18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

कालोपत्रे सडकलाई प्राथमिकता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६  

बर्दियाको बाँसगढी नगरपालिका ८ विकासको हिसावले अन्य वडाभन्दा अगाडि रहेको छ । जनप्रतिनिधीहरु निर्वाचित भएर आइसकेपछि वडामा विकास निर्माणका कामहरुले तिव्रता पाइरहेको छ । पुर्वपश्चिम राजमार्ग सँगै जोडिएको र भौगोलिक हिसावले पनि मिलेको र विकासको सम्भावना बोकेको यो वडा हो । वडाको समग्र विकास, सम्भावना, सेवा प्रवाहका बिषयमा वडा अध्यक्ष तथा नगरपालिकाका सामाजिक विकास समिति तुल प्रसाद गौतम सँग बाँसगढीका मिसन संवाददाता रावन बिश्वकर्माले गरेको कुराकानी ।

तुल प्रसाद गौतम
अध्यक्ष, बाँसगढी नगरपालिका वडा नम्बर ८ बर्दिया ।

१. जनप्रतिनिधी भए पछिको तपाईको अनुभव कस्तो रह्यो ?

वडा अध्यक्ष भएर जनप्रतिनिधीको हैसियतले वडामा काम गर्न सुरु गरी यहाँ सम्म आई पुग्दा वास्तवमा हामी जनताका प्रतिनिधी भएर जनप्रतिनिधीको रुपमामा काम गर्दा मलाई के महशुस हुन्छ भने जनताको अपेक्षा धेरै छ । हामी जनप्रतिनिधीहरुलाई जनताले धेरै चाहान्छन् मतदान गरेर जिताएर एउटा स्थानमा पुर्याई सके पछि हाम्रा जनप्रतिनिधीहरु हाम्रा घरदैलोमा आउन र हाम्रा विकास निर्माणका कामहरु तिव्र गतिमा होउन् भन्ने उपेक्षा हुदो रहेछ । जनताको अपेक्षा पुरा गर्ने कुरामा म पनि लागिरहेको छु । जनताले गर्ने अपेक्षा धेरै हुन्छन् र त्यो अपेक्षा अनुसारको गति विकासको काममा स्थानिय तहले त्यति जनताको चाहाना अनुसार काम गर्न नसकि रहेको अवस्था छ । किन भने हामी विकास नभएको ठाउँमा बसेका छौं हामीले गर्न पर्ने धेरै छ धेरै गर्नु पर्ने ठाउँमा केही कुरा गरेका छौं । जनताले प्रत्यक्ष त्यसबाट लाभ लिईरहनु भएको छ । केही देखिने कामहरु पनी हामीले गरेका छौ यसले गर्दा पनि जनताहरु खुसी हुनुहुन्छ । यसरी हेर्दा मलाई आत्म सन्तुष्टि छ । जनताले पनि यसरी नै काम गर्नु होला जे गर्नु भएको छ राम्रा गरिरहनु भएको छ जनताको भनि आर्शिवाद पनि प्राप्त भएको छ । मैले जनताको मत लिएर जे मेरो दायित्व हो त्यो दायित्व पुरा गर्नु पर्छ भन्ने सम्झेर मैले काम गरिरहेको छु अहिले ।

२. तपाई नगरपालिकाको सामाजिक विकास समिति संयोजक पनि हुनु हुन्छ । वडा र बाँसगढीको विकासको लागि कस्ता काम भएका छन् ?

म सामाजिक विकास समितिको संयोजक पनि हो । यसले गर्दा शिक्षा, स्वास्थ्य, महिला, बालबालिका जेष्ठ नागरिक लगायतका क्षेत्रमा आफ्नो भुमिका निर्वाह गर्नु पर्ने मेरो दायित्व हुन्छ । बाँसगढी नगरपालिकामा शिक्षा क्षेत्रमा धेरै राम्रो काम गरेका छौ जस्तो मलाई लाग्छ । हामीले १ देखि ८ सम्म निशुल्क शिक्षालाई कार्यान्वय गर्ने हिसाले गत बर्ष घोषणा गरि सकेका छौ । अहिले सबै विद्यालयहरुमा दरबन्दी पु¥याउने हिसावले हामी लागिरहेका छौं । सबै अभिभावकहरुले निजि विद्यालयमा होईन सामुदायिक विद्यालयमा पढाउनु पर्छ भन्ने अभियानमा लागेका छौं । कति विद्यालय पढाउने शिक्षक कर्मचारीले सामुदायिक विद्यालयमा आफ्ना छोरा छोरी पढाउनु भएको छ । उहाँहरुलाई सम्मान गरेका छौ । स्वास्थ्य सरसफाई तर्फ पनि अगाढी बढेका छौं ।

