजया दशमी, दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान सँगै अन्तरक्रिया कार्यक्रम गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले बर्दिया जिल्लामा सामुदायिक पुस्तकालयको अबस्था कमजोर रहेको बताएका थिए ।
घर, समाज र देश विकासका लागि ज्ञान आवश्यक पर्ने भएकाले सबैले पुस्तक र पुस्तकालयको महत्व बुझ्न आबश्यक रहेको वक्ताको जोड थियो । सामुदायिक विद्यालय जस्तै सामुदायिक पुस्तकालयलाई पनि निति तथा कार्यक्रम बनाएर स्थानिय सरकारले संरक्षण गर्दै सँगसँगै लैजानु पर्ने सहभागिहरुले जोड दिएका थिए । पुस्तकालय ज्ञानको भण्डार भएकाले पुस्तकालयको विकासको लागि सबै अग्रसर हुनु पर्ने भनाई राखेका थिए । कार्यक्रममा बाँसगढी नगरपालिकाका सामाजिक विकास समिति संयोजक तुल प्रसाद गौतमले सामुदायिक पुस्तकालयको विकासका लागी स्थानिय सरकारले भुमिका निर्भाह गरिरहेको बताए । उनले पुस्तकालयको भवन निर्माण लगायतका कुरामा सहकार्य गर्दै आएको र पुस्तकालयको विकासका लागि सधै स्थानिय सरकारको साथ र सहयोग रहने बताए ।
अन्तरक्रिया कार्यक्रममा कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुशील चौधरीले पुस्तकालयको परिचय, महत्व, उपयोग, अवस्था र स्थानिय सरकारको भुमिका सहितको अबधारणा पत्र प्रस्तुत गरेका
थिए । त्रिभुवन सामुदायिक पुस्तकालयका अध्यक्ष नविन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमा संविधान सभा सदस्य निर्मल प्रकाश सुवेदी, श्याम ढकाल, प्रदेश सभा सदस्य भुवनेश्वर थारु, बाँसगढी नगरपालिकाका सामाजिक विकास समिति संयोजक तुल प्रसाद गौतम, नेकपाका लाल बहादुर क्षेत्री, राप्रपा संयुक्तका सुर्य बहादुर सिंह, नेरा माबि बाँसगढीका प्रअ निराजन चापागाँई, रामजानकी भैसासुरका प्रअ नारायण प्रसाद शर्मा, जेष्ठ नागरिक टुक नाथ घिमिरे, त्रिभुवन सामुदायिक पुस्तकालय ककौराका पुर्व अध्यक्ष गोपाल ज्ञवाली लगायतले बोलेका थिए ।