महिला बालबालिका तथा जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने र उहाँहरुको बेथा गुनासाहरु बुझ्ने काम पनि भईरहेको छ । यता वडामा पनि मैले हाम्रो वडामा पर्ने विद्यालयहरुमा पनि अनुगमन गर्ने निरिक्षण गर्ने, पठनपाठन गतिबिधि कस्तो छ अभिभावक र शिक्षकहरुको तालमेल छ कि छैन, अभिभावकहरुले चासो दिनु हुन्छ की हुदैन भनेर कुराहरुलाई पनि बढी जोड दिएको छुँ, बेलाबेला विद्यालयहरुमा जाने अनुगमन गर्ने लेखाजोखा गर्ने काम गरिरहेको छुँ । शिक्षामा पनि केही फड्को मारिरहेको छ अहिलेको यो शैक्षिक सत्रमा पनि निजि विद्यालय छोडेर सरकारी विद्यालयमा आउने बिद्यार्थीको संख्या बढेको छ । समग्र हिसावमा हेर्दा शिक्षा, स्वास्थ्य, सरसफाई र विकास निर्माणमा बाँसगढी नगरपालिकाले फड्को मारेको छ वडा नम्बर ८ ले पनि फड्को मारेको मैले महशुस गरेको छुँ ।

३. वडाको प्राथमिकतामा के के कुरा परेका छन् ?

वडामा सबै भन्दा बढी समस्या बाटो, जनताहरु आफ्नो टोलटोलमा बाटो ग्राभेल भईदिए हुन्थ्यो भन्ने माग राख्नु हुन्छ । कति ठाउँमा होम पाईपको समस्या छ कति ठाउँमा कल्भर्टको समस्या छन् । यो कार्यकालको अवधिमा मैले १२ वटा बढी कल्भर्ट निर्माण गरिसकेको छु । यसले गर्दा जनतालाई एक टोलबाट अर्को टोलमा जान सहज भईरहेको छ । अहिले ग्राभेल भन्दा पनि कालो पत्रेलाई बढी जोड दिएका छौं । बिगतको बर्षमा एक वार्ड एक कालो पत्रे भनेर बजेट बिनियोजन गर्यौ त्यो अनुसार हामीले अहिले ककौरा देखि कोलडाँडा र्याहारपुर करिब डेढ किलो मिटर कालो पत्रे गरेका छौँ ।

आउदो बर्ष पनि कालो पत्रेलाई जोड दिनु पर्छ भनेर ककौरा चोक देखि त्रिभुवन माबि ककौरा हुदै दमौली जोने बाटोलाई कालोपत्रेको निम्ती बजेट विनियोजन गरेका छौँ भने लक्ष्मणा गौरीपारा जाने सडकबाट बिशेश्वर महादेव मन्दिर हुदै दमौली जानेबाटोलाई कालोपत्रेको लागि बजेट छुट्याएका छौ । हाम्रो वडामा नगर स्तरिय खेल मैदान बनाउने कार्यलाई अगाढी बढेका छौं । जसको लागि गत बर्ष प्रदेशले ७५ लाख छुट्याईएको थियो अहिले पनि बहुआयामिक खेल मैदान बनाउनु पर्छ भनेर केन्द्रको पनि योजना छ । बनगौरी खानेपानी ट्याङकी देखि जंगलको किनार हुदै भैसासुर बेलौली देखि ४ नम्बर जोड्न हिसावले रिङ्ग रोड निर्माणको लागि सहरी बिकास मन्त्रालयबाट सर्वेपनि भई सकेको छ । यो हाम्रो कार्यकालमा पनि यि कुरा पुरा हुन्छन् भन्ने लागिरहेको छ । यसरी हेर्दा बिकास निर्माणका कामले गति लिईरहेको छ ।

४. वडाको विकासको सम्भावना र आगामी योजनाका बारेमा बताईदिनुस न ?

बिशेष गरी हामीले शिक्षालाई बढी जोड दिदै सँग सँगै स्वास्थ्यलाई लैजानु पर्ने हुन्छ । यहिले यो बर्ष ९ वटै वडामा स्वास्थ्य चौकी बनाउने निति छ त्यो निति अनुसार ८ नम्बर वडामा पनि स्वास्थ्य चौकी बन्दै छ । शिक्षाको हकमा एक शिक्षक ३५ विद्यार्थी पुग्ने गरी दरबन्दी मिलाउन नगरपालिका लागि रहेको छ । शिक्षालाई गुणास्तरिय, सुलभ र सहुलियतको हिसावले जनतालाई सुविधा दिनु पर्ने हुन्छ भन्ने हिसावमा लागि रहेका छौ । अन्य भौतिक विकासका लागि पनि धेरै कुराहरु गर्नु पर्ने छन । धेरै ठाँउमा पुल निर्माण गर्नु पर्ने छन् । बाटाहरु कालो पत्रेहरु गर्नु पर्ने छन् वडामा धेरै टोलहरु छन् बस्तीहरु छन् सबै जनताको चाहाना र ईच्छा अनुसार हाम्रो वडाको कालो पत्रे गरिन पाए हुन्थ्यो भन्ने चाहाना पनि छन् । त्यो चाहानालाई परिपुर्ति गर्ने गरी टोल विकास समिति निर्माण गर्ने र प्राथमिकताका आधारमा विकासलाई अगाढी पक्षमा हामी लागेका छौ ।

प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६     8:37:09 AM  